नेपाली शिक्षामा 'STREAME' पाठ्यक्रम: सम्भावना र चुनौती
नेपाली शिक्षामा 'STREAME' पाठ्यक्रम: सम्भावना र चुनौती
(Science, Technology, Research, Engineering, Arts, Mathematics, and Entrepreneurship)
- भागवत देव भट्ट
असोज २०८२
शोध-सार (Abstract)
वर्तमान नेपाली शिक्षा प्रणाली तीव्र
विधागत खण्डीकरण (Subject Silos) र सैद्धान्तिक जडताको शिकार बनेको छ।
यसले गर्दा हाम्रा शिक्षण संस्थाहरू प्रमाणपत्रधारी तर वास्तविक जीवनका बहुआयामिक
चुनौतीहरूको सामना गर्न असमर्थ, सीपविहीन र नागरिक दायित्वबोध नभएको 'एकआयामीय मानव' उत्पादन गर्ने
केन्द्रमा रूपान्तरण भइरहेका छन्। कक्षाकोठाको सिकाइ र वास्तविक जीवनको धरातलबीचको
यही खाडलले देशमा युवा बेरोजगारी, मानसिक तनाव र भयानक बौद्धिक पलायन (Brain Drain) निम्त्याएको छ।
यसै पृष्ठभूमिमा, प्रस्तुत अनुसन्धान कार्यपत्रले
परम्परागत शिक्षाको विकल्पमा STREAME (Science, Technology, Research,
Engineering, Arts, Mathematics, and Entrepreneurship) पाठ्यक्रमको एक
नवीन, एकीकृत र पार-विषयगत (Transdisciplinary) वैचारिक खाका
प्रस्ताव गरेको छ।
यस मोडेलले 'उद्यमशीलता'
(Entrepreneurship) लाई केवल आर्थिक वा व्यावसायिक लाभको संकुचित अर्थमा मात्र नलगाएर "बहुआयामिक
नागरिक एवं सबल व्यक्तित्व निर्माण" (Holistic Personality Development) को मुख्य
केन्द्रविन्दु (Core Axis) का रूपमा ग्रहण गरेको छ। गुणात्मक डेस्क
अनुसन्धान (Qualitative Desk Research) र
दार्शनिक-विश्लेषणात्मक पद्धतिको प्रयोग गरिएको यस अध्ययनले विज्ञान, प्रविधि, अनुसन्धान, इन्जिनियरिङ, कला र गणितजस्ता
खम्बाहरूलाई कसरी शिक्षार्थीको संज्ञानात्मक, भावनात्मक, प्रयोगात्मक र
सामाजिक क्षमता विकासमा एकीकृत गर्न सकिन्छ भनी निरूपण गरेको छ। युनेस्कोको 'शिक्षाका चार
खम्बाहरू' र पूर्वीय पुरुषार्थ दर्शनको जगमा उभिएको
यो मोडेलले नेपाली युवाहरूलाई केवल श्रम बजारका 'याचक' (Job Seekers) मात्र होइन, समाज
रूपान्तरणका बहुआयामिक 'नायक' (Job Creators) र स्वदेशमै आत्मसम्मानका साथ बाँच्न
सक्ने नागरिक बनाउन नीतिगत मार्गचित्र प्रदान गर्दछ।
मुख्यशब्दहरू (Keywords):
·
STREAME पाठ्यक्रम (STREAME
Curriculum)
·
बहुआयामिक नागरिकता
(Multidimensional Citizenship)
·
सबल व्यक्तित्व निर्माण (Holistic
Personality Development)
·
शिक्षाका चार खम्बाहरू (Four Pillars
of Learning)
·
पार-विषयगत सिकाइ
(Transdisciplinary Learning)
·
उद्यमशील चेत (Entrepreneurial
Mindset)
१. परिचय (Introduction)
१.१ अनुसन्धानको
पृष्ठभूमि
एक्काइसौँ शताब्दीको उत्तरार्धतर्फ
उन्मुख वर्तमान विश्वव्यापी शैक्षिक परिदृश्यले शिक्षार्थीहरूमा सूचनाको निष्क्रिय
संकलन (Passive Information Gathering) भन्दा बढी व्यावहारिक
कार्यकुशलता, संज्ञानात्मक लचकता (Cognitive
Flexibility), आलोचनात्मक चेत (Critical Thinking) र जटिल समस्या
समाधानको क्षमता (Complex Problem-Solving Skills) को माग गरिरहेको
छ। औद्योगिक क्रान्ति ४.० र कृत्रिम बौद्धिकता (AI) को यस युगमा
ज्ञानको प्रकृति निरन्तर र द्रुत गतिमा परिवर्तनशील छ। तर, हाम्रो
परम्परागत विधागत तथा खण्डीकृत (Siloed) शिक्षण पद्धतिले ज्ञानलाई विभिन्न विषयका
कृत्रिम कोठाहरूमा सीमित गरिदिएको छ, जसले गर्दा
शिक्षार्थीहरूले कक्षाकोठाको सिकाइ र वास्तविक जीवनका बहुआयामिक चुनौतीहरूबीचको तादात्म्यता
ठम्याउन सकिरहेका छैनन्।
यही विधागत सीमालाई तोड्न र विषयहरूबीचको
अन्तर-सम्बन्धलाई सुदृढ गर्न विगतका दशकहरूमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र
गणितलाई एकीकृत गर्ने STEM मोडेल र त्यसमा मानवीय संवेदना एवं
सिर्जनशीलता भर्न 'कला' थपिएको STEAM मोडेलको प्रादुर्भाव
र विकास भयो (Yakman, 2008)। यद्यपि, वर्तमान विश्वले
सामना गरिरहेको बहुआयामिक संकट, अदक्ष श्रम बजार, रोजगारीको चरम
अभाव र नवप्रवर्तनको खडेरीले शिक्षाको यो आयामीय दायरालाई अझ व्यावहारिक, जीवनोपयोगी र
मानव-केन्द्रित बनाउनु पर्ने आवश्यकता औंल्याएको छ। परिणामतः, यो अवधारणा अझ
परिमार्जित र परिष्कृत भई STREAME (Science, Technology, Research,
Engineering, Arts, Mathematics, and Entrepreneurship) पाठ्यक्रमको
रूपमा स्थापित हुन पुगेको छ।
१.२ नवीन
दार्शनिक मोडेल र यसको औचित्य
यस नवप्रवर्तनात्मक मोडेलले 'उद्यमशीलता'
(Entrepreneurship) लाई व्यापार वा नाफा कमाउने संकुचित दायराबाट मुक्त गर्दै "बहुआयामिक
नागरिक एवं सबल व्यक्तित्व निर्माण" (Holistic Personality Development) को केन्द्रीय
मर्म (Core Axis) का रूपमा परिभाषित गर्दछ। यहाँ
उद्यमशीलताको अर्थ जीवनका हरेक विधा र क्षेत्रमा रचनात्मकता देखाउनु, जोखिम वहन गर्नु, समस्याहरूको
नवप्रवर्तनात्मक समाधान खोज्नु, आत्मविश्वास जगाउनु र सामाजिक
उत्तरदायित्व वहन गर्नु हो।
नेपालको विद्यमान शैक्षिक परिवेशको
सापेक्षतामा अध्ययन गर्दा, यो मोडेल केवल एउटा वैकल्पिक आयाम मात्र
नभएर नेपाली शिक्षाको संरचनात्मक शुद्धीकरणको अनिवार्य सर्त बन्न पुगेको छ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप (२०७६) ले 'सक्षमतामा आधारित' र 'एकीकृत' पाठ्यक्रमको
वकालत गरे तापनि विद्यालय र विश्वविद्यालयहरूमा यसको व्यावहारिक कार्यान्वयन फितलो
देखिन्छ। तसर्थ, नेपालको शिक्षालाई "कागज र
प्रमाणपत्र" को परिधिबाट उठाएर विज्ञान, प्रविधि, अनुसन्धान, इन्जिनियरिङ, कला र गणितलाई
व्यक्तिको चरित्र र समाजको कल्याणका लागि प्रयोग गर्न सक्ने एक सचेत, दूरदर्शी र
आत्मनिर्भर नागरिक निर्माण गर्न STREAME पाठ्यक्रमको दर्शनलाई आत्मसात गर्नुको
अर्को विकल्प देखिँदैन।
२. समस्याको
पृष्ठभूमि (Statement of the Problem)
नेपालको सार्वजनिक तथा निजी दुवै
क्षेत्रको विद्यालय शिक्षाले वर्तमान समयमा एउटा गम्भीर संरचनागत र दर्शनशास्त्रीय
सङ्कट (Structural and Philosophical Crisis) झेलिरहेको छ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप (२०७६) ले सैद्धान्तिक रूपमा प्रगतिशील लक्ष्य राखेको
भए तापनि व्यवहारमा विद्यालयहरूको वास्तविक धरातलमा अझै पनि पाब्लो फ्रेरेले
उल्लेख गरेको "बैंकिङ शिक्षा प्रणाली" (Banking Concept of Education) अर्थात्
शिक्षकले सूचना खन्याउने, विद्यार्थीले संकलन गर्ने घोकन्ते
प्रवृत्ति र उच्च प्राप्ताङ्क (GPA) मुखी परीक्षा प्रणाली नै अकाट्य सत्यका
रूपमा हाबी छ। यसको सबैभन्दा गम्भीर दुष्परिणाम यो भएको छ कि हाम्रा शिक्षण
संस्थाहरू केवल प्रमाणपत्रधारी तर व्यावहारिक रूपमा सीपविहीन, जीवनको जटिल
मोडमा निर्णय लिन नसक्ने, र समाजप्रति कुनै उत्तरदायित्व बोध नभएको
'एकआयामीय मानव' (One-Dimensional Man) उत्पादन गर्ने
केन्द्र बनिरहेका छन्। परिणाम स्वरूप, ऊर्जावान् युवा
पुस्ताको भयानक बौद्धिक तथा श्रम पलायन (Brain Drain) देशले व्यहोर्नु
परिरहेको छ।
यस सङ्कटको मुख्य प्राज्ञिक कारण विषयगत
पृथकीकरण (Subject Silos) हो। विद्यालय तहमा पाठ्यक्रम यसरी
खण्डीकृत गरिएको छ कि विद्यार्थीले कक्षाकोठामा पढेको गणित वा विज्ञानलाई आफ्नो
व्यक्तित्व, स्थानीय अर्थतन्त्र र नागरिक दायित्वसँग
जोड्न नै सक्दैनन्। सैद्धान्तिक रूपमा भौतिक विज्ञानका जटिल नियमहरू कण्ठ गर्ने
शिक्षार्थीले आफ्नो परिवेशमा उपलब्ध रैथाने प्रविधिको व्यावहारिक उपयोग बुझ्न
सक्तैन; गणितका अमूर्त सूत्रहरू हल गर्ने
विद्यार्थीले वास्तविक जीवनको आर्थिक वा बजारको तथ्याङ्क विश्लेषण गर्न असमर्थ
हुन्छ। यसको मूल कारण हाम्रा विद्यालयहरूमा बाल्यकालदेखि नै 'अनुसन्धान' (Research), खोजी गर्ने र
जोखिम बहन गर्ने उद्यमशील संस्कृतिको पूर्ण अभाव हुनु हो। शिक्षार्थीहरूलाई 'के सोच्ने' (What to
think) भन्ने कुरा त सिकाइन्छ, तर असफल हुँदा
कसरी पुनरुत्थान हुने (Resilience), बजार र समाजको आवश्यकतालाई कसरी बुझ्ने, र आफ्नो
क्षमतालाई कसरी बहुआयामिक नागरिक निर्माणमा लगाउने (How to build
entrepreneurial and citizenship mindset) भन्ने आलोचनात्मक दृष्टिकोण कहिल्यै
सिकाइएन ।
शिक्षामा प्रयोगात्मक जीवन-दृष्टि र
व्यक्तित्व निर्माणको पाटो कमजोर हुँदा युवाहरूमा निराशा र आत्मविश्वासको कमी हाबी
भएको छ। अतः नेपालको वर्तमान शिक्षा प्रणालीमा विज्ञान, प्रविधि र
गणितको शुष्क सैद्धान्तिक ज्ञान त छ, तर त्यसमा
मानवीय संवेदना भर्ने 'कला' (Arts), ज्ञानलाई नयाँ दिशा दिने 'अनुसन्धान' (Research), समस्याको
व्यावहारिक समाधान खोज्ने 'इन्जिनियरिङ' (Engineering) र यी सबै
आयामहरूलाई एउटा सबल व्यक्तित्व र राष्ट्रप्रेमी नागरिकको रूपमा एकीकृत गर्ने 'उद्यमशीलता'
(Entrepreneurship) को उचित संयोजन हुन सकेको छैन। यही नीतिगत व्यवस्था, व्यावहारिक
अभ्यास र समसामयिक आवश्यकताबीचको विशाल खाडल (Research Gap) नै वर्तमान
नेपाली शिक्षाको मुख्य समस्या हो। यस बहुआयामिक चुनौतीलाई सम्बोधन गर्न 'व्यक्तित्व
निर्माण' लाई केन्द्रमा राखेर सातै आयामलाई एकीकृत
गर्ने STREAME जस्तो गतिशील र पार-विषयगत शैक्षिक
मोडेलको चरम अभाव खड्किएको छ ।
३. अनुसन्धानका
उद्देश्यहरू (Objectives of the Study)
परम्परागत शिक्षण पद्धति र समसामयिक
व्यावसायिक सीपबीचको विशाल खाडललाई पुर्नका लागि STREAME पाठ्यक्रमको
दार्शनिक एवं व्यावहारिक पक्षको वस्तुनिष्ठ विश्लेषण गर्नु यस अनुसन्धानको मूल
ध्येय हो। यसका विशिष्ट उद्देश्यहरू निम्नानुसार निर्धारण गरिएका छन्:
१. नेपाली विद्यालय शिक्षाको
परिप्रेक्ष्यमा बहुआयामिक नागरिक र व्यक्तित्व निर्माणका लागि STREAME पाठ्यक्रमको
सान्दर्भिकताको दार्शनिक विश्लेषण गर्नु।
२. विद्यमान नेपाली शैक्षिक पूर्वाधारमा
उद्यमशीलतालाई व्यक्तित्व विकास र आत्मनिर्भरताको कडीका रूपमा अनुकूलन गर्ने
उपायहरू पहिल्याउनु।
३. नेपालमा STREAME पाठ्यक्रम
कार्यान्वयनका नीतिगत, संस्थागत र व्यावहारिक चुनौतीहरूको
पहिचान गर्नु।
४. शिक्षार्थीको सर्वाङ्गीण व्यक्तित्व, वित्तीय
साक्षरता र नागरिक चेत विकासका लागि STREAME पाठ्यक्रमको सफल
कार्यान्वयनका व्यावहारिक समाधानहरू सिफारिस गर्नु।
४. अनुसन्धान
विधि (Research Methodology)
प्रस्तुत शोध कार्यपत्र गुणात्मक
अनुसन्धान विधि (Qualitative Research Methodology) मा आधारित छ। यस
अध्ययनमा मुख्य रूपमा डेस्क अनुसन्धान (Desk Research) र दार्शनिक-विश्लेषणात्मक
पद्धति (Analytical & Philosophical Approach) को प्रयोग
गरिएको छ।
४.१ सूचनाका
स्रोतहरू (Sources of Data)
अनुसन्धानका लागि आवश्यक सूचना तथा
तथ्यहरू प्राथमिक र द्वितीयक स्रोतबाट संकलन गरिएको छ:
- द्वितीयक स्रोत: नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रम प्रारूप (२०७६), पाठ्यक्रम विकास केन्द्रका नीतिगत दस्तावेजहरू, युनेस्को (UNESCO) को डेलर्स प्रतिवेदन (१९९६), ओइसिडी (OECD) का प्रतिवेदनहरू, र अन्तर्राष्ट्रिय स्तरका STEM, STEAM र शैक्षिक
उद्यमशीलता (Educational Entrepreneurship) सम्बन्धी
जर्नल लेखहरू।
- प्राथमिक स्रोत (अनुभवात्मक): शोधकर्ताको नेपालको क्याम्पस तथा विद्यालय शिक्षाको
प्रशासनिक एवं प्राज्ञिक नेतृत्वको अनुभव, शैक्षिक
नवप्रवर्तनका परियोजनाहरू (जस्तै: SARC Education Foundation को व्यावसायिक स्कुल र प्रयोगात्मक पाठ्यक्रम मोडेल) का क्रममा प्राप्त
प्रयोगात्मक अनुभवहरू।
४.२ डेटा
विश्लेषण प्रक्रिया (Data Analysis)
संकलित दस्तावेज र सामग्रीहरूको
विषयवस्तु विश्लेषण (Content Analysis) गरिएको छ। नेपालको परम्परागत शिक्षाको
कमजोरी र समसामयिक 'सीप, नागरिक चेत र उद्यमशीलता संकट' लाई केन्द्रमा
राखी, प्रस्तावित सात आयामीय (STREAME) मोडेलको
सान्दर्भिकता परीक्षण गर्न 'तार्किक संश्लेषण' (Logical Synthesis) विधिको प्रयोग
गरिएको छ।
५. वैचारिक
खाका: व्यक्तित्व निर्माणको केन्द्रविन्दु (Conceptual Framework)
STREAME पाठ्यक्रमको
नयाँ वैचारिक खाकाले शिक्षालाई केवल आर्थिक उत्पादनको साधन मान्दैन, बल्कि यसलाई
मानव निर्माणको एउटा समग्र र पार-विषयगत प्रणालीका रूपमा ग्रहण गर्दछ। यहाँ उद्यमशीलता (Entrepreneurship) केन्द्रविन्दु (Core Axis) मा रहन्छ, जसको मुख्य
ध्येय "बहुआयामिक नागरिक र सबल व्यक्तित्वको
निर्माण" गर्नु हो। विकास र आविष्कार जतिसुकै उन्नत भए पनि यदि
त्यसले व्यक्तिको चरित्र, आत्मविश्वास र सामाजिक उत्तरदायित्व
निर्माण गर्न सक्दैन भने त्यो शिक्षा अपूर्ण हुन्छ भन्ने यसको मूल दार्शनिक
मान्यता हो।
५.१ तालिका १: STREAME का आयाम र
व्यक्तित्व विकासको अन्तर्सम्बन्ध
|
आयाम (Dimension) |
प्राज्ञिक अवधारणा |
बहुआयामिक नागरिक एवं व्यक्तित्व निर्माणमा यसको भूमिका |
|
विज्ञान (Science) |
प्राकृतिक र भौतिक जगतको नियमहरू बुझ्नका लागि अनुभवजन्य
प्रमाण र तार्किक परीक्षणको प्रयोग (Bybee, 2013)। |
वैज्ञानिक दृष्टिकोण (Scientific Temperament), अन्धविश्वासको
अन्त्य, कार्य-कारण सम्बन्ध बुझ्ने र
वस्तुनिष्ठ निर्णय लिन सक्ने तार्किक व्यक्तित्वको निर्माण। |
|
प्रविधि (Technology) |
मानव विकास र समस्या समाधानका लागि डिजिटल उपकरण, सफ्टवेयर र
कृत्रिम बौद्धिकता (AI) को प्रयोग (OECD, 2018)। |
डिजिटल नागरिकता (Digital Citizenship) को विकास, सूचना
प्रविधिको जिम्मेवार प्रयोग र प्रविधिलाई समाजको हितमा ढाल्ने सीप। |
|
अनुसन्धान (Research) |
खोजमूलक सिकाइ (Inquiry-Based Learning), कार्यमूलक
अनुसन्धान र तथ्याङ्कमा आधारित निष्कर्ष। |
प्रश्न गर्ने बानी (Inquiry Mindset), बजार र समाजका
समस्याहरूको गहिराइमा पुग्ने क्षमता र तथ्यमा आधारित रहेर बोल्ने जिम्मेवार
नागरिकको निर्माण। |
|
इन्जिनियरिङ (Engineering) |
व्यवस्थित डिजाइन, संरचनात्मक
ढाँचा र वैज्ञानिक सिद्धान्तहरूलाई भौतिक रूपमा उतारेर समस्या हल गर्ने कला। |
समस्या समाधान गर्ने प्रवृत्ति (Problem-Solving
Attitude), संषाधनहरूको समुचित व्यवस्थापन र विपरीत परिस्थितिमा पनि
विकल्पहरू निर्माण गर्न सक्ने क्षमता। |
|
कला(Arts) |
सिर्जनशीलता, सौन्दर्यबोध, बहुभाषिक
सञ्चार, संवेगात्मक बौद्धिकता (EQ) र मानवीय
मूल्यहरूको प्रवर्द्धन (Yakman, 2008)। |
संवेगात्मक र सञ्चार सक्षमता, मानवीय
संवेदना, सांस्कृतिक मूल्यहरूको सम्मान र समाजका
सबैसँग सहकार्य गर्न सक्ने सहिष्णु व्यक्तित्व। |
|
गणित (Mathematics) |
तथ्याङ्कीय विश्लेषण, वित्तीय
साक्षरता, परिमाणात्मक गणना र तार्किक शुद्धता
सुनिश्चित गर्ने जग । |
वित्तीय अनुशासन, साक्षरता र
व्यवस्थापकीय क्षमता । अमूर्त सूत्रहरू घोक्नुको सट्टा जीवन
र व्यवसायको आर्थिक पक्षलाई सन्तुलित राख्न सक्ने सुझबुझपूर्ण व्यक्तित्व। |
|
उद्यमशीलता (Entrepreneurship) |
नवप्रवर्तन, जोखिम वहन, व्यावसायिक
सोच, वित्तीय अनुशासन र सामाजिक नेतृत्व। |
व्यक्तित्व पक्ष: आत्मविश्वास, मानसिक दृढता
(Resilience), नेतृत्व क्षमता, खोजमुलक
मानसिकता र निर्णय लिने स्वायत्तताको विकास। नागरिक पक्ष: रोजगारी
माग्ने परावलम्बी होइन, स्वदेशमै सम्भावना देख्ने र समाजमा
सकारात्मक परिवर्तन ल्याउने आत्मनिर्भर नागरिकको निर्माण। |
६. शिक्षाका चार
खम्बाहरूसँग तादात्म्यता (Interface with Four Pillars of
Learning)
यूनेस्को (UNESCO) को डेलर्स
प्रतिवेदन (Delors Report, 1996) ले निर्देश
गरेका 'शिक्षाका चार खम्बाहरू' (Four Pillars
of Learning) को दार्शनिक मर्म र बहुआयामिक नागरिक निर्माणको लक्ष्यलाई STREAME पाठ्यक्रमले
उद्यमशीलताको माध्यमबाट व्यावहारिक धरातल प्रदान गर्दछ। यसले शिक्षाको विश्वव्यापी
मानवीय र दार्शनिक उद्देश्यसँग निम्नानुसार तादात्म्यता कायम गर्दछ:
६.१ जान्नका
लागि सिकाइ (Learning to Know)
यो खम्बा शिक्षार्थीको ज्ञानको दायरा
फराकिलो बनाउने र 'कसरी सिक्ने' (Learning to learn) भन्ने क्षमतासँग
सम्बन्धित छ। STREAME पाठ्यक्रममा रहेका विज्ञान (Science), अनुसन्धान (Research) र गणित (Mathematics) का आयामहरूले यस
खम्बालाई सुदृढ बनाउँछन्। विद्यार्थीले केवल तथ्यहरू कण्ठ गर्दैनन्, बल्कि स्थानीय
स्रोत साधन र बजारको मागलाई वैज्ञानिक दृष्टिकोणले बुझ्ने र अनुसन्धान गर्ने
आलोचनात्मक चेत प्राप्त गर्दछन्, जुन उद्यमशील सोचको पहिलो प्रस्थानविन्दु
हो।
६.२ गर्नका लागि
सिकाइ (Learning to Do)
यो खम्बा ज्ञानलाई कार्यकुशलता र
व्यावहारिक सीपमा बदल्नेसँग सम्बन्धित छ। नेपालको सन्दर्भमा यो खम्बा सबैभन्दा बढी
उपेक्षित छ। STREAME मोडेलले यस खम्बालाई प्रविधि (Technology), इन्जिनियरिङ (Engineering) र उद्यमशीलता (Entrepreneurship) मार्फत सीधा
सम्बोधन गर्दछ। यस अन्तर्गत विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञान प्रयोग गरेर
समाजका समस्या हल गर्न 'कर्म' गर्छन्, वस्तु वा सेवाको
'प्रोटोटाइप' बनाउँछन्, र "कमाउँदै
सिक्दै" मोडेल मार्फत श्रम र उत्पादनको वास्तविक अनुभव हासिल गर्दछन्।
६.३ हुनका लागि
सिकाइ (Learning to Be)
यो खम्बा शिक्षार्थीको व्यक्तित्वको
सर्वाङ्गीण विकास, स्वायत्तता, आत्म-सम्मान, नेतृत्व क्षमता
र व्यक्तिगत उत्तरदायित्वसँग जोडिएको छ। जब पाठ्यक्रममा कला (Arts) र उद्यमशीलता को संयोजन हुन्छ, तब विद्यार्थीमा
सिर्जनशीलता, जोखिम वहन गर्ने आँट (Risk-taking
capacity) र मानसिक दृढता (Resilience) को विकास हुन्छ।
यसले उसलाई आफ्नो सम्भाव्यता पहिचान गरेको एउटा पूर्ण 'मानव' (Holistic
Self) बन्न सघाउँछ र सर्टिफिकेट बोकेर अरूको अगाडि जागिर माग्ने 'याचक' होइन, आफ्नो क्षमता
पहिचान गरी स्वदेशमै पहिचान बनाउन सक्ने एक आत्मनिर्भर 'नायक' बन्न उत्प्रेरित
गर्छ।
६.४ सँगै
बाँच्नका लागि सिकाइ (Learning to Live Together)
यो खम्बा विविधताको सम्मान, पारस्परिक
समझदारी, सामूहिक कार्य (Teamwork) र शान्तिपूर्ण
सह-अस्तित्वसँग सम्बन्धित छ। STREAME पाठ्यक्रम अन्तर्गत सञ्चालन हुने लघु-व्यावसायिक
परियोजनाहरू (Micro-Business Projects) कहिल्यै एकल
रूपमा सफल हुँदैनन्; तिनका लागि सामूहिक सहकार्य र
अन्तर्क्रिया अनिवार्य हुन्छ। विद्यार्थीहरूले समूहमा काम गर्दा विचारहरूको
द्वन्द्व व्यवस्थापन गर्न, सामूहिक आर्थिक अनुशासन कायम राख्न र "सामाजिक
उद्यमशीलता" (Social Entrepreneurship) मार्फत समाजका
साझा समस्याहरू हल गर्दै विविधताको सम्मान र साझा समृद्धिका लागि सँगै अघि बढ्न
सिक्छन्।
७. विधागत
अन्तर्सम्बन्ध र रैथाने उद्योगको आधुनिकीकरण (प्रायोगिक विश्लेषण)
STREAME मोडेलमा
विषयहरूको कृत्रिम सीमा भत्काएर एउटा घटना वा समस्यालाई समग्रतामा सिकाउने 'फेनोमेनन-बेस्ड
लर्निङ' (Phenomenon-Based Learning) को अभ्यास
गरिन्छ। नेपालका दुईवटा विशिष्ट रैथाने क्षेत्रमा यो वैचारिक खाका कसरी क्रियाशील
हुन्छ भनी तल विश्लेषण गरिएको छ:
७.१ दृष्टान्त
क: परम्परागत पानीघट्ट (Traditional Water Mill) को आधुनिकीकरण
- विज्ञान (Science): पानीको बहाव र गतिज ऊर्जा (Kinetic Energy) कसरी यान्त्रिक ऊर्जामा परिणत हुन्छ भनी भौतिक विज्ञानको सिद्धान्त
बुझ्ने।
- प्रविधि (Technology): घट्टको बनोटमा सुधार ल्याउन आधुनिक ब्लेड वा बियरिङको प्रयोग र अनलाइन
मार्केटिङ कसरी गर्ने भनी अध्ययन गर्ने।
- अनुसन्धान (Research): परम्परागत घट्ट र आधुनिक विद्युतीय मिलमा पिँधिएको अन्नको पौष्टिकता र
बजारमा यसको माग (Market Demand) को
तुलनात्मक अध्ययन गर्ने।
- इन्जिनियरिङ (Engineering): घट्टको काठको पंखा र पानी खस्ने मुहानको स्वरूप सुधार गर्ने इन्जिनियरिङ
खाका (Blueprint) कोर्ने।
- कला (Arts): घट्टसँग जोडिएका स्थानीय लोकसंस्कृति समेटेर वस्तुको आकर्षक प्याकेजिङ, ब्रान्डिङ र लोगो (Logo) डिजाइन गर्ने।
- गणित (Mathematics): दैनिक उत्पादन क्षमता, लागत मूल्य, बिक्री मूल्य र नाफाको हिसाब (Financial Ledger) राख्ने।
- उद्यमशीलता (Entrepreneurship
- केन्द्रविन्दु): घट्टमा पिँधिएको शुद्ध रैथाने अन्न (जस्तै: कोदो, फापर) लाई आकर्षक र हातेकागजको थैलीमा प्याकेजिङ गरी "लोकल
अर्गानिक ब्रान्ड" का रूपमा
बजारमा बिक्री गर्ने र स्थानीय युवालाई स्वरोजगार बनाउने पूर्ण व्यापारिक
योजना (Business Plan) तयार गरी
कार्यान्वयन गर्ने।
७.२ दृष्टान्त
ख: स्थानीय जडीबुटी तथा वनस्पति (जस्तै: अल्लो वा तितेपाती) को प्रशोधन
- विज्ञान: तितेपाती वा अल्लोको रेशामा पाइने रासायनिक गुण वा औषधीय तत्वको
वैज्ञानिक अध्ययन गर्ने।
- प्रविधि: रेशा निकाल्ने वा तेल प्रशोधन गर्ने आधुनिक मेसिनरी र उपकरणको प्रयोग
सिक्ने।
- अनुसन्धान: बजारमा हर्बल साबुन वा अल्लोका कपडाको माग र उपभोक्ताको चाहना कस्तो छ
भनी सर्वेक्षण गर्ने।
- इन्जिनियरिङ: प्रशोधन गर्ने मेसिनको सुधारिएको मोडल वा उत्पादनको गुणस्तर नियन्त्रण
गर्ने प्लान्टको डिजाइन तयार गर्ने।
- कला: उत्पादित
सामग्रीको सुगन्ध, रङ, कपडाको बुट्टा र विज्ञापनको सिर्जनात्मक पाटो तय गर्ने।
- गणित: कच्चा
पदार्थको खरिद, श्रमको मूल्य, उद्योग स्थापनाको लागत र वित्तीय प्रक्षेपण (Financial
Forecasting) गर्ने।
- उद्यमशीलता (केन्द्रविन्दु): उत्पादित हर्बल साबुन वा अल्लोको कपडालाई व्यावसायिक रूपमा बजारमा लैजान
दर्ता प्रक्रिया, ब्रान्डिङ र 'स्टार्टअप' (Startup) को रूपमा
सञ्चालन गर्दै विद्यार्थीमा व्यावसायिक र सामाजिक नेतृत्व गुणको विकास गर्ने।
८. नेपालको सन्दर्भमा
कार्यान्वयनका रणनीतिहरू (Implementation Strategies)
नेपालको विशिष्ट भौगोलिक, सामाजिक, आर्थिक तथा
नीतिगत परिवेशलाई दृष्टिगत गर्दै यस मोडेललाई विद्यालय शिक्षाको मूलधारमा समाहित
गर्नका लागि निम्न रणनीतिक स्तम्भहरू (Strategic Pillars) प्रस्ताव गरिएको
छ:
८.१ स्थानीय
पाठ्यक्रम र उद्यमशीलताको प्रयोगात्मक एकीकरण
नेपालको संविधान (२०७२) को अनुसूची ८ ले
स्थानीय तहलाई माध्यमिक शिक्षा सम्मको व्यवस्थापन र स्थानीय पाठ्यक्रम (Local
Curriculum) निर्माणको अनन्य अधिकार प्रत्यायोजन गरेको छ। यसै नीतिगत
सुनिश्चिततालाई प्रस्थानविन्दु बनाएर कक्षा १ देखि ८ सम्मको रैथाने परिवेशमा STREAME मोडेललाई
निर्बाध रूपमा एकीकृत गर्न सकिन्छ। स्थानीय तहमा उद्यमशीलतालाई समेटेर पाठ्यक्रम
बनाउँदा विद्यार्थीले बाल्यकालदेखि नै आत्मनिर्भरता र नागरिक दायित्वको पाठ सिक्न
पाउँछन्।
८.२ पार-विषयगत
परियोजना र 'कमाउँदै सिक्दै' (Earn While
You Learn) मोडेल
विद्यार्थीहरूको सिकाइलाई संकुचित
पाठ्यपुस्तकको सीमाभित्र मात्र कैद नगरी वास्तविक जीवन र व्यवसायका समस्याहरूसँग
जोड्नका लागि आवधिक रूपमा 'परियोजनामा आधारित सिकाइ' (Project-Based Learning) लाई अनिवार्य
गरिनुपर्छ। विद्यालयमा "लघु-व्यावसायिक परियोजना" (Micro-Business
Projects) लाई परियोजनाको रूपमा लिन सकिन्छ। यसले विद्यार्थीलाई
समूहमा काम गर्ने (Teamwork), बजारसँग संवाद गर्ने र सानै उमेरमा
वित्तीय अनुशासन सिक्ने अवसर दिन्छ।
८.३ शिक्षकहरूको
व्यावसायिक सहकार्य र सामूहिक शिक्षण (Team Teaching)
नेपालको विद्यमान शैक्षिक अभ्यासमा
शिक्षकहरू विषयगत घेरा (Subject Silos) भित्र बाँधिएका छन्। STREAME को सफल
कार्यान्वयनका लागि यो विधागत पर्खाल भत्किनु अनिवार्य छ। विद्यालयहरूमा विज्ञान, प्रविधि, गणित, भाषा, र
अर्थशास्त्र/उद्यमशीलताका शिक्षकहरू एकै ठाउँमा बसेर संयुक्त योजना (Co-planning) र सामूहिक
शिक्षण (Team Teaching) को संस्कृति विकास गर्नु पर्छ।
८.४ न्यून-लागत
प्रयोगात्मक र व्यावसायिक कार्यशाला (Low-Cost Incubation Hubs)
महँगा प्रयोगशालाहरूको भ्रमबाट मुक्त रही
प्रत्येक विद्यालयमा स्थानीय कबाड र सुलभ सामग्रीहरू संकलन गरेर एउटा
"सिर्जनात्मक कार्यशाला" वा "लघु-व्यावसायिक
इन्कुबेसन सेन्टर" (Business Incubation Center) स्थापना गर्न
सकिन्छ। यहाँ विद्यार्थीहरूले आफ्ना अमूर्त सोच र इन्जिनियरिङ डिजाइनहरूलाई भौतिक
रूप (Prototyping) दिँदै त्यसको व्यावसायिक र सामाजिक सम्भाव्यता परीक्षण गर्न
सक्छन्।
८.५
"युवालाई टेन्सन, बुढालाई पेन्सन" को भाष्य र नीतिगत
रूपान्तरण
नेपाली समाज र राजनीतिमा लामो समयदेखि
एउटा व्यङ्ग्यात्मक तर अत्यन्तै तितो यथार्थवादी भाष्य स्थापित छ—"युवालाई
टेन्सन, बुढालाई पेन्सन"। यो नेपालको
त्रुटिपूर्ण शिक्षा नीति, फितलो रोजगारी बजार र राज्यको अदूरदर्शी
वितरणमुखी राजनीतिको जीवन्त ऐना हो। राज्यले ऊर्जावान् युवा जनशक्तिलाई नवप्रवर्तन
र उद्यमशीलतामा लगाउने कुनै ठोस मार्गचित्र तयार गर्न नसक्दा ठूला-ठूला डिग्री
बोकेका युवाहरू मानसिक तनाव (Tension) र भविष्यको अनिश्चितताका कारण देश पलायन
हुन बाध्य छन्।
यो "टेन्सन" लाई रचनात्मक
"उद्यमशीलता" र "नवप्रवर्तन" मा बदल्ने एक मात्र अचूक उपाय
पाठ्यक्रममा STREAME मोडेलको जग बसाल्नु हो। जब शिक्षाले
युवाहरूलाई कक्षाकोठादेखि नै अनुसन्धान र इन्जिनियरिङ मार्फत स्थानीय स्रोत साधनको
प्रयोग गरी उद्यमशील बन्न र रोजगारी सिर्जना गर्न (Job Creators) सिकाउँछ, तब देशको
जनशक्ति स्वदेशमै 'उत्पादन र आयआर्जन' सँग जोडिन्छ।
यसले राज्यलाई पनि निवृत्त पुस्तालाई न्यायपूर्वक सामाजिक सुरक्षा (Pension) दिने दरिलो
आर्थिक आधार प्राप्त गराउँछ।
९.
कार्यान्वयनका चुनौतीहरू (Challenges in Implementation)
९.१ सरकारी
शिक्षण संस्थाहरूको दयनीय अवस्था र साधनहीनता
नेपालको सार्वजनिक शिक्षा प्रणाली कमजोर
अनुगमन र न्यून राजनीतिक इच्छाशक्तिका कारण चरम बेथितिबाट गुज्रिरहेको छ। दुर्गमका
विद्यालयहरूमा न्यूनतम भौतिक पूर्वाधार, इन्टरनेट र
शिक्षक दरबन्दीकै अभाव छ भने सुगमका विद्यालयहरू चरम राजनीतिकरण र प्रशासनिक
अकर्मण्यताका कारण खस्कँदा छन्। यस्तो अवस्थामा प्रयोगात्मक र उद्यमशीलतामुखी
व्यावहारिक पाठ्यक्रम लागू गर्नु निकै चुनौतीपूर्ण छ।
९.२ निजी
क्षेत्रको नाफामूखी चरित्र र व्यावहारिक सीपको उपेक्षा
नेपालको संस्थागत (निजी) विद्यालय
क्षेत्र गुणात्मक शिक्षाको संवाहक बन्ने दाबी गरे तापनि यसको ठूलो हिस्सा
व्यापारिक व्यावसायिकता र नाफा केन्द्रीकृत (Profit-oriented) मानसिकताबाट
ग्रसित छ। उनीहरू विद्यार्थीमा वास्तविक व्यावसायिक सीप र सिर्जनशीलता भर्नुको
सट्टा 'घोक्ने र परीक्षा दिने' परम्पраगत परिपाटी र
उच्च प्राप्ताङ्क (GPA) लाई मात्र प्राथमिकता दिन्छन्, जसले गर्दा
बजारमा टिक्ने वास्तविक उद्यमशील जनशक्ति तयार हुन सकेको छैन।
९.३ प्राज्ञिक
जडता र मूल्याङ्कन प्रणालीको अवरोध (Assessment Bottleneck)
नेपालको सिङ्गो शैक्षिक प्रणाली अझै पनि
प्राप्ताङ्क (GPA) मुखी सोच र ३ घण्टाको बन्द कोठाको लिखित
परीक्षाको सिन्डिकेटबाट मुक्त हुन सकेको छैन। यो प्रणालीले विद्यार्थीले वर्षभरि
गरेको व्यावहारिक अनुसन्धान, सिर्जनशीलता, व्यावसायिक
योजना (Business Plan) र वित्तीय व्यवस्थापन क्षमतालाई मापन नै
गर्न सकिँदैन। जबसम्म मूल्याङ्कन प्रणालीमा संरचनात्मक सुधार गरिँदैन, तबसम्म
उद्यमशीलता पाठ्यक्रम केवल कागजमा मात्र सीमित हुने खतरा रहन्छ।
१०. निष्कर्ष र
सुझावहरू (Conclusion and Recommendations)
१०.१
निष्कर्ष (Conclusion)
प्रस्तुत
अनुसन्धानको समग्र विश्लेषण, दार्शनिक
मन्थन र धरातलीय प्रक्षेपणले के पुष्टि गर्दछ भने नेपालको वर्तमान शिक्षा प्रणाली
एक गम्भीर संरचनात्मक, दार्शनिक
र व्यावहारिक चौबाटोमा उभिएको छ। एक्काइसौँ शताब्दीको वैश्विक बजारले
शिक्षार्थीहरूमा जुन उच्च संज्ञानात्मक सक्षमता, व्यावहारिक
कार्यकुशलता र नैतिक चेतको माग गरिरहेको छ, त्यसको
ठीक विपरीत हाम्रा शिक्षण संस्थाहरू केवल "कागज र प्रमाणपत्र" वितरण
गर्ने र ऊर्जावान् युवा पुस्तालाई व्यावहारिक सीपविहीन बनाई "टेन्सन" को
भुमरीमा धकेल्दै भयानक बौद्धिक तथा श्रम पलायन (Brain Drain) गराउने
केन्द्र बनिरहेका छन्। सरकारी विद्यालयहरूको साधनहीनता एवं प्रशासनिक अकर्मण्यता र
निजी क्षेत्रको व्यापारिक तथा नाफा केन्द्रीकृत संकुचनका कारण शिक्षा जीवन,
माटो र रैथाने धरातलबाट पूर्ण रूपमा कट्दै
गइरहेको छ। यस्तो सङ्कटपूर्ण पृष्ठभूमिमा, STREAME पाठ्यक्रम
केवल एउटा आधुनिक शैक्षिक फेसन वा सतही वैकल्पिक
ढाँचा मात्र नभएर नेपाली शिक्षाको समग्र रूपान्तरण, शुद्धीकरण
र जीवनमुखी पुनर्जागरणको अचूक महामन्त्र (Alternative
Epistemological Paradigm) हो।
यस
मोडेलको सबैभन्दा सुन्दर, गतिशील
र रूपान्तरणकारी पक्ष भनेकै यसको केन्द्रविन्दु (Core Axis) मा
रहेको उद्यमशीलता (Entrepreneurship)
को आयाम हो, जसलाई
पर्यावरण (Environment) को
दिगो चेतनासँग अकाट्य रूपमा जोडिएको छ। यहाँ उद्यमशीलतालाई केवल पूँजीवादी नाफा
कमाउने वा व्यापार गर्ने संकुचित यन्त्रका रूपमा होइन,
बल्कि शिक्षार्थीमा अभूतपूर्व आत्मविश्वास,
जोखिम वहन गर्ने क्षमता,
मानसिक दृढता (Resilience) र
सामाजिक उत्तरदायित्व बोध गराउँदै "बहुआयामिक
नागरिक एवं सबल व्यक्तित्व निर्माण" (Holistic
Personality Development) गर्ने मुख्य
मेरुदण्डका रूपमा ग्रहण गरिएको छ। जब यो उद्यमशील चेतलाई पर्यावरणीय
संवेदनशीलतासँग जोडिन्छ, तब
यसले प्रकृति र मानवबीचको सन्तुलन कायम राख्दै देशलाई आर्थिक रूपमा आत्मनिर्भर
बनाउने "हरित
उद्यमशीलता" (Green Entrepreneurship)
को जन्म गराउँछ। शिक्षा जबसम्म उद्यममुखी र
उत्पादनमुखी हुँदैन, तबसम्म राष्ट्रिय
गौरव र स्वाभिमानको नारा केवल निरर्थक गफमा सीमित हुन्छ।
अझ
महत्त्वपूर्ण कुरा, उद्यमशीलतामा आधारित
यो मोडेल नेपालको सनातन पूर्वीय दर्शन, समृद्ध
संस्कृत शिक्षा (Sanskrit Education) र
प्रकृति-केन्द्रित रैथाने ज्ञानमीमांसासँग अचम्मसँग मेल खान्छ। हाम्रा संस्कृत
वाङ्मय, वेद,
उपनिषद् र चरक संहिताजस्ता ग्रन्थहरू आफैँमा
विज्ञान (Science), खगोल-गणित
(Vedic Mathematics), ध्वनि र
सञ्चारको कला (Arts), तथा
'ईशावास्यमिदं
सर्वम्' जस्ता
उच्च पर्यावरणीय चेतनाका स्रोत त हुन् नै, साथै
ती ग्रन्थहरूले कर्मयोग र आत्मनिर्भर जीवनशैलीको पनि उत्तिकै वकालत गर्छन्।
पूर्वीय दर्शनको "पुरुषार्थ
चतुष्टय" (धर्म, अर्थ,
काम, मोक्ष)
को अवधारणाले पनि 'अर्थ'
(वित्तीय साक्षरता, उत्पादन
र न्यायपूर्ण उद्यम) र 'काम'
(सिर्जनशीलता/इच्छा) लाई 'धर्म'
(नैतिकता, पर्यावरण
र नागरिक कर्तव्य) को परिधिभित्र राखेर व्यक्तित्वको पूर्णता (मोक्ष/आत्मबोध)
प्राप्त गर्ने मार्ग निर्देश गर्दछ। तसर्थ, STREAME ले
पश्चिमा आधुनिक प्रविधिलाई मात्र अँगाल्दैन, बल्कि
हाम्रो संस्कृत शिक्षा र रैथाने परम्परामा लुकेको वैज्ञानिकता,
साहसिक कर्म र अनुसन्धान (Research)
को मर्मलाई पुनर्जागृत गर्दै आधुनिक बजार र
विश्वमञ्चसँग जोड्ने सामर्थ्य राख्दछ।
भौगोलिक
जटिलता र पुराना परीक्षा प्रणालीको सिन्डिकेटका कारण यसलाई एकाएक पूर्ण रूपमा लागू
गर्न केही संस्थागत चुनौती देखिए तापनि, नेपालको
संविधानले प्रत्यायोजन गरेको स्थानीय पाठ्यक्रमको अधिकार र विद्यालय स्तरका
नव-सिकाइ (Neo-learning) परियोजनाहरू
मार्फत यसको श्रीगणेश गर्न अब ढिला भइसकेको छ। यो मोडेलले युवा पुस्तालाई अदक्ष
श्रम बजारको रचनात्मक 'टेन्सन'
बाट मुक्त गरी स्वदेशमै 'अनुसन्धान,
उद्यम र उत्पादन' को
दिगो 'पेन्सन' र
आत्मसम्मान दिलाउने अकाट्य सामर्थ्य राख्दछ।
१०.२
सुझावहरू (Recommendations)
नेपालको
शैक्षिक परिवेशमा STREAME पाठ्यक्रमको
मर्मलाई व्यावहारिक रूपमा उतार्न, देशको
अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र राज्यको लोककल्याणकारी अभिभावकीय दायित्वलाई
सिद्ध गर्न निम्न बहुआयामिक एवं नीतिगत सुझावहरू सि察रश
गरिन्छ:
१. व्यक्तित्व, नागरिक कर्तव्य र उद्यमशीलता-केन्द्रित
पाठ्यक्रम (Value-Based
Entrepreneurial Curriculum)
उद्यमशीलता
आयामलाई केवल व्यवसाय खोल्ने संकुचित अर्थमा मात्र सीमित नराखी नेतृत्व विकास,
मानसिक दृढता (Resilience), वित्तीय
साक्षरता, जोखिम व्यवस्थापन र
नागरिक कर्तव्य सिकाउने गरी पाठ्यक्रमको पुनर्संरचना गरिनुपर्छ। शिक्षाले
शिक्षार्थीलाई सर्टिफिकेट बोकेर जागिर माग्ने 'याचक'
होइन, बरु
आफ्नो क्षमता पहिचान गरी स्वदेशमै सम्भावना र रोजगारी सिर्जना गर्ने आत्मनिर्भर 'नायक'
(Job Creator) का रूपमा स्थापित गर्नुपर्छ।
२. संस्कृत, रैथाने
ज्ञान र आधुनिक उद्यमशीलताको संवादात्मक एकीकरण (Integration of Sanskrit & Indigenous Knowledge)
नेपालको
रैथाने ज्ञान र संस्कृत विद्यालयहरूको पाठ्यक्रममा व्यापक संरचनात्मक परिमार्जन
गरी वेद, उपनिषद् र व्याकरणका
ऋचाहरूसँगै आधुनिक विज्ञान, कोडिङ
र अनुसन्धान पद्धतिको एकीकरण गरिनुपर्छ। संस्कृतमा रहेका वास्तुशास्त्र र
शिल्पशास्त्रलाई आधुनिक इन्जिनियरिङसँग, वैदिक
गणितलाई कम्प्युटेशनल गणितसँग, र
आयुर्वेदलाई आधुनिक हरित उद्यम (Green Ventures) तथा
जीवविज्ञानसँग जोडेर पार-विषयगत सिकाइ (Transdisciplinary
Learning) को थालनी गरिनुपर्छ।
३. स्थानीय तहमा 'कमाउँदै सिक्दै' हरित पाइलट प्रोजेक्ट (Execution of 'Earn While You Learn' Green
Pilot Projects)
प्रत्येक
स्थानीय सरकार र नेतृत्वदायी शिक्षण संस्थाहरूले आगामी शैक्षिक सत्रदेखि निश्चित
विद्यालयहरूमा STREAME मोडेललाई
"कमाउँदै
सिक्दै" र
"सामाजिक
उद्यमशीलता" को अवधारणा
अन्तर्गत परीक्षण (Pilot) को रूपमा लागू
गर्नुपर्छ। विद्यालयहरूमा सञ्चालन गरिने लघु-परियोजनाहरूलाई स्थानीय समाज र
पर्यावरणका वास्तविक समस्या (जस्तै: फोहोरमैला व्यवस्थापन,
प्राङ्गारिक कृषि, रैथाने
जडीबुटीको प्रशोधन, प्याकेजिङ र डिजिटल
मार्केटिङ) सँग जोडिनुपर्छ, जसले
विद्यार्थीमा सेवाभाव, सामूहिक
कार्य (Teamwork) र
व्यावसायिक अनुशासन सँगै सिकाओस्।
४. 'प्रक्रिया
र उत्पादन-केन्द्रित' वैकल्पिक मूल्याङ्कन प्रणाली (Alternative & Process-Oriented
Assessment)
वर्तमान
३ घण्टे लिखित परीक्षाको सिन्डिकेट र प्राप्ताङ्क (GPA) मुखी
जडतालाई पूर्ण रूपमा भत्काउँदै आन्तरिक मूल्याङ्कनको हिस्सा कम्तीमा ५० प्रतिशत
कायम गरिनुपर्छ। यो मूल्याङ्कन विद्यार्थीले वर्षभरि गरेका व्यावहारिक अनुसन्धान (Action
Research), व्यावसायिक योजना (Business
Plan), नवप्रवर्तनात्मक डिजाइन,
र वस्तु वा सेवाको विकास (Product
Prototype) का आधारमा तय गरिने
"पोर्टफोलियो-बेस्ड" (Portfolio-based) प्रणालीमा
रूपान्तरण गरिनुपर्छ।
५. शिक्षक व्यावसायिक विकास र सामूहिक
शिक्षण कार्यशाला (Teacher Empowerment
& Team Teaching)
शिक्षकहरूलाई
विषयगत घेरा (Subject Silos) बाट
बाहिर निकाल्नका लागि "अन्तर-विषयगत पाठ्यक्रम ढाँचा" सम्बन्धी सघन
कार्यशालाहरू अनिवार्य गरिनुपर्छ। विज्ञान, प्रविधि,
कला, संस्कृत
र उद्यमशीलताका शिक्षकहरू एकै ठाउँमा बसेर संयुक्त योजना (Co-planning)
बनाउने र कक्षाकोठामा सामूहिक शिक्षण (Team
Teaching) गर्ने संस्कृति विकास गरिनुपर्छ। शिक्षकलाई केवल
सूचना प्रवाह गर्ने 'प्रवक्ता'
बाट विद्यार्थीको बहुआयामिक व्यक्तित्व विकास
गर्ने 'मेन्टर'
(Mentors) मा रूपान्तरण गरिनुपर्छ।
६. विद्यालयहरूमा न्यून-लागत इन्कुबेसन
सेन्टर र मेकर्सपेसेज (Low-Cost
Tinkering & Incubation Labs)
महँगा
ल्याब र रोबोटिक्स किटहरूको पश्चिमा भ्रम र उपभोक्तावादी मानसिकताबाट मुक्त भई
विद्यालयहरूमा स्थानीय स्तरमा उपलब्ध कबाड, काठ,
माटो, जडीबुटी
र पुराना सामग्रीहरू संकलन गरेर "Tinkering
Labs" वा सिर्जनात्मक
कार्यशाला स्थापना गरिनुपर्छ। जहाँ विद्यार्थीले न्यून लागतमा उच्च प्रयोगात्मक
अभ्यास गर्दै आफ्ना नवीन विचारहरूलाई भौतिक स्वरूप (Prototyping)
र लघु-व्यवसाय इन्कुबेसन (Micro-business
incubation) को अवसर पाउन सकून्।
७. वितरणमुखी बजेटबाट 'अनुसन्धान र विकास' (R&D) तर्फ नीतिगत स्थानान्तरण
राज्य
र स्थानीय सरकारले आफ्नो परम्परागत वितरणमुखी र उपभोक्तावादी बजेट नीतिमा तत्काल
पुनरावलोकन गर्नुपर्छ। कुल शिक्षा बजेटको निश्चित र अनिवार्य हिस्सा विद्यालय
तहदेखि नै अनुसन्धान, नवप्रवर्तन,
पेटेन्ट दर्ता र व्यावहारिक उद्यमशीलताका लागि
विनियोजन गरिनुपर्छ। युवा पुस्तालाई देशभित्रै भविष्य र आत्मसम्मान देख्ने वातावरण
बनाउन राज्यले आफ्नो लोककल्याणकारी अभिभावकीय उत्तरदायित्व वहन गर्दै राष्ट्रिय
नवप्रवर्तन कोष (National Innovation Fund) मार्फत
STREAME पाठ्यक्रम
कार्यान्वयन गर्ने विद्यालयहरूलाई विशेष अनुदानको व्यवस्था गर्नुपर्छ।
सन्दर्भ
सामग्रीहरू (References)
- नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय। (२०७६)। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६। पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर।
- Bybee, R. W. (2013). The case for STEM education:
Challenges and opportunities. NSTA Press.
- Delors, J. (1996). Learning: The treasure within.
Report to UNESCO of the International Commission on Education for the
Twenty-first Century. UNESCO Publishing.
- Khine, M. S., & Areepattamannil, S. (Eds.).
(2019). STEAM education: Theory and practice. Springer. https://doi.org/10.1007/978-3-030-04003-1
- OECD. (2018). The future of education and skills:
Education 2030. OECD Publishing.
- Radhakrishnan, J., & Ramanathan, S. (2020).
Integrating Vedic mathematics and ecological awareness in modern school
curricula. Journal of Indian Education, 46(3), 54–68.
- Sharma, R., & Kumar, A. (2022). Transitioning
from STEM to STEAM: Perspectives from South Asian classrooms. Indian
Educational Review, 59(2), 15–29.
- UNESCO. (2021). Education for sustainable
development: A roadmap. UNESCO Publishing.
- Yakman, G. (2008). STEAM education: an overview of
creating a model of integrative education. Pupils' Attitudes Towards
Technology (PATT-19) Conference, Salt Lake City, Utah.
Comments
Post a Comment