क्या आप अपने नाम के आगे डॉक्टर लगाना चाहते हैं ?
भागवतको विवेक र कुरियरको डाक्टरसाब
-भागवत देव भट्ट
आजका विश्वविद्यालय र शिक्षालयहरू ज्ञानका
मन्दिर हुन् कि कर्पोरेट हाउसका सोरुम ? यो प्रश्नले हरेक सचेत नागरिकको मथिंगल हल्लाइरहेको छ । चम्किला होर्डिङ
बोर्ड, टाइ-सूटमा ठाँटिएका विद्यार्थी, र चिल्ला गाडीको ताँतीभित्र एउटा भव्य र दार्शनिक नारा खुब देखिन्छ—"Wisdom, Virtue, Progress" (ज्ञान/विवेक,
सदाचार/सद्गुण, र प्रगति) । सुन्दा कति पावन,
कति आदर्श र कति ओझपूर्ण ! विद्यालयको प्रवेशद्वारमै गाडिएको हुन्छ अर्को
एउटा पूरक वाक्य—"Enter to learn, leave to serve"
(सिक्नका लागि प्रवेश गर, सेवाका लागि
प्रस्थान गर) ।
तर, जब यी महान् शब्दहरूलाई
समाजको कठोर यथार्थसँग कसिन्छ, तब एउटा क्रूर र भद्दा ठट्टा
सतहमा आउँछ । यहाँ न त 'विज्डम' (विवेक)
को खोजी छ, न त 'भर्च्यु' (सदाचार) को अभ्यास । बरु यहाँ 'प्रगति'
(Progress) को एउटा यस्तो संकुचित भाष्य तयार पारिएको छ, जसको एकमात्र मापदण्ड महँगो फि, ब्रान्डेड बिल्डिङ र
अन्तर्राष्ट्रिय बजारमा बिक्ने 'मेसिन' को उत्पादन हो । अनि त्यो "सेवाका लागि प्रस्थान" को अर्थ त झन्
कति टिठलाग्दो बनाइयो भने—त्यो सेवा आफ्नै माटो र देशका लागि होइन, बरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै विदेशी भूमि र
विदेशी कम्पनीहरूको 'सेवा' का लागि
प्रस्थान गर्ने पासपोर्ट तयार पार्नु मात्र रहन गयो । आधुनिक भनिने शिक्षाले भव्य
महल त दियो, तर त्यो महलले विवेक र सदाचार होइन, कर्पोरेट दास मात्र उत्पादन गरिरहेको छ ।
हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ 'गुणस्तरीय शिक्षा' (Quality Education) को परिभाषा
केबल एउटा ग्रेड सिट को 'A+' ग्रेडमा आएर
खुम्चिएको छ । तर, यो कस्तो गुणस्तर हो, जसले मानिसलाई अक्षर चिन्न त सिकायो, तर छिमेकीको
रोदन चिन्न सिकाएन ? कम्प्युटरको कोडिङ त सिकायो, तर जीवनको कठीन मोडमा
आफैँलाई सम्हाल्ने 'लाइफ कोड' सिकाएन
?
यहीँनेर पूर्वीय दर्शनको मियो, श्रीमद्भागवत
महापुराणको सान्दर्भिकता टड्कारो भएर आउँछ । भागवत केवल एउटा धार्मिक ग्रन्थ मात्र
होइन, यो त चेतनाको, जीवन व्यवस्थापनको
र एउटा आदर्श नागरिक निर्माणको उत्कृष्ट विश्वविद्यालय हो । आजको कङ्क्रिटको जङ्गल
जस्तो शिक्षा र भागवतको ज्ञान-गङ्गाबीचको तुलनात्मक विमर्शले मात्रै नेपाली
शिक्षाको वास्तविक रोग र त्यसको ओखती पत्ता लगाउन सक्छ ।
२. भागवतीय दृष्टिकोण र
आधुनिक 'क्वालिटी एजुकेसन' को भ्रम
श्रीमद्भागवतको चौथो स्कन्धमा राजा पृथुले
एउटा ऐतिहासिक सभामा शिक्षा र ज्ञानको वास्तविक चरित्र कस्तो हुनुपर्छ भन्ने
सन्दर्भमा एउटा कालजयी तर्क अगाडि सारेका छन् :
तद्वचो ह्यनुमोदेत क्रियते यद्यदाहृतम् ।
क्रियाफलस्य च समः सम्प्रदातुश्च वाचकः ॥
(श्रीमद्भागवतम्
- ४.२१.४१)
यो श्लोकले आधुनिक 'क्वालिटी
एजुकेसन' भनिने भ्रमको बेलुनलाई एकै झट्कामा फुटाइदिन्छ ।
राजा पृथु भन्छन्—त्यो ज्ञान मात्रै ज्ञान हो, जसलाई 'क्रिया' अर्थात् व्यवहारमा उतार्न सकिन्छ (क्रियते यद् यदाहृतम्) । तर,
आजको नेपाली शिक्षाको अवस्था कस्तो छ ?
[प्राप्त ज्ञान / सिद्धान्त] ──(आधुनिक शिक्षामा यहाँ निर
विच्छेद छ)──> [व्यावहारिक जीवन / कर्म]
हाम्रो शिक्षा प्रणाली कण्ठस्थीकरण (Rote Learning) मा आधारित छ । एउटा विद्यार्थीले विद्यालयमा 'इमानदारिता
सबैभन्दा ठूलो नीति हो' भनेर कण्ठ गर्छ, परीक्षामा १०० मा ९५ अङ्क ल्याउँछ, र भविष्यमा त्यही
अङ्कको ब्याज खाँदै लोकसेवा पास गरेर भ्रष्टाचारको फाइलमा पहिलो हस्ताक्षर गर्छ ।
यो कस्तो शिक्षा हो ? भागवतले भन्छ—यदि तिम्रो ज्ञानले तिम्रो क्रिया (कर्म) लाई शुद्ध गर्दैन
भने तिमीले पढेको शास्त्र केबल मस्तिष्कको बोझ मात्र हो ।
आजको 'क्वालिटी एजुकेसन' व्यापारिक ब्रान्डिङमा टिकेको छ । एसी क्लासरुम, स्मार्ट
बोर्ड, र विदेशी लवजमा बोलिने अङ्ग्रेजीलाई गुणस्तरको मापक
मानिएको छ । तर, श्रीमद्भागवतको सातौँ स्कन्धमा प्रह्लादले
आफ्ना साथीहरूलाई दिएको उपदेश सम्झौँ :
"कौमार आचरेत्प्राज्ञो
धर्मान्भागवतानिह ।"
बाल्यकालदेखि नै 'भागवत धर्म'
अर्थात् मानवीय मूल्य, करुणा, र समाजप्रतिको उत्तरदायित्वको पाठ सिकाउनुपर्छ, जसलाई
आधुनिक नाराले 'Virtue' भन्न त भन्यो तर व्यवहारमा लागू गरेन
। आजको गुणस्तरले मानिसलाई 'म' र 'मेरो करियर' भन्दा माथि उठ्न सिकाउँदैन । यसले
व्यक्तिलाई आगो जस्तै महत्त्वाकाङ्क्षी त बनाउँछ, तर पानी
जस्तै शीतल र हितकारी बनाउन सक्दैन । हामीले 'करियर' बनाउने दौडमा 'चरित्र' निर्माणको
अध्याय नै पाठ्यक्रमबाट गायब गरिदिएका छौँ ।
३. नाराको विरोधाभास :
"Wisdom,
Virtue, Progress" देखि "Leave to Serve" सम्मको ढोंग
अब चर्चा गरौँ ती बहुचर्चित स्लोगनहरूको—"Wisdom, Virtue,
Progress" र "Enter to learn, leave to serve" । यी नाराहरू सुन्ने बित्तिकै लाग्छ, निजी
विद्यालयहरू विद्यार्थीभित्र ज्ञानको दियो बाल्न, नैतिक आचरण
सिकाउन र देशलाई प्रगतिको पथमा लैजान समाजको सेवा गर्ने त्यागी नागरिक उत्पादन
गर्न रातदिन लागिपरेका छन् । तर, यो दाबीको भित्री पाटो
हेर्ने हो भने, यसमा कलात्मक व्यङ्ग्य र तीतो यथार्थ लुकेको
छ ।
विद्यालय छिर्ने बेला गेटमा लेखिएको हुन्छ—"Enter to
learn"
(सिक्नका लागि प्रवेश गर) । विद्यार्थी भित्र त छिर्छ, तर उसले त्यहाँ 'Wisdom' (विवेक) होइन, केबल कसरी 'नम्बर १' बन्ने र
अरूलाई कसरी पछारेर अगाडि बढ्ने भन्ने स्वार्थी प्रतिस्पर्धाको गणित मात्र सिक्छ ।
विद्यालयको डिक्सनरीमा 'Virtue' (सदाचार) को अर्थ परीक्षामा
कपि चोर्नु नहुने भन्ने प्राविधिक अनुशासनमा मात्रै सीमित छ, जीवनको इमानदारी र नैतिक मूल्यसँग त्यसको कुनै साइनो देखिँदैन ।
अनि जब विद्यालयको पढाई सकिन्छ, नाराले
भन्छ—"Leave to serve" (सेवाका लागि
प्रस्थान गर) । यहाँ आइपुग्दा यो नाराको घाँटी यसरी निमोठिन्छ कि, त्यो 'Progress' (प्रगति) र 'सेवा'
को गन्तव्य बदलिएर विदेशी कन्सल्टेन्सी र खाडी वा युरोपको भिसा बन्न
पुग्छ । विद्यालयले उसलाई आफ्नै गाउँ-ठाउँ, समाज र राष्ट्रको
सेवा गर्न कहिल्यै प्रेरित गरेन । उसलाई त यसरी प्रोग्रामिङ गरियो कि, सर्टिफिकेट हातमा पर्ने बित्तिकै ऊ देशका लागि 'अनुत्पादक'
बन्छ र विदेशी श्रम बजारको सेवा करना दौडिन्छ । यो कस्तो प्रगति (Progress)
हो जसले देशलाई मानसिक र बौद्धिक रूपमा रित्तो बनाउँदैछ ?
यहाँ प्रगति र सेवा पक्कै छ, तर त्यो
कस्तो छ भने :
· अभिभावकले महँगो शुल्क
तिरेर विद्यालयको वित्तीय 'प्रगति' सुनिश्चित गर्ने,
· विद्यालयले त्यसबापत विवेक
र सदाचारविहीन ' ग्रेड सिट ' तयार पारिदिने,
· र अन्त्यमा त्यो
विद्यार्थीले स्वदेश छाडेर विदेशी अर्थतन्त्रको 'सेवा' गर्ने
!
यो त एउटा गज्जबको व्यापारिक चक्र (Business Cycle) भयो, जहाँ शिक्षाको आत्मा र वास्तविक सेवाभावबाहेक
अरू सबै कुराको व्यापार छ ।
|
विज्ञापनको दाबी (The Illusion) |
व्यवहारको यथार्थ (The Reality) |
|
Wisdom (ज्ञान र विवेक) |
ग्रेडसिटमा 'A+' ल्याउने घोकन्ते र
यान्त्रिक ज्ञान |
|
Virtue (सदाचार र नैतिक मूल्य) |
भाषा र पहिचानलाई 'आउटडेटेड' ठान्ने उपभोक्तावादी कुरुप संस्कृति |
|
Progress
(प्रगति र उन्नति) |
युवा जनशक्तिलाई कन्सल्टेन्सी मार्फत विदेश निर्यात गर्ने
मेसिन |
|
"Enter
to learn, leave to serve" |
सर्टिफिकेट सपिङ र विदेशमा 'सेवा/श्रम'
गर्न पलायन |
निजी शिक्षालयका टाई र बेल्टमा बाँधिएका विद्यार्थीहरूलाई देख्दा लाग्छ,
उनीहरू ज्ञान, विवेक र सेवाका साधक होइनन्,
कुनै बहुराष्ट्रिय कम्पनीका कर्पोरेट प्रशिक्षार्थी हुन् । नेपाली
भाषा बोल्दा जरिवाना तिर्नुपर्ने नियम भएका विद्यालयहरूले कुन राष्ट्रियता,
कुन देशभक्ति र कुन समाजको सेवा गर्ने पाठ पढाउलान् ? आफ्नै देशको माटो, भूगोल, र संस्कृतिलाई 'पिछडिएको'
सोच्न सिकाउने यो प्रणालीले अन्ततः देशलाई युवाविहीन र सेवाभावविहीन
बनाउने सुरुङ खनिरहेको छ ।
"Wisdom, Virtue, Progress" को बोर्ड झुण्ड्याउने संस्थाहरूले बच्चालाई समाजसँग जोड्न कहिल्यै
सिकाएनन् । बच्चाले गाडी चिन्न सिक्यो, तर बाटो काट्न गाह्रो
भइरहेका वृद्धवृद्धालाई हात समातेर डोर्याउने 'सेवा'
सिकेन । उसले डलरको हिसाब गर्न सिक्यो, तर
आमाको आँसु र देशको माटोको मूल्य बुझ्न सिकेन । व्यवहारमा शून्य रहेको यो आधुनिकता
केबल एउटा चमकदार प्याकेजिङ मात्र हो, जसभित्रको सामग्री
म्याद नाघिसकेको छ ।
४. शैक्षिक विकृतिको
कुरुक्षेत्र : 'मपाइँ' र कुरियरका डाक्टरहरू
नेपालको वर्तमान शिक्षा क्षेत्र एउटा यस्तो
कुरुक्षेत्र बनेको छ,
जहाँ नैतिकताको चीरहरण भइरहेको छ र द्रोणाचार्यहरू केवल दुर्योधनहरूको
हितका लागि मात्रै काम गरिरहेका छन् । यस कुरुक्षेत्रका विकृतिहरूलाई तीनवटा मुख्य
खण्डमा वर्गीकरण गरेर हेर्न सकिन्छ :
क) राजनीतीकरणको चपेटामा
ज्ञानको पीठ र 'मपाइँ' हरूको बिगबिगी
विश्वविद्यालय र शिक्षालयहरू ज्ञान उत्पादन
गर्ने थलो हुनुपर्नेमा राजनीतिक दलका भर्तीकेन्द्र बनेका छन् । उपकुलपतिदेखि
सामान्य कर्मचारीसम्म दलीय झण्डा बोकेको आधारमा नियुक्त हुने परिपाटीले शिक्षाको
मेरुदण्ड नै भाँचिदिएको थियो । श्रीमद्भागवतमा गुरुको स्थान भगवान्भन्दा पनि माथि
राखिएको छ,
किनकि गुरुले विवेक दिन्छ । तर आजका कतिपय 'आधुनिक
गुरुहरू' विश्वविद्यालयको कक्षाकोठामा भन्दा बढी दलका नेताको
क्वार्टरमा हाजिर लगाउन व्यस्त देखिए ।
पछिल्लो समय राजनीतिक हस्तक्षेप र दलीय
भागबन्डाको यो फोहोरलाई सफा गर्ने केही सराहनीय र दह्रो प्रयासहरू त सुरु भएका छन्, नेतृत्व
तहबाट नीतिगत रूपमा कडाइ पनि गर्न खोजिएको छ । तर विडम्बना ! व्यवस्था बदल्न खोजिए पनि शैक्षिक संस्थाहरूको
आन्तरिक 'अवस्था' अझै पूर्ण रूपमा
बदलिएको छैन । किनभने, हिजो त्यही दलीय फेरो समातेर, चोर बाटोबाट भित्र छिरेका कतिपय 'मपाइँ' (अहङ्कारी र छद्म-विद्वान्) हरू अझै पनि त्यहीँ भित्रै बसेर रजगज गरिरहेका
छन् ।
आफैँलाई बौद्धिक विलासिताको शिखरमा राख्ने, तर
व्यावहारिक रूपमा शून्य र नैतिक रूपमा स्खलित भएका यी 'मपाइँ'
हरू जबसम्म शैक्षिक संस्थाहरूबाट किनारा लाग्दैनन्, तबसम्म माथिल्लो व्यवस्था वा नेतृत्व फेरिए पनि शिक्षालयहरूको आत्मा
फेरिने छैन । चोर बाटोबाट छिरेकाहरूले कहिल्यै पनि सोझो बाटो हिँड्ने क्षमता
राख्दैनन् । जब शिक्षक वा प्रशासक आफैँ भित्रैदेखि वैचारिक 'भरौटे'
र दम्भी छ, उसले विद्यार्थीलाई कसरी स्वतन्त्र
चिन्तन, स्वावलम्बन र वास्तविक विवेक सिकाउन सक्छ ?
ख) "क्या आप अपने नाम
के आगे डॉक्टर लगाना चाहते हैं ? "
अचेल त बौद्धिकताको बजारमा अर्को एउटा नयाँ र
भद्दा नाटक मञ्चन भइरहेको छ । सामाजिक सञ्जाल स्क्रोल गर्दा एउटा खुल्ला र
लज्जास्पद विज्ञापन भेटिन्छ—"क्या आप अपने नाम के आगे डॉक्टर लगाना
चाहते हैं ? हाँ,
तो नीचे दिए गए नंबर पे अभी कॉल करें ।" (के तपाईं
आफ्नो नामको अगाडि डाक्टर लेख्न चाहनुहुन्छ ? हो भने तलको नम्बरमा अहिल्यै फोन
गर्नुहोस्) । यो कुनै साबुन वा डिटर्जेन्ट पाउडरको विज्ञापन होइन, यो त मानव चेतनाको सर्वोच्च प्राज्ञिक उपाधि 'विद्यावारिधि'
(PhD) को सेल मेला हो !
अनुसन्धान र साधनाको कठीन बाटो हिँड्न नसक्ने
यताका केही धुर्तहरूले पारिपट्टिका त्यस्ता 'झोला विश्वविद्यालय'
(Fly-by-night Universities) लाई साढे तीन लाख भारु 'दक्षिणा' चढाउँछन् । अनि कहिल्यै पुस्तकालयको ढोका
नलगाएका, एउटा पनि अनुसन्धान पत्र नलेखेका र कुन शोध प्रबन्ध
(Thesis) मा काम गरेको हो भन्ने समेत पत्तो नभएका महाशयहरूको
घरमा कुरियरको माध्यमबाट 'डाक्टर' को
प्रमाणपत्र आइपुग्छ । अवस्था यति सम्म दुरुह र हाँसोउठ्दो छ कि, ती स्वघोषित डाक्टरसाबहरूलाई हतार-हतारमा आफूले कुन विश्वविद्यालयबाट
पीएचडी किनेको हो भन्ने नाम समेत याद हुँदैन ! द्य
विडम्बनाको पराकाष्ठा त तब हुन्छ, जब यस्तै
कुरियरका 'सपिङ डाक्टर' हरू र
छद्म-विद्वानहरू विभिन्न चोर बाटो र दलीय सेटिङबाट विश्वविद्यालय छिर्छन् र नयाँ
पुस्तालाई अध्यापन गराउन थाल्छन् । जसले ज्ञानको 'ज' सम्म बुझ्न साधना गरेको छैन, जसको प्राज्ञिक धरातल
साढे तीन लाखको कागजको टुक्रामा टिकेको छ, उसले कक्षाकोठामा
छिरेर विद्यार्थीलाई के शिक्षा देला ? तिनले उत्पादन गर्ने "QUALITY
EDUCATION" को 'क्वालिटी' कस्तो होला ? यो त एउटा अन्धोले अर्को अन्धोलाई बाटो देखाए जस्तै हो, जहाँ दुवैको गन्तव्य अन्ततः खाल्डो नै हुन्छ ।
ग) अहंकारको नयाँ ओखली र लोकसेवाको अपमान
यी कुरियरका 'सपिङ
डाक्टर' हरूमा ज्ञानको गहिराइ त हुँदैन, तर नक्कली सर्टिफिकेटको बलमा पलाएको अहंकार भने सगरमाथाभन्दा अग्लो हुन्छ ।
यस्ता छद्म-विद्वानहरूको मानसिक धरातल यति कुरुप देखिन्छ कि, उनीहरू आफूबाहेक संसारमा अरू कसैलाई जान्ने, चलाख र
बुझ्ने नै ठान्दैनन् । उनीहरूको नजरमा वर्षौंसम्म पुस्तकालयमा घोटिएर साँचो
अनुसन्धान गर्ने वास्तविक साधकहरू 'मूर्ख' हुन्, किनकि तिनले सजिलो बाटोबाट डिग्री किन्न
जानेनन् !
यो अहंकारको सबैभन्दा
भद्दा रूप तब प्रकट हुन्छ,
जब यी 'कागजी डाक्टरहरू' राज्यको कठोर परीक्षा प्रणाली पार गरेर आएका योग्य राष्ट्रसेवकहरूमाथि
खनिन्छन् । दिनरात मेहनत गरेर, लोकसेवा पास गरेर आएका देशका
सक्षम अधिकृत र उपसचिवहरूलाई तिनले निकै तल्लो स्तरमा झरेर हेप्ने गर्छन् ।
उनीहरूको थेगो नै हुन्छ—"ज्याबो कुन खोलाको गहिराइ कति हो, कुन पहाडको उचाइ
कति हो, वा कुन ताल कुन जिल्लामा पर्छ भन्ने चारवटा सामान्य
ज्ञान घोकेर लोकसेवा पास गरेका त हुन् नि ! यिनीहरूसँग केको प्राज्ञिक चेतना हुनु?"
विकृतिको पराकाष्ठा: साढे तीन
लाखमा 'डाक्टर' को ट्याग किन्नेहरूले, देशको नीति-निर्माण तह चलाउने अधिकृत र उपसचिवहरूको बौद्धिकतालाई 'खोलाको गहिराइ र पहाडको उचाइ' को संकुचित कसीमा
नाप्ने धृष्टता गर्छन् ।
तर ती 'किनिएका
विद्वान' हरूलाई यो थाहा छैन कि, सामान्य
ज्ञान कण्ठ गर्नु र चोर बाटोबाट प्रमाणपत्र सपिङ गर्नुमा आकाश-जमिनको फरक छ ।
लोकसेवा पास गर्नेहरूले कमसेकम आफ्नो सामर्थ्य, अनुशासन र
योग्यता प्रमाणित गरेर पद हासिल गरेका हुन्छन् । तर, यी झोला
विश्वविद्यालयका उत्पादनहरूले भने दलीय सेटिङ र चोर बाटोको फेरो समातेर
विश्वविद्यालयमा भित्र छिर्ने र नयाँ पुस्ताको भविष्यमाथि खेलबाड गर्ने लाइसेन्स
मात्र पाएका हुन् । जसको प्राज्ञिक जग नै साढे तीन लाखको कागजको टुक्रामा अडिएको छ,
उसले प्रणाली चलाउनेहरूलाई पाठ पढाउन खोज्नु एउटा अन्धोले आँखा
देख्नेलाई बाटो सिकाउन खोज्नु जस्तै हाँसोउठ्दो प्रहसन हो ।
घ) व्यापारीकरण, वर्गीय
खाडल र प्रतिभा पलायनको विभीषिका
शिक्षा मौलिक हक भनिएको छ, तर
व्यवहारमा यो सबैभन्दा महँगो विलासिताको वस्तु बनेको छ । सरकारी विद्यालयहरूको
दयनीय अवस्था र निजी विद्यालयहरूको लुटतन्त्रले समाजमा दुईवटा वर्ग जन्माएको
छ—एउटा 'हुनेखानेको वर्ग' जसले डलरमा
सपना देख्छ, र अर्को 'हुँदाखानेको वर्ग'
जो सर्टिफिकेट हातमा लिएर खाडीको घाममा देशको रेमिट्यान्स धान्न
बाध्य छ । यो कस्तो शिक्षा नीति हो जसले आफ्नै देशका नागरिकहरूबीच यति ठूलो वर्गीय
खाडल निर्माण गर्छ ?
कक्षा १२ को नतिजा आउनु र त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्ट बोकेर लाइन लाग्नु आज पर्यायवाची जस्तै
भइसकेको छ । युवा पुस्तामा देशप्रति न त कुनै आशा बाँकी छ, न त यो शिक्षा
प्रणालीप्रति कुनै भरोसा । हाम्रो शिक्षाले देशभक्त, स्वावलम्बी
र सेवक नागरिक निर्माण गर्ने उद्देश्य राखेको थियो, तर यसले
त केवल 'पासपोर्ट र भिसा' का
आकांक्षीहरू मात्र उत्पादन गर्यो । आफ्नै देशमा सम्भावना नदेख्ने, आफ्नै माटोमा पसिना बगाउन र सेवा गर्न लाज मान्ने, तर
विदेशको गल्लीमा श्रम गर्न गौरव गर्ने मानसिकता यो शिक्षाले दियो । यो भन्दा ठूलो
नीतिगत र व्यावहारिक असफलतातर्फ अरू के हुन सक्छ ?
५. दार्शनिक समाधान :
भागवतको सन्देश र उत्तरदायी नागरिकको पुनर्जन्म
श्रीमद्भागवतको मूल मर्म के हो भने, ज्ञान तब
मात्र सार्थक हुन्छ जब त्यसले मानिसलाई बन्धनबाट मुक्त गर्छ—"सा विद्या या विमुक्तये" । तर आजको शिक्षाले मानिसलाई अहंकार, लोभ, र स्वार्थको नयाँ बन्धनमा बाध्ने काम गरिरहेको छ ।
श्रीमद्भागवतमा एउटा सुन्दर प्रसङ्ग छ, जहाँ
भनिएको छ कि असत्य, कपट र अहङ्कारको जगमा उभिएको मानिसले
समाजलाई केवल विनाश तर्फ लैजान्छ । अबको निकास कहाँ छ त ? हामीले कसरी यो शैक्षिक विकृतिको
डढेलोलाई निभाउने ? यसका
लागि हामीले पुनः राजा पृथु र भक्त प्रह्लादको दर्शनलाई आधुनिक शिक्षा नीतिमा
मिसाउनै पर्छ ।
·
ज्ञान र कर्मको अद्वैत (Integration of Knowledge
and Action) : पाठ्यक्रम यस्तो हुनुपर्छ जसले विद्यार्थीलाई खेतको माटो छाम्न, वनस्पति चिन्न, र आफ्नै हातले श्रम गर्न सिकाओस् ।
जबसम्म शिक्षाले श्रम र सेवालाई सम्मान गर्न सिकाउँदैन, तबसम्म
स्वावलम्बन र वास्तविक 'प्रगति' केबल
निबन्धको विषय मात्र बनिरहनेछ ।
·
नैतिकता र मूल्यको पुनर्स्थापना (Wisdom and Virtue) : प्राविधिक
रूपमा जतिसुकै दक्ष भए पनि यदि व्यक्तिमा नैतिक चेतना र समाजप्रति सदाचारको भाव
छैन भने त्यो समाजका लागि घातक हुन्छ । गेटमा लेखिएको "Wisdom, Virtue, Progress" र "Leave to serve" लाई
साइनबोर्डबाट निकालेर विद्यार्थीको मस्तिष्क र चरित्रमा स्थापित गरिनुपर्छ,
ताकि ऊ देश र समाजप्रति जबाफदेही बनोस् ।
·
प्राज्ञिक शुद्धीकरण (Academic Purging) : राजनीतिक
तहमा सुरु भएको सुधारको आँधीलाई अब विश्वविद्यालयका कुना-कुनासम्म पुर्याउनुपर्छ
। हिजो दलीय आवरणमा वा साढे तीन लाखको 'कुरियर पीएचडी'
को बलमा भित्र छिरेर 'विद्वत्ताको मपाइँत्व'
प्रदर्शन गरिरहेका परजीवीहरूलाई कडा स्क्रिनिङ र योग्यताको कडा
मापदण्डद्वारा किनारा लगाउनै पर्छ । सफाइ केवल आँगनको गरेर हुँदैन, कोठाभित्र लुकेका फोहोरलाई पनि बढार्नुपर्छ ।
६. निष्कर्ष :
ब्युँझनुपर्ने बेला
नेपालको शिक्षा क्षेत्रको वर्तमान अवस्था
केबल व्यवस्थापकीय कमजोरी मात्र होइन, यो त एउटा गम्भीर सांस्कृतिक
र दार्शनिक संकट हो । चम्किला नारा र विज्ञापनको भ्रमजालबाट निस्किएर हामीले
शिक्षाको असली आत्मालाई पहिचान गर्नैपर्छ ।
श्रीमद्भागवतले सदियौँ पहिले दिएको
चेतना—व्यवहारिकता,
नैतिकता, सामाजिक उत्तरदायित्व, र स्वावलम्बन—आजको २१ औँ शताब्दीको 'ग्लोबल सिटिजन'
का लागि झन् बढी आवश्यक भएको छ । हामीलाई त्यस्तो शिक्षा चाहिएको हो,
जसले सर्टिफिकेट मात्र दिँदैन, संकटसँग जुध्ने
सामर्थ्य, विवेक र लोक-सेवाको सच्चा भाव दिन्छ । जसले विदेश
पलायन हुने राहदानी मात्र बनाउँदैन, स्वदेशमै पसिना बगाउने र
राष्ट्रको सेवा गर्ने संकल्प दिन्छ ।
विद्यालयका होर्डिङ बोर्डमा लेखिएका चम्किला
अङ्ग्रेजी नाराहरूले होइन,
विद्यार्थीको आँखामा चम्किने देशभक्ति र ओठमा झल्किने मानवीय
संस्कारले मात्र देशको भविष्य बदलिन सक्छ । नाराको बजारबाट निस्किएर कर्मको
मैदानमा नउत्रिएसम्म र शैक्षिक संस्थाभित्र लुकेका 'प्राज्ञिक
परजीवी' हरूको पूर्ण अन्त्य नगरेसम्म, हाम्रो
शिक्षा नीति 'प्रमाणपत्रको कुरुक्षेत्र' मा संवेदनाको मलामी गइरहनेछ । अब पनि नब्युँझने हो भने, आउने पुस्ताले हामीलाई केबल साक्षर त भन्नेछ, तर
विवेकी र सेवक कहिल्यै मान्ने छैन ।
Comments
Post a Comment