Academic Labeling and Educational Transformation

 

प्राज्ञिक लाञ्छना र शैक्षिक रूपान्तरण

Academic Labeling and Educational Transformation

लेखक: भागवत देव भट्ट

लेखसार (Abstract)

नेपालको विद्यालय शिक्षा प्रणाली (विशेष गरी कक्षा ८ देखि १२ सम्म) वर्तमान समयमा गम्भीर बहुआयामिक सङ्कटबाट गुज्रिरहेको छ । शिक्षाको मूल ध्येय 'ज्ञान, सीप र संस्कार' आर्जन गर्नु हुनुपर्नेमा आधुनिक शैक्षिक संस्थाहरू केवल 'उच्च जीपिए (GPA) खरिद–बिक्री गर्ने बजार' का रूपमा परिणत हुँदै गएका छन् । उच्च अकादमिक अङ्क ल्याउने विद्यार्थीलाई मात्र पुरस्कृत गर्ने र औसत वा कम अङ्क ल्याउने सिर्जनशील विद्यार्थीलाई मूलधारबाट पाखा लगाउने कलेजहरूको व्यापारिक रणनीतिले विद्यार्थीको मानसपटलमा गम्भीर संवेगात्मक चोट (Emotional Trauma) पुर्‍याइरहेको छ ।

यस आलेखमा समाजशास्त्र र मनोविज्ञानका सिद्धान्तहरूका आधारमा यस समस्याको जरो केलाउँदै, परिवार, समाज र विद्यालयको त्रिकोणात्मक दुष्चक्रलाई उजागर गरिएको छ । साथै, पूर्वीय महाकाव्य रामायणको 'जाम्बवान र हनुमान' प्रसङ्गलाई ढाँचा मान्दै, कुनै थप आर्थिक भारबिना विद्यालय तहमा तत्काल लागू गर्न सकिने 'साप्ताहिक प्रस्तुतीकरण', 'अभिभावक परामर्श' 'बहुआयामिक मूल्याङ्कन (भाइभा)' जस्ता व्यावहारिक समाधानहरू प्रस्तुत गरिएको छ, जसले डिजिटल लत (Mobile Addiction) लाई प्राज्ञिक रूपान्तरणमा बदल्न सहयोग पुर्‍याउनेछ ।

१. पृष्ठभूमि र समस्याको उठान

शिक्षा मानव जीवनलाई सभ्य, सुसंस्कृत, चिन्तनशील र आत्मनिर्भर बनाउने सबैभन्दा शक्तिशाली माध्यम हो । तर, २१ औँ शताब्दीको नेपाली शिक्षा प्रणाली, विशेष गरी निजी तथा संस्थागत विद्यालय र कलेजहरू, एउटा सङ्कुचित र बजारमुखी घेराभित्र कैद भएका छन् । त्यो घेरा हो— ग्रेड सिटमा कोरिने अक्षराङ्क वा प्राज्ञिक अङ्क (GPA)

आज कलेजहरूमा कुन विद्यार्थीले कति ज्ञान पायो, उसमा कस्तो मानवीय मूल्य विकास भयो वा उसले के व्यावहारिक सीप सिक्यो भन्ने कुरा सर्वथा गौण बन्दै गएको छ । बजारमा कुन कलेजले कति सङ्ख्यामा A वा A+ 'उत्पादन' गर्न सक्यो र त्यसलाई विज्ञापनको हतियार बनाएर आगामी शैक्षिक सत्रमा कति 'नयाँ ग्राहक (विद्यार्थी)' तान्ने व्यावसायिक साम्राज्य खडा गर्न सक्यो भन्ने अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । कलेजहरूको यो व्यापारिक होडबाजीले गर्दा सिर्जनशील तर औसत अङ्क ल्याउने विद्यार्थीहरू मूलधारबाटै ओझेलमा परेका छन् ।

परीक्षाको ३ घण्टाको सीमित अवधि र कण्ठ गर्ने क्षमताका आधारमा गरिने 'मानकीकृत मूल्याङ्कन' (Standardized Testing) ले विद्यार्थीको वास्तविक बौद्धिकता, नेतृत्व गुण र नवीन सोचको भ्रूणहत्या गरिरहेको छ । यस विभेदकारी प्रवृत्तिले गर्दा बहुसङ्ख्यक विद्यार्थीहरूमा "म त साँच्चै नै कमजोर रहेछु, मेरो त मूल्य नै कम रहेछ" भन्ने भयानक आत्मग्लानि र मानसिक अवसाद विकास गराइरहेको छ ।

२. लाञ्छनीकरणको समाजशास्त्र र मनोविज्ञान

शैक्षिक संस्थाहरूले सृजना गरेको यो विभेदकारी प्रणालीले विद्यार्थीको मानसिक स्वास्थ्य र सामाजिक पहिचानमा पार्ने असरलाई बुझ्न समाजशास्त्र र मनोविज्ञानका तीनवटा विशिष्ट पारिभाषिक सिद्धान्तहरूलाई बुझ्नु जरुरी छ:

२.१. लाञ्छनाको सिद्धान्त (Labeling Theory)

समाजशास्त्रीय दृष्टिकोणमा 'लेबलिङ थ्योरी' ले यो व्याख्या गर्छ कि कसरी समाज वा शक्तिशाली संस्थाहरूले व्यक्तिलाई दिने 'ट्याग' (Tag) वा उपाधिले उसको आत्मपहिचान (Self-Identity) निर्धारण गर्छ । जब कलेजहरूले बढी जीपिए ल्याउनेलाई "प्रतिभावान/मेधावी" र कम ल्याउनेलाई "कमजोर/नालायक" भनेर वर्गीकरण गर्छन्, तब कम अङ्क ल्याउने विद्यार्थीले त्यो नकारात्मक लाञ्छनालाई बिस्तारै आफ्नो अकाट्य पहिचान मान्न थाल्छ । ऊ आफैँलाई भित्रैदेखि "म कमजोर नै हुँ, मैले जति गरे पनि केही हुन्न" भनी स्विकार्न विवश हुन्छ । यो प्रक्रियाले विद्यार्थीको मौलिक पहिचान र आत्मविश्वासलाई प्रारम्भिक चरणमै ध्वस्त पारिदिन्छ ।

२.२. स्वतःसिद्ध भविष्यवाणी (Self-Fulfilling Prophecy)

यो मनोविज्ञानको एउटा निकै गम्भीर र घातक अवस्था हो । जब एउटा किशोरावस्थाको विद्यार्थीले समाज र विद्यालयले आफूमाथि लगाएको नकारात्मक लाञ्छनालाई सत्य मान्छ, तब उसको मस्तिष्कले प्रयास गर्न नै छोडिदिन्छ । उसको सोचाइमा एउटा अलिखित नियम बस्छ— 'जति मिनेट पढे पनि वा समय खेर फाले पनि म त कमजोर नै रहने हो, किन दुःख गर्नु ?'

अन्ततः उसको यो प्रयासविहीन सोचाइ र निष्क्रियताका कारण ऊ भविष्यमा साँच्चिकै अकादमिक रूपमा कमजोर बन्न पुग्छ । अर्थात्, कलेज र समाजले गरिदिएको नकारात्मक भविष्यवाणी विद्यार्थीको आफ्नै आत्मविश्वासको क्षयीकरणका कारण साँचो साबित हुन जान्छ ।

२.३. हीनताबोध र संवेगात्मक चोट (Inferiority Complex & Emotional Trauma)

मनोवैज्ञानिक अल्फ्रेड एड्लरका अनुसार, जब व्यक्तिले आफूलाई सँगैका साथीहरूभन्दा सधैँ तल्लो स्तरको, असफल र अयोग्य महसुस गर्छ, तब उसमा 'हीनताबोध' (Inferiority Complex) को विकास हुन्छ । कलेजहरूले केवल प्राज्ञिक अङ्कलाई मात्र प्रतिष्ठाको विषय बनाउँदा, कम अङ्क ल्याउने विद्यार्थीको आत्मसम्मान (Self-Esteem) समाप्त हुन्छ । यो एउटा यस्तो गहिरो संवेगात्मक चोट (Emotional Trauma) हो, जसले विद्यार्थीलाई डिप्रेसन, एन्जाइटी र कतिपय अवस्थामा आत्मघाती निर्णयतर्फ समेत धकेल्ने गर्दछ ।

३. रामायणको प्रासङ्गिक कडी: हीनताबोध र 'जाम्बवान मोडल'

पूर्वीय दर्शन र महाकाव्य रामायणमा यो लाञ्छनीकरण र आत्मविश्वास गुम्ने अवस्थाको एउटा निकै सुन्दर, मनोवैज्ञानिक र रूपकात्मक प्रसङ्ग छ । बाल्यकालमा पाएको श्रापका कारण पवनपुत्र हनुमानजीले आफ्नो वास्तविक शक्ति र असीमित क्षमता पूर्ण रूपमा बिर्सिएका थिए । जब सीता माताको खोजीमा जाँदा विशाल समुद्र पार गर्नुपर्ने कठोर चुनौती आयो, तब हनुमानजी "म यो गर्न सक्दिनँ, म त सामान्य छु, असमर्थ छु" भन्दै समुद्रको किनारमा अन्योल र हीनताबोधको अवस्थामा शान्त बसिरहेका थिए । यो ठ्याक्कै आज कलेजले 'कमजोर' भनी लेबल लगाउँदा आत्मविश्वास गुमाएर कक्षाकोठाको अन्तिम कुनामा थन्किएका विद्यार्थीको अवस्था जस्तै हो ।

तर, त्यो वानर समूहमा जाम्बवान हुनुहुन्थ्यो, जसले हनुमानजीको भित्री सुसुप्त क्षमतालाई चिन्नुहुन्थ्यो । जाम्बवानले हनुमानजीको नजिकै गएर उनको शक्तिको स्मरण गराउँदै भन्नुभयो:

"कवन सो काज कठिन जग माहीं, जो नहिं होइ तात तुम्ह पाहीं ।"

(अर्थात्, हे हनुमान! यो संसारमा त्यस्तो कस्तो कठिन कार्य छ, जो तिमीले गर्न सक्दैनौ ?)

जाम्बवानको यो सकारात्मक सबलीकरण (Positive Reinforcement) र हौसला पाउने बित्तिकै हनुमानजीको आत्मबल यसरी जागृत भयो कि उनले तत्कालै आफ्नो विशाल रूप धारण गरी एकै उडानमा असम्भव देखिने समुद्र पार गरे ।

हाम्रो आधुनिक शिक्षा प्रणालीमा शिक्षाविद्, शिक्षक र अभिभावकको भूमिका पनि यही 'जाम्बवान' को जस्तै हुनुपर्छ । जीपिए (GPA) को समुद्र देखेपछि तर्सिएर किनारमा बसेका विद्यार्थीहरूलाई कमजोर भन्दै थप लाञ्छना लगाउने होइन, उनीहरूभित्र लुकेको विशिष्ट बहुबौद्धिकताको 'जाम्बवान' बनेर पहिचान गराइदिने हो भने प्रत्येक विद्यार्थीले जीवनको जुनसुकै परीक्षाको समुद्र पनि सहजै पार गर्न सक्छन् ।

४. समस्याका कारक तत्त्वहरू: त्रिकोणात्मक दुष्चक्र (The Vicious Triangle)

यो लाञ्छनीकरण र विद्यार्थीको मानसिक संहार गर्ने खेल केवल कलेजको चार पर्खालभित्र मात्र सीमित छैन । यसको पछाडि एउटा संस्थागत र सामाजिक दुष्चक्र (Vicious Cycle) क्रियाशील छ, जसका तीनवटा मुख्य खम्बाहरू निम्नबमोजिम छन्:

४.१. पारिवारिक तुलनाको पासो (The Comparison Trap)

घर बालकको पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक हुन् । तर, आजभोलि घर नै सबैभन्दा पहिलो 'मानसिक तनाव केन्द्र' बन्न थालेको छ । अभिभावकहरू आफ्ना सन्तानको विशिष्ट क्षमता, रुचि र बहुबौद्धिकता (Multiple Intelligences) लाई बुझ्नुको साटो छिमेकीका छोराछोरी वा साथीको जीपिएसँग तुलना गर्छन् । "तँ त लद्दु नै होस्, उसलाई हेर त कति प्रतिशत ल्यायो" भनी घरभित्रै पहिलो लाञ्छना लगाइन्छ । आजको समाजमा अभिभावकको माया र सम्मान समेत बच्चाको रिपोर्ट कार्डको ग्रेडमा निर्भर (Conditional Love) हुन थालेको छ, जसले बच्चालाई घरभित्रै असुरक्षित र एक्लो बनाउँछ ।

४.२. सामाजिक 'चिया पसल' न्यायपीठ (The Chautari Judiciary)

हाम्रो नेपाली समाजको एउटा कुरुप पाटो भनेको अरूको घरको मूल्याङ्कन गरेर बस्नु हो । हाम्रो बैतडेली भाषामा एउटा निकै प्रसिद्ध र मार्मिक उखान छ:

"लात्ती हाण्ण्या खुट्टो समा, मुट्की हाण्ण्या हात समा, कुरडी गद्द्यान्का कि समा ?"

(अर्थात्: लात्ती हान्नेको खुट्टो समाऊ, मुक्का हान्नेको हात समाऊ तर कुरा काट्ने/बोल्नेको के समाउनु ?)

चिया पसल, चौतारी, चोक वा सामाजिक जमघटहरूमा "तिम्रो छोरा/छोरीको कति आया] ? मेरोको त यति A+ आयो" भन्दै ग्रेडलाई सामाजिक प्रतिष्ठाको विषय (Status Symbol) बनाइन्छ । कसैको मुख थुन्न नसकिने भएकाले, समाजले कम अङ्क ल्याउने विद्यार्थी र उसका अभिभावकलाई यसरी हेर्छ र आलोचना (Social Criticism) गर्छ, मानौँ उनीहरूले कुनै अक्षम्य अपराध गरेका हुन् । यो सामाजिक दबाबले विद्यार्थीलाई मानसिक रूपमा झन् विक्षिप्त बनाउँछ ।

४.३. विद्यालय/कलेजको डिजिटल विज्ञापन र भाइरल संस्कृति (The Wallpaper Culture)

यो शैक्षिक व्यापारीकरणको सबैभन्दा भ्रामक र घातक पाटो हो । A वा A+ ल्याएका विद्यार्थीहरूलाई शैक्षिक संस्थाहरूले आफ्नो 'ब्रान्डेड उत्पादन' वा विज्ञापनको साधन (Commodities) बनाउँछन् । ठुल्ठुला होर्डिङ बोर्ड, विद्यालयका भित्ता (Wallpaper) र फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालहरू उनीहरूको फोटोले भरिन्छन् ।

"Congratulations" भन्दै भ्युज, लाइक र कमेन्ट बटुल्ने यो होडबाजीले एउटा कुरा स्पष्ट पार्छ— विद्यालयहरूका लागि ती विद्यार्थीहरू 'प्रतिभा' मात्र होइनन्, बरु आगामी शैक्षिक सत्रमा नयाँ ग्राहक तान्ने 'मार्केटिङ टुल' हुन् । जब एउटा औसत वा कम जीपिए ल्याएको विद्यार्थीले आफ्नै कलेजको पेजमा साथीहरूको फोटो भाइरल भएको र आफू कतै नदेखिएको पाउँछ, तब उसको बाँकी रहेको अलिकति आत्मविश्वास पनि सामाजिक सञ्जालका 'लाइक' हरूले निलेर फालिदिन्छन् ।

५. प्रस्तावित रूपान्तरणकारी मोडेल र कार्ययोजना (The Proposed Action Plan)

समाजको मुख थुन्न वा रातारात कलेजहरूको व्यापारिक मानसिकता बदल्न कानुनी नियमनले मात्र सम्भव छैन । यसका लागि विद्यालय तहबाटै प्रक्रियागत र व्यावहारिक परिवर्तन ल्याउनु जरुरी छ । विशेष गरी कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू किशोरावस्था (Adolescence) को सबैभन्दा संवेदनशील चरणमा हुने भएकाले यो मोडेल यस उमेर समूहमा तत्काल लागू गरिनुपर्छ ।

यो योजनाको सबैभन्दा बलियो पक्ष के हो भने, यसलाई कार्यान्वयन गर्न कुनै थप आर्थिक भार वा अतिरिक्त जनशक्तिको आवश्यकता पर्दैन, केवल व्यवस्थापकीय दृढता र प्राज्ञिक इच्छाशक्ति भए पुग्छ ।

५.१. त्रिकोणात्मक सम्बन्ध र अभिभावक सचेतना (Parent-Teacher Counselling)

कक्षा १ देखि १२ सम्म नै (विशेष गरी ८-१२ मा) हरेक विद्यालयले वर्षमा कम्तीमा ३ देखि ५ पटकसम्म अनिवार्य रूपमा 'Parents Meet' र सचेतना परामर्श (Counselling) सञ्चालन गर्नुपर्छ ।

·         कार्यान्वयन विधि: सबै अभिभावकलाई एकैचोटि बोलाएर भीडभाड गर्नुको साटो कक्षागत वा रोल नम्बर (जस्तै: १–१५ सम्म) अनुसार विभाजन गरी हप्ताको एउटा निश्चित दिन (जस्तै: शुक्रबार दिउँसो) वा लचिलो समय (कामकाजी अभिभावकका लागि बिहान ८–१० बजे) तोक्नुपर्छ । वैदेशिक रोजगारीमा रहेका अभिभावकलाई जुम (Zoom) वा भिडियो कलमार्फत जोड्न सकिन्छ ।

·         फाइदा: यसले अभिभावकलाई "तपाईंको बच्चाको जीपिए मात्र सबैथोक होइन, उसको विशिष्ट क्षमता यो हो" भनी बुझाउन मद्दत गर्छ, जसले गर्दा घरभित्र हुने 'तुलनाको संस्कृति' अन्त्य भई सामाजिक चौतारीको दबाब चिर्न अभिभावक स्वयं मानसिक रूपमा बलियो बन्छन् ।

५.२. साप्ताहिक प्रस्तुतीकरण संस्कृति (Weekly Classwise Presentation)

पढाइलाई केवल शिक्षकले उपदेश दिने र विद्यार्थीले सुन्ने एकतर्फी प्रक्रियाबाट मुक्त गरी विद्यार्थीमुखी र प्रयोगात्मक बनाउनुपर्छ ।

·         कार्यान्वयन विधि: हरेक हप्ताको शुक्रबार अन्तिम दुई घण्टी कक्षा ८ देखि १२ का प्रत्येक सेक्सनमा अनिवार्य रूपमा 'Classwise Presentation' गराउनुपर्छ । यसमा हरेक विद्यार्थीको पालैपालो मञ्चमा आउने पालो सुनिश्चित हुनुपर्छ ।

·         फाइदा: यसले परीक्षामा कम अङ्क ल्याउने तर राम्रो बोल्न वा व्यावहारिक रूपमा बुझाउन सक्ने विद्यार्थीलाई पनि मञ्च दिन्छ । यसबाट विद्यार्थीमा सकारात्मक सबलीकरण (Positive Reinforcement Culture) को विकास हुन्छ र सानै उमेरदेखि भीडको अगाडि उभिएर निर्धक्कसँग बोल्ने आत्मविश्वास (Public Speaking Skills) को जग बस्छ ।

५.३. बहुआयामिक प्रतिपुष्टि र मासिक 'VIVA' प्रणाली (कक्षा ८–१२ विशेष)

किताब कण्ठ गरेर पाना भर्ने परम्परागत परीक्षा प्रणालीले माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीको उच्च बौद्धिक क्षमता (Higher-Order Thinking Skills) लाई मापन गर्न सक्दैन । तसर्थ, कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षण पद्धति (International Benchmarks) सँग जोड्न र उनीहरूलाई भविष्यको करियरका लागि तयार पार्न यो नवीन '३६०–डिग्री प्रतिपुष्टि मोडेल' आवश्यक छ ।

·         कार्यान्वयन विधि (मासिक कार्यतालिका):

महिनाको अन्तिम हप्तामा नियमित कक्षाकै समयलाई व्यवस्थापन गरी 'Monthly Capstone VIVA' आयोजना गरिनुपर्छ। यो मूल्याङ्कन प्रणाली निम्न तीनवटा अन्तर्राष्ट्रिय स्तरका प्राज्ञिक चरणहरूमा आधारित हुनेछ:

५.३.१. प्राज्ञिक रक्षा प्रणाली (Academic Defense with Subject Panel):

अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको 'Thesis Defense' को सङ्क्षिप्त रूप जस्तै, विद्यार्थीले महिनाभरि पढेका विषयहरूमध्ये कुनै एक विषयको एउटा विशिष्ट पाठ वा प्रोजेक्टमा आधारित भएर 'Subject Panel' (विषय शिक्षक र विषय संयोजक) को अगाडि आफ्नो विचार वा तर्क रक्षा (Defend) गर्नुपर्नेछ । यसले कण्ठ गर्ने बानीलाई पूर्ण रूपमा निरुत्साहित गरी 'आलोचनात्मक चेत' (Critical Thinking) को विकास गराउँछ ।

५.३.२. व्यावसायिक अन्तर्वार्ता र वृत्ति मार्गनिर्देशन (Professional Interview & Career VIVA with Leadership):

प्रिन्सिपल, कोअर्डिनेटर वा आमन्त्रित शैक्षिक विज्ञहरूको टोलीसँग विद्यार्थीको व्यक्तिगत साक्षात्कार हुनेछ । यसमा कर्पोरेट जगतको अन्तर्वार्ता (Corporate Interview) को ढाँचामा विद्यार्थीको सञ्चार सीप (Communication), समस्या समाधान गर्ने क्षमता (Problem Solving), र भावी करियरको मार्गचित्रबारे संवाद गरिन्छ। यसले गर्दा विद्यार्थी कक्षा १२ पास गर्दासम्म अन्तर्राष्ट्रिय बजार वा विश्वविद्यालयका लागि चाहिने अन्तर्वार्ता (Interview Facing Skills) मा पूर्ण रूपमा निपुण भइसक्छन् ।

५.३.३. विद्यार्थी-नेतृत्व सम्मेलन (VIVA with Parents - Student-Led Conference Model):

यस चरणमा शिक्षक केवल दर्शक र सहजकर्ता मात्र बन्छन् । ८ देखि १२ कक्षाका विद्यार्थीहरू परिपक्वतातर्फ उन्मुख हुने भएकाले, उनीहरू आफैँले आफ्नो बुबा-आमाको अगाडि उभिएर महिनाभरिको आफ्नो अकादमिक ग्राफ, कमजोरीहरू, र आगामी महिनाको कार्ययोजना (Academic Goals & Self-Evaluation Plan) स्लाइड वा प्रतिवेदनमार्फत प्रस्तुत गर्छन् ।

·         अन्तर्राष्ट्रिय स्तरका दुई नवीन व्यावहारिक खम्बाहरू (International Standard Integration):

o    डिजिटल र भौतिक पोर्टफोलियो (Digital Artifact Portfolio): कक्षा ८ देखि १२ सम्मका हरेक विद्यार्थीको आफ्नो एउटा व्यवस्थित 'पोर्टफोलियो' हुनेछ । महिनाभरि उनीहरूले गरेका उत्कृष्ट प्रोजेक्ट, रिसर्च पेपर वा सृजनात्मक कार्यहरूलाई यसमा राखिन्छ । भाइभाका दिन अभिभावकले बच्चाको मार्कसिट होइन, यो 'पोर्टफोलियो' को मूल्याङ्कन गर्छन् र यसैका आधारमा विद्यार्थीले भविष्यमा विदेशी विश्वविद्यालय वा छात्रवृत्तिका लागि 'Letter of Recommendation' 'Statement of Purpose' (SOP) तयार पार्न सक्छन् ।

o    उद्योग-अकादमिक लिङ्केज (Peer & Self-Assessment Matrix): अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विद्यार्थीले आफ्ना सहपाठीको प्रस्तुतीकरणलाई अङ्क दिने (Peer Review) र आफ्नो मूल्याङ्कन आफैँ गर्ने (Self-Assessment) प्रणाली विकास गरिन्छ, जसले उनीहरूमा व्यावसायिक निष्पक्षता (Professional Integrity) सिकाउँछ ।

·         व्यावहारिक फाइदा:

जब कक्षा ८ देखि १२ सम्मका किशोर-किशोरीहरूले घरमा गएर व्यावसायिक ढङ्गले भन्छन्— "मम्मी/बाबा, यो शुक्रबार स्कुलमा मेरो 'मन्थली क्यापस्टोन भाइभा' छ । म मेरो महिनाभरिको प्राज्ञिक पोर्टफोलियो र करियर प्रोग्रेस तपाईंहरूको अगाडि प्रस्तुत गर्दै छु । मेरो 'इभ्यालुएसन प्यानल' को मुख्य निर्णायक तपाईं नै हो, मेरो प्रेजेन्टेसन हेर्न आइदिनुस् न," तब व्यस्तभन्दा व्यस्त अभिभावक पनि आफ्नो बच्चाको यो परिपक्व, जिम्मेवार र अन्तर्राष्ट्रिय स्तरको रूप देख्न उत्सुक भएर विद्यालय आउनेछन् । यसले परम्परागत 'पेरेन्ट्स मिट' को नीरस वातावरणलाई एउटा जीवन्त प्राज्ञिक उत्सवमा बदलिदिन्छ ।

 

५.४. विज्ञापनमा प्रतिबन्ध र प्राज्ञिक गुणस्तरको स्वःस्फूर्त प्रचार

विद्यालयहरूले आफ्ना टपर विद्यार्थीहरूको फोटोलाई व्यापारिक विज्ञापनका लागि प्रयोग गर्ने घिनलाग्दो मानसिकतालाई राज्य र स्थानीय तहले नीतिगत रूपमै निरुत्साहित र प्रतिबन्ध गर्नुपर्छ ।

·         नीतिगत व्यवस्था: सरकारले कुनै पनि शैक्षिक संस्थालाई विज्ञापनका लागि टपर विद्यार्थीको तस्बिर सामाजिक सञ्जाल वा होर्डिङ बोर्डमा राख्न कानुनी रूपमै पूर्ण प्रतिबन्ध लगाउनुपर्छ ।

·         फाइदा: जब विज्ञापनमा विद्यार्थीको अनुहार बेच्न पाइँदैन, तब विद्यालयहरू सस्तो मार्केटिङ छोडेर आफ्नो वास्तविक 'प्राज्ञिक गुणस्तर' (Academic Quality) सुधार्न बाध्य हुनेछन् । यदि संस्थाले साँच्चै राम्रो शिक्षा र संस्कार दिएको छ भने, त्यसको प्रचार अभिभावक र समाजमार्फत 'आफसेआफ' (Word of Mouth) स्वतः भइहाल्छ ।

६. अतिरिक्त लाभ: डिजिटल लत (Mobile Addiction) को रचनात्मक रूपान्तरण

आजका अभिभावकहरूको सबैभन्दा ठुलो चिन्ता आफ्ना छोराछोरीमा मोबाइलको 'रील्स' (Reels) वा टिकटक हेर्ने लत बस्नु हो । यो प्रस्तावित प्रोजेक्टले यो गम्भीर समस्यालाई समेत रचनात्मक रूपमा हल गर्दछ (एक पन्थ दुई काज) ।

·         Dopamine Shift (मस्तिष्कको ध्यान परिवर्तन): रील्सले दिने क्षणिक र भ्रामक रमाइलो (Instant Dopamine) लाई यो प्रोजेक्टले कक्षाकोठाको वास्तविक प्रशंसा, ताली र अभिभावकको गर्विलो हेराइमार्फत वास्तविक आत्मसन्तुष्टि (Genuine Self-Esteem) मा बदलिदिन्छ ।

·         प्रविधिको सदुपयोग (Digital Literacy): हामी विद्यार्थीलाई डिजिटल युगमा मोबाइलबाट टाढा राख्न सक्दैनौँ, तर त्यसको दिशा परिवर्तन (Redirection) गर्न सक्छौँ । साप्ताहिक प्रेजेन्टेसन वा भाइभाका लागि विद्यार्थीले गुगलमा अनुसन्धान गर्नुपर्ने हुन्छ, एआई टुल वा शैक्षिक युट्युब भिडियोहरू हेर्नुपर्ने हुन्छ, पावरपोइन्ट स्लाइड वा पोस्टर डिजाइन गर्नुपर्ने हुन्छ । हिजोसम्म केवल मोबाइलमा अरूको 'सामग्री उपभोग' (Content Consume) गर्ने विद्यार्थी अब प्रविधिको सही प्रयोग गरी 'ज्ञान उत्पादन' (Content Create) गर्ने स्मार्ट सिकारुमा परिणत हुन्छ ।

·         प्राज्ञिक सोसल मिडिया प्रोफाइल: सामाजिक सञ्जालमा अर्थहीन भिडियो हालेर भाइरल हुन खोज्ने किशोर–किशोरीहरूले अब आफ्नो शैक्षिक प्रस्तुतीकरणका क्लिपहरू राखेर सोसल मिडियालाई समेत प्राज्ञिक र व्यावसायिक (Professional) बनाउन सिक्नेछन् ।

७. निष्कर्ष तथा सुझाव

शिक्षाको वास्तविक उद्देश्य "प्रतिस्पर्धा" गराएर विद्यार्थीहरूबीच वर्गीकरण र लाञ्छनीकरण गर्नु होइन, बरु प्रत्येक विद्यार्थीभित्र लुकेको अद्वितीय प्रतिभाको "रूपान्तरण" गर्नु हो । कलेजहरू 'जीपिए खरिद–बिक्री गर्ने बजार' बन्नुको साटो विद्यार्थीको बहुबौद्धिकता प्रस्फुटन गराउने 'उर्वर भूमि' बन्नैपर्छ ।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू भोलिको देशको नेतृत्व गर्ने प्रत्यक्ष तयारीमा रहेका जनशक्ति हुन् । उनीहरूलाई केवल 'अङ्क ल्याउने मेसिन' बनाउने कि जीवनका हरेक चुनौतीहरूको सामना गर्न सक्ने 'आत्मविश्वासी, दक्ष र प्रविधिमैत्री नागरिक' बनाउने ? रोजाइ शैक्षिक संस्थाहरू र राज्यको हो ।

तसर्थ, यस आलेखमा प्रस्तुत गरिएको 'साप्ताहिक प्रस्तुतीकरण, मासिक भाइभा र अभिभावक परामर्श' को त्रिकोणात्मक मोडेललाई प्रत्येक विद्यालयले आफ्नो तहबाट एउटा 'पाइलट प्रोजेक्ट' (नमुना परीक्षण) को रूपमा तुरुन्त लागू गर्नुपर्ने देखिन्छ । कम खर्च र शून्य अतिरिक्त जनशक्तिमा व्यवस्थापकीय दृढता र प्राज्ञिक इच्छाशक्ति नै नेपाली विद्यालय शिक्षा सुधारको सबैभन्दा व्यावहारिक र क्रान्तिकारी प्रस्थानविन्दु बन्न सक्छ ।

 

Comments