फ्रेडरिक नित्से, विरचनावाद र मोहन कोइरालाको 'फर्सीको जरा (Friedrich Nietzsche)

फ्रेडरिक नित्से

- भागवत देव भट्ट 

फ्रेडरिक नित्से (१८४४-१९००) पाश्चात्य साहित्यको क्षेत्रमा विशेष गरेर जर्मनीमा दार्शनिक, कवि, समालोचक, व्याख्याता आदिका रूपमा चिनिन्छन् । निराशावादलाई मूल दर्शनका रूपमा विकसित गरेका नित्सेले 'ह्युमन अल टु ह्युमन' (१८७८), 'दि गे साइन्स' (१८८२), 'दि स्पोक जरथुस्त' (१८८३), 'जिनियोलोजी अफ मोरल्स' (१८८७), 'दि विल टु पावर' (१९०१) जस्ता विश्वप्रसिद्ध पुस्तक लेखेका छन् । आफ्नो जीवनकालमा प्राध्यापक, चिन्तक, विश्लेषक आदिको भूमिका निर्वाह गरेका नित्सेको चिन्तनमा निराशावाद पाइन्छ । कुनै पनि कुरालाई सत्य नमान्ने, मूल्य स्वीकार नगर्ने तर मानव मनको विश्वास सुख र दुःखका अभिव्यक्ति मात्रै हुन् भन्ने मान्यता राख्न पुगेका हुन्छन् । सांसारिक मान्यताको कुनै औचित्य नरहेको भन्ने भनाइलाई पुष्टि गर्दै उनले 'ईश्वरको मृत्यु'को घोषणा गरेर सारा संसारको ध्यान आफूतिर केन्द्रित गराएको पाइन्छ ।  

सारा संसारले ईश्वरको अस्तित्वलाई स्वीकार गरेतापनि उनी मान्न तयार थिएनन् । अन्ततः उनले ईश्वरको मृत्युको घोषणा गर्दै 'ईश्वर मरेको छ, ईश्वर मृत भएर रहन्छ, हामीले उसलाई मार्यौं' । ईश्वरको मृत्युको तात्पर्य सार्वभौम मूल्यसँग छ । विगतमा जो कुरालाई सत्यम् शिवम् सुन्दरम् का अर्थमा हेरिन्थ्यो त्यो मूल्य हरायो भन्ने भाव व्यक्त गरेका छन् । सत्य भन्ने कुरा हराउनासाथ सर्वजनीनताको अन्त्य हुने र व्यक्तिगत धारणा प्रवल हुन्छ । सत्य र तथ्यको मान्यता विलाएर व्यक्तिका मान्यताले प्रवलता पाउने कुरा व्यक्त गर्दछन् । अबका प्राचीन धर्म, नैतिकता, दर्शन, मान्यता, संस्कृति आदिको अन्त्य भयो, मानिसको आधार र सम्पूर्णताका रूपमा रहेको आस्थाको शिखर ढल्नासाथ मानव सभ्यताको आधार पनि ढल्ने र यसले नैतिकता, दर्शन, मान्यता, मूल्य, संस्कृति आदि पनि नष्ट भएर जाने एवं व्यक्तिगत सर्वोच्चताले सबैलाई आफूभित्र समाहित गर्ने कुरा व्यक्त गर्दछन् । त्यसकै उपजको रूपमा विज्ञान र प्रविधिले मान्छेलाई नयाँ संसारमा प्रविष्टि गराउँदै आफ्नै शक्ति केन्द्र बन्न सघाउने कुरा व्यक्त गर्दछन् ।

यी र यस्तै कुराहरूलाई समेट्दै फ्रेडरिक नित्सेले निम्न कुरा (मान्यता) हरू प्रतिपादन गरेका हुन्:

१. निराशावाद

२. ईश्वरको मृत्युको घोषणा

३. महामानवको घोषणा र शक्तिको चाहना

उपर्युक्त मान्यताहरूका आधारमा उनले आफूलाई विनिर्माणवादी वा विरचनावादी चिन्तक, समालोचक, कविका रूपमा चिनाउन चाहन्छन् ।

विषय प्रवेश 

विनिर्माणवाद वा विरचनावाद भनेको पहिले नै मान्यता प्राप्त सत्य वा मान्यतालाई हठात् नमान्ने, नयाँ किसिमको मान्यतालाई विस्तार वा लागू गर्नुलाई मानिन्छ । विगतका सार्वभौम सत्य वर्तमानमा परिवर्तन भई त्यसको बदलामा नयाँ सत्य आएको हुन्छ । यसमा पुराना मूल्य र मान्यताले ठाउँ पाउँदैनन् वा समयक्रम अनुसार नयाँ मूल्यले स्थान प्राप्त गर्दछन् तर पुरानो सत्य विलाउँछ भन्ने नै यहाँ विनिर्माणवाद मानिन्छ । आफ्नै विचार निर्माणवादलाई ठाउँ दिँदै उनले मानिसको इच्छाशक्तिको कारण मानिस आफैलाई महामानव बनाउनका लागि उसमा शासन गर्ने र आफ्नो इच्छा अनुसार समाजलाई चलाउनका लागि मानिसलाई नै नेतृत्व दिने व्यक्तिका वा शासकको भूमिकामा उभ्याउँछन् । (समाजमा स्थापितको नेतृत्व गर्ने सफल हुने र क्रान्तिकारी समाजमा व्यक्तिगत विचारको उदय र उत्थान हुनुपर्दछ र निश्चित मात्रै शासन गर्न सक्षम हुन्छन् भन्ने मान्यता राख्छन्) यसकारण नित्सेलाई विरचनावादीका रूपमा चिनिन्छ । विरचनावादलाई अझै स्पष्ट चित्रण दिने क्रममा नित्सेले परम्परागत सत्यलाई नकारी दिएर ईश्वरको मृत्युको घोषणा समेत गरेका हुन् । नित्सेले विरचनावादलाई समर्थन गर्दै अर्को विकल्प दिएका छन् । वा भाषा शैलीको वा अर्थको अनिश्चयता नै डरिडाले लीला वा भाषाको लीला (क्रीडा) हो । अर्थ परिवर्तनशील हुन्छ, साहित्य र दर्शनको भञ्जन, विधा भञ्जन, मिश्रण जस्ता कुरा नै विरचनावादीहरूले सिद्धान्तका रूपमा अगाडि सारेका छन् । नित्सेको 'सत्य भनेको भाषा मात्र हो' भन्ने मान्यतालाई नै विरचनावादीहरूको सर्वस्व मानेर पाठ र विमर्शमा जोड दिएका छन् ।

अल्जेरियामा जन्मेका डेरिडा (१९३०–२००४) बौद्धिक विरचनावादका प्रवर्तकका रूपमा चिनिन्छन् । दार्शनिक, चिन्तक र समालोचक डेरिडाका 'स्पिच एण्ड फेनोमेना', 'अफ ग्रामेटोलोजी', 'राइटिङ एण्ड डिफरेन्स' (१९६७) आदि पुस्तकहरूले विश्वव्यापी मान्यता पाएका छन् । यिनले विखण्डन/विर्सजन (जसलाई एउटै शब्दमा विरचनावाद भनिन्छ) लाई विस्तार गरे । यसमा संरचनालाई बिगारिन्छ, तोडिन्छ, फोडिन्छ र नयाँ रूप दिइन्छ । उनका मान्यता अनुरूप परम्परागत सत्यलाई प्रश्नचिन्ह लगाउँदै भाषाको र त्यसको व्याकरणको संरचनाको सट्टा लेखनको संरचनामा जोड दिनुपर्दछ । पाठको विमर्शको खोजी गर्दै एउटा विमर्श र अर्को विमर्शको बिचमा हुने अर्थगत भिन्नताको खोजी गरी लेखनको पद्धति केन्द्रिकृत नभएर विकेन्द्रित हुन्छ भन्ने मान्यता प्रतिपादन गरे, यही विखण्डनको खोजिको तात्पर्यमा विरचनावादको विकास भएको हो ।

डेरिडाले विरचनावादमा मुख्यतया भाषा र भाषाका शब्द तथा अर्थको खोजिमा जोड दिएका छन् । संरचनावादले ल्याएको अर्थको स्थिरताको सिद्धान्तको विरोध गर्दछन् र शब्दहरूले लेखनमा कसरी खेल्दछन् भन्ने कुराको खोजी गर्दछन् । जसलाई एक शब्दमा शब्दयुग्म भनिन्छ । शब्दयुग्म भन्नाले शब्दहरूको जोडी भन्ने बुझिन्छ । उस्तै अर्थ प्रदान गर्ने शब्द समूहलाई शब्दयुग्म भन्ने गरिन्छ । संरचनावादले पनि शब्दयुग्मको कुरा गरेको पाइन्छ । यस्ता युग्मक शब्दहरू दैनिक जीवनमा आइरहेका हुन्छन् (हरेक क्षेत्रमा) । पाश्चात्य दर्शन वा मान्यतामा यही पनि शब्दयुग्मको चर्चा गरिएको पाइन्छ तर विरचनावादले यस्ता युग्मक शब्दको परम्परालाई मान्दैन र त्यस्तो परम्परालाई भत्काउनुपर्ने मान्यता राख्दछ । विरचनावादीहरूले त्यस्तै पाश्चात्य दर्शन, मान्यता र परम्परामा द्विविध (Binary) विरोधमा आधारित छ । डेरिडा यस्ता युग्मकका कारण सामाजिक र सांस्कृतिक विभेद जन्मेको हो भन्ने ठान्दछन् र द्विविध वा युग्मको विखण्डन गर्नुपर्ने मान्यतालाई बढावा दिन पुगेको पाइन्छ । यस्ता द्विविध वा युग्मको क्षेत्र तोड्नुपर्ने र सोपानक्रमको मान्यता हटाउनुपर्ने कुरालाई जोड दिन पुगेका हुन्छन् । परम्परागत द्विविधले ल्याएको क्षेत्र, सीमा, आरेख एवं विभेदलाई वा मान्यतालाई तोडेर, फोडेर, भत्काएर अथवा विध्वंस गरेर मात्रै सोपानक्रम वा विभेदको अन्त्य हुने मान्यता राख्दछन् ।

तिनै डेरिडाको मान्यतालाई आत्मसात गरेर नेपाली कविताको क्षेत्रमा प्रयोगवादी कविता लेखन प्रवृत्ति भित्र्याउँदै अमूर्त चित्रकलाको जस्तो प्रतीकवादी, विसंगतिवादी र अतियथार्थवादी शैलीको प्रयोग गरेर मोहन कोइरालाले कवितालाई अति दुर्बोध्य, जटिल, अव्याकरणिक भाषा संरचना, अवचेतन मनका भावलाई जटिल विम्ब र प्रतीकको माध्यमबाट असम्प्रेषणीय भाषाका माध्यमबाट नागर जीवनका जटिलता र व्यक्तिगत तहले सामना गर्नुपर्ने अप्ठ्याराहरूलाई, निस्सारता वा शून्यको बोध गराउँदै ईश्वररहित मानव जीवनका जैविक रतिराग, वासना र अहमको वस्तुस्थितिलाई प्राकृतिक रूपमा चित्रण गर्दछन् । अरू कविहरूको भन्दा भिन्न मत राख्दै शब्दकला वा प्रकृतिको हुबहुको मात्रै चित्रण गर्दै (विरचनावाद) कविताका माध्यमबाट आफ्ना भावहरू प्रस्तुत गर्दछन् । यस्ता विरचनावादी कवि मोहन कोइरालाको 'फर्सीको जरा' कविताको सिद्धान्त अनुरूप गरिने यस विश्लेषणले उक्त कविता शिक्षण गर्ने शिक्षक र जिज्ञासु विद्यार्थीहरूलाई फाइदा पुग्ने देखिन्छ । साथै विसंगतिवाद वा विनिर्माणवाद सम्बन्धी अध्ययन गर्ने अध्येतालाई फाइदा पुग्ने देखिन्छ ।


Popular posts from this blog

नेपाली शिक्षामा 'STREAME' पाठ्यक्रम: सम्भावना र चुनौती

नेपाली भाषा शिक्षण र प्रयोगमा नवप्रवर्तनवादः एक विश्लेषण