Expectation Violation Effect - अपेक्षा उल्लंघन प्रभाव
अपेक्षाको उल्लंघन र यथार्थको बाढी - भागवत देव भट्ट १. सैद्धान्तिक प्रस्थानविन्दु: ' अपेक्षा उल्लंघन प्रभाव ' को आयतन मानव चेतना , सामाजिक अन्तरसम्बन्ध र संस्थागत वैधता अपेक्षाहरूको एउटा सूक्ष्म , अदृश्य तर अत्यन्त शक्तिशाली जगमा उभिएका हुन्छन् । समकालीन मनोविज्ञान र सञ्चार सिद्धान्तमा यसै संवेगलाई ' अपेक्षा उल्लंघन प्रभाव ' (Expectation Violation Effect) भनिन्छ । सन् १९७६ मा प्रख्यात अमेरिकी सञ्चारविद् र मनोवैज्ञानिक जुडी बर्गुनले ' अपेक्षा उल्लंघन सिद्धान्त ' को रूपमा यसको प्राज्ञिक स्थापना गरेकी थिइन् । सुरुवाती दिनहरूमा बर्गुनले यसलाई मानिसहरूबीचको भौतिक दूरी र गैर-शाब्दिक सञ्चारको दायरामा मात्र अध्ययन गरे पनि , सन् १९८० र १९९० को दशकमा संज्ञानात्मक मनोविज्ञान र सामाजिक विनिमय सिद्धान्तको विकाससँगै यस सिद्धान्तको आयतन व्यापक बन्यो । यो प्रभाव मुख्यतया दुईवटा विपरित ध्रुवमा क्रियाशील हुन्छ: · सकारात्मक उल्लंघन: जब वास्तविक परिणाम मानिसले सोचेको वा अपेक्षा गरेको भन्दा धैरे गुणा गुणात्मक , सुखद र कल्याणकारी निस्कन्छ ।...