Completion Trap
शिक्षामा
'कम्प्लिसन ट्र्याप' (Completion Trap)
– भागवत देव भट्ट
पृष्ठभूमि
आधुनिक
मनोविज्ञान, व्यवहारवादी अर्थशास्त्र (Behavioral
Economics) र सङ्गठनात्मक व्यवहार (Organizational Behavior)
को क्षेत्रमा 'कम्प्लिसन ट्र्याप'
(Completion Trap) वा 'कार्य सम्पादन अन्धोपन'
एउटा यस्तो गम्भीर संज्ञानात्मक त्रुटि (Cognitive Error) हो, जहाँ मानव मस्तिष्कको सम्पूर्ण ध्यान कार्यको
गुणात्मक प्रभाव, अन्तर्य वा वास्तविक सिकाइ (Quality/Deep
Learning) मा भन्दा पनि जसरी भए पनि प्रक्रिया पूरा गर्ने वा कार्य 'सक्ने' (To complete) कुरामा मात्र केन्द्रित हुन्छ
। जब कुनै प्रणाली वा राष्ट्रको मूलधार यो पासोमा पर्छ, तब
त्यहाँ वास्तविक उत्पादकत्व (Productivity) र केवल छद्म
व्यस्तता (Hyper-activity) बीचको लक्ष्मणरेखा मेटिन्छ ।
आज
हाम्रो समग्र नेपाली शिक्षा प्रणाली—बाल्यकालको प्रारम्भिक कक्षादेखि उच्च
माध्यमिक र विश्वविद्यालय तहसम्म—यही कम्प्लिसन ट्र्यापको क्रूर सिकार भएको छ ।
नतिजास्वरूप, हाम्रा विद्यालय तथा विश्वविद्यालयहरूले बजारका
लागि 'प्रमाणपत्रधारी' त उत्पादन
गरिरहेका छन्, तर आधारभूत जीवनोपयोगी ज्ञान, आलोचनात्मक चेत (Critical Thinking) र व्यावहारिक
सीप भएका मनोवैज्ञानिक रूपमा सन्तुलित नागरिक उत्पादन गर्न पूर्णतः असफल भइरहेका
छन् ।
१.
जगैदेखि रोपिएको मनोवैज्ञानिक विउ: ३ वर्षको उमेर र 'होमवर्क' को सर्तयुक्त पासो
यो
समस्याको विउ माध्यमिक वा उच्च माध्यमिक तहमा होइन, बच्चा ३
वर्षको हुँदा—जतिबेला उसको मस्तिष्कको ९० प्रतिशत विकास भइरहेको हुन्छ र उसले खेल,
स्पर्श र कौतूहलताका माध्यमबाट संसार बुझ्नुपर्ने हो—त्यही बेला
रोपिन्छ । आधुनिक जीवनशैली, सहरीकरण र एकल परिवार (Nuclear
Family) का कारण आमा-बुवा दुवै जागिर वा व्यवसायमा व्यस्त हुँदा
विद्यालयहरूलाई सुरक्षित 'डे-केयर' वा 'बेबी सिटर' का रूपमा प्रयोग गर्ने सामाजिक बाध्यता
बढेको छ ।
यसै
परिवेशको फाइदा उठाउँदै संस्थागत विद्यालयहरूले समाजमा एउटा गलत र घातक भाष्य
स्थापित गरिदिएका छन्—"जसले धेरै गृहकार्य दिन्छ, त्यो स्कुल गुणात्मक हो ।" ३ वर्षको बच्चा, जसको
नैसर्गिक आवश्यकता खेलमा आधारित सिकाइ (Play-based learning) हो, उसको शारीरिक र मानसिक क्षमताभन्दा माथिको
गृहकार्यको भारी बोकाइन्छ । घरमा पुगेपछि आमा-बुवाले "पहिले होमवर्क सकाऊ (Complete
गर), अनि मात्र खेल्न वा मोबाइल चलाउन
पाउँछौ" भन्ने सर्तयुक्त
पुरस्कार (Conditional Reward Trap)
को नीति अपनाउँछन् भने स्कुलमा गृहकार्य नगर्दा अपमान र सजायको भय
देखाइन्छ ।
यसले
गर्दा बच्चाको कलिलो मस्तिष्कमा सानैदेखि एउटा स्थायी 'कन्डिसनिङ' (Psychological Conditioning) बस्छ—"अध्ययन
भनेको आनन्द होइन, सजाय जस्तै एउटा झन्झटिलो र जबरजस्ती
गर्नुपर्ने काम हो, जसलाई जसरी भए पनि हतार-हतार सिध्याएर
मात्र मानसिक मुक्ति पाइन्छ ।" यहींबाट बच्चा 'कम्प्लिसन
ट्र्याप' को स्थायी सिकार बन्छ । उसले ज्ञानका लागि होइन,
केवल 'सर्त पूरा गर्न' र
'भयबाट बच्न' पाना भर्न थाल्छ, जसले उसको स्वतःस्फूर्त सिक्ने चाहना (Intrinsic Motivation) लाई जीवनभरका लागि मारिदिन्छ ।
२.
कम्प्लिसन ट्र्यापका पछाडि लुकेको वैज्ञानिक तथ्य र हर्मोनल चक्र
यो 'काम सक्ने धुनको पासो' केवल एउटा सतही सामाजिक
विकृति मात्र होइन, यसका पछाडि गम्भीर मनोवैज्ञानिक र
न्युरो-वैज्ञानिक (Neurological) आधारहरू छन् । आधुनिक
मनोविज्ञानका स्थापित अनुसन्धानहरूले यसलाई यसरी स्पष्ट पारेका छन्:
·
हार्वर्ड
बिजनेस स्कूलको 'कम्प्लिसन बाइस' (Completion Bias) अध्ययन (२०१६): प्राध्यापक फ्रांसेस्का गिनो र
उनको टोलीले गरेको साढे दुई वर्ष लामो अनुसन्धानले प्रमाणित गरेको छ कि मानव
मस्तिष्कमा एउटा स्वाभाविक कमजोरी हुन्छ—जब काम वा समयको दबाब बढ्छ, मस्तिष्कले जटिल, दूरगामी र रणनीतिक महत्त्वका कामहरू
(जस्तै: गहिरो सिकाइ, कला वा सिर्जनशील लेखन) लाई पन्छाएर साना, सजिला र छिटो सकिने कामहरू रोज्छ । यसो गर्नुको मुख्य कारण के हो भने, साना
कामहरू फत्ते हुनासाथ मस्तिष्कको 'रिवार्ड सेन्टर' ले तत्काल 'डोपामाइन' (Dopamine) नामक
न्युरोट्रान्समिटर रिलिज गर्छ, जसले क्षणिक सन्तुष्टि दिन्छ
। विद्यालयहरूले गहन बुझाइ (Deep Learning) को झन्झटिलो र
लामो बाटो छोडेर गाइड सार्ने, कपी भर्ने वा परीक्षाका लागि
मात्र घोक्ने जस्ता 'सजिलै Complete हुने'
काम रोज्नु र रोज्न लगाउनु यही 'डोपामाइन
एडिक्सन' र 'कम्प्लिसन बाइस' को मनोवैज्ञानिक असर हो ।
·
द
जाइगार्निक इफेक्ट (The Zeigarnik Effect): सोभियत मनोवैज्ञानिक ब्लुमा जाइगार्निक (१९२७) को अध्ययन अनुसार, हाम्रो मस्तिष्कले पूरा भइसकेका कामहरू भन्दा अधुरा रहेका कामहरूलाई बढी
सम्झिन्छ र दिमागमा त्यसको बोझ राखिरहन्छ । यसले गर्दा मस्तिष्कमा एक प्रकारको 'संज्ञानात्मक तनाव' (Cognitive Tension) पैदा हुन्छ
। हाम्रो शिक्षा प्रणालीमा विद्यार्थी, शिक्षक र अभिभावक
तीनै पक्ष यो मानसिक तनावबाट तत्काल मुक्ति पाउनका लागि यति हतारिन्छन् कि काम
कत्तिको गुणात्मक वा अर्थपूर्ण भयो भनी सोच्न छोडेर जसरी भए पनि 'चेकलिस्ट फत्ते गर्न' (Complete गर्न) तिर लाग्छन् ।
३.
आधुनिकताको पाखण्ड: छद्म 'रिसर्च' को संस्कृति र 'इन्स्पेक्टेड' को नक्कली छाप
बजारमा
निजी विद्यालयहरूबीच तीव्र व्यावसायिक प्रतिस्पर्धा छ । अभिभावकहरूलाई
मनोवैज्ञानिक रूपमा प्रभावित पार्न बाहिर "क्रिएटिभिटी", "प्रोजेक्ट-बेस्ड लर्निङ" र "प्रारम्भिक कक्षादेखि नै रिसर्च
संस्कृति" जस्ता सुन्दा आकर्षक लाग्ने अन्तर्राष्ट्रिय शब्दहरू (Buzzwords)
को बजारीकरण गरिन्छ । तर, यसको भित्री रूप झन्
भयावह र पाखण्डपूर्ण छ ।
साना
नानीबाबुहरूलाई गुगलबाट 'कपी-पेस्ट' गरेर वा आमा-बुवालाई
झन्झट दिएर 'प्रोजेक्ट वर्क' वा 'अनुसन्धान' को नाममा रङ्गीन पानाहरू भर्न लगाइन्छ ।
विडम्बना के छ भने, विद्यार्थीले रातभरि जाग्राम बसेर
बुझाएको त्यो प्रयोगात्मक काम कुनै विषय शिक्षक वा विज्ञले पढेर रचनात्मक
पृष्ठपोषण (Constructive Feedback) दिँदैनन् । विद्यालयहरूका
शिक्षकको कार्यबोझ बढी हुनु वा आलस्यका कारण विद्यालयमा कार्यरत सहयोगी कर्मचारी,
आया वा फुर्सदिला गैरशैक्षिक कर्मचारीको हातमा 'Inspected',
'Checked'
वा 'Good'
लेखिएको एउटा निर्जीव रबरको छाप (Stamp) थपाइन्छ
र कापीमा सरसरती छाप लगाएर बुझाउने 'औपचारिकता' पूरा गरिन्छ ।
बच्चाहरू
मनोवैज्ञानिक रूपमा निकै संवेदनशील र प्रखर समीक्षक हुन्छन्; जब उनीहरूले आफ्नो सिर्जनात्मक मिहिनेतमा केवल एउटा नक्कली र अर्थहीन छाप
मात्र देख्छन्, उनीहरूले भित्री रूपमा बुझ्छन् कि 'मैले भित्र के लेखेँ, कति बुझेँ र कति नयाँ कुरा
सिकेँ भन्ने कुराको यो प्रणालीमा कुनै मूल्य छैन, केवल पाना
भरेर बुझाए पुग्छ ।' यसले विद्यार्थीलाई बाल्यकालमै
सिर्जनशील होइन, 'कागजी ठग' र सतहगत
सिकाउने (Surface Learner) बन्न उत्प्रेरित गर्छ ।
४.
माध्यमिक तहको विडम्बना: अक्षर नचिन्ने प्रमाणपत्रधारी (The
Cumulative Effect)
३ वर्षको
उमेरदेखि सुरु भएको यो "हतार-हतार काम सकाउने, पाना
भर्ने र सजायबाट बच्ने" मानसिकता १५-१६ वर्षसम्म निरन्तर चलिरहँदा कक्षा
११/१२ र विश्वविद्यालयमा पुग्दासम्म विद्यार्थीको मौलिक रूपमा सोच्ने र
स्वतःस्फूर्त सिक्ने क्षमता पूरै मरिसकेको हुन्छ । सानैदेखि कसैले उसको अक्षरको
त्रुटि, वाक्यको बनावट र व्याकरणको गल्ती औँल्याएर सुधार्ने
मनोवैज्ञानिक वातावरण नै दिएन, केवल 'काम
बुझायो, छाप लाग्यो, कक्षा उकालियो ।'
यही
निरन्तरताको सञ्चित परिणाम (Cumulative Effect) आज कक्षा ११
र १२ मा स्पष्ट रूपमा देखिन्छ । माध्यमिक तह र उच्च शिक्षामा पुग्दा समेत
विद्यार्थीहरूले आफ्नो मातृभाषा वा लक्षित भाषामा सामान्य 'क,
ख' वा आधारभूत वाक्यहरू शुद्धसँग लेख्न
सक्दैनन्, वाक्य गठन, व्याकरण र
उच्चारणमा गम्भीर त्रुटिहरू गर्छन् ।
अहिलेको
अक्षरशः ग्रेडिङ प्रणाली (GPA System) ले यसमा थप मलजल गरेको छ । प्रमाणपत्रमा
A वा A+ को नक्कली चमक (The
Grade Trap) देखिन्छ, तर विद्यार्थीको आन्तरिक
संज्ञानात्मक क्षमता र व्यावहारिक ज्ञान शून्यप्रायः हुन्छ । कलेजहरूले पनि
घोकन्ते परीक्षा 'कम्प्लिट' गराउने
उद्देश्यले बजारका रेडिमेड गाइड र गेसपेपर हुबहु कण्ठ गर्न वा सार्न लगाउँदा
नेपाली शिक्षाको वास्तविक मर्म नै ध्वस्त भएको छ ।
५.
व्यावसायिक 'टार्गेट' र कक्षा ११ को
घरदैलो नौटङ्की (Corporate Completion Trap)
यो
कम्प्लिसन ट्र्यापको सबैभन्दा व्यावसायिक र कुरूप रूप शैक्षिक सत्रको सुरुमा
(विशेष गरी कक्षा ११ को भर्ना ताका) देखिन्छ । निजी कलेज वा विद्यालयहरूका लागि
विद्यार्थीहरू 'सिकारु' होइनन्, केवल व्यवस्थापनले तोकेको 'बजेट र भर्ना सङ्ख्याको
टार्गेट' (Enrollment Target) पूरा गर्ने साधन हुन् ।
शैक्षिक संस्थाको पूरा शक्ति, लगानी र बौद्धिकता पठनपाठनको
स्तर सुधार्नमा होइन, कर्पोरेट शैलीको मार्केटिङ र
विज्ञापनमा खर्च हुन्छ । प्राज्ञिक क्षेत्रका शिक्षकहरूलाई पढाउने र अनुसन्धान
गर्ने मुख्य काम छोडाएर विद्यार्थी तान्न 'घरदैलो अभियान'
(Door-to-door marketing) मा सेल्सम्यानका रूपमा खटाइन्छ ।
आफ्नै
स्कुलबाट एसईई (SEE) पास गरेका विद्यार्थीहरू किन त्यहीँ ११ कक्षा
पढ्न मानिरहेका छैनन्, उनीहरूले संस्थाभित्र कस्तो अभाव वा
असन्तुष्टि महसुस गरे र बाहिर किन भागिरहेका छन् भन्ने कुराको गम्भीर आत्मसमीक्षा
(Retention Analysis) कलेजहरूले कहिल्यै गर्दैनन् । किनकि
कमजोरी सुधार्न आत्मसमीक्षा, मिहिनेत र लगानी चाहिन्छ ।
त्यसको साटो उनीहरूलाई 'सजिलो उपाय' (Shortcut) मन पर्छ—बाहिरका नयाँ विद्यार्थी र अभिभावकलाई "भर्ना फ्री, महिनाको शुल्कमा छुट, फ्री ड्रेस र ल्यापटप"
जस्ता अनेकौँ प्रलोभन र मीठा, चिल्ला गफ दिएर तान्ने ।
भर्नाको कोटा 'कम्प्लिट' भइसकेपछि ती विद्यार्थीहरू
कलेजका लागि केवल 'मासिक शुल्क बुझाउने खाता नम्बर' मात्र बनिसकेका हुन्छन्, गुणस्तर र विद्यार्थीको
मानसिक तथा शैक्षिक स्वास्थ्य सधैँका लागि ओझेलमा पर्छ ।
६.
सरकारी विद्यालयको दर्दनाक अवस्था: प्रक्रियामुखी जवाफदेहिता, शून्य परिणाम
निजी
विद्यालयहरू जब बाहिरी चमकधमक र नक्कली आधुनिकताको पासो (Aesthetic
Trap) मा फसेका छन्, सरकारी विद्यालयहरूको
अवस्था झन् दर्दनाक र प्रक्रियामुखी छ । सरकारले शिक्षा क्षेत्रमा बर्सेनि अर्बौँ
रुपैयाँ लगानी गरेको छ, शिक्षक सेवा आयोगजस्तो कडा परीक्षा
पास गरेका योग्य, तालिमप्राप्त र सुरक्षित शिक्षकहरू छन् ।
राहत, पालिका अनुदान, सङ्घीय अनुदान
जस्ता अनेकौँ वर्गीकरणका शिक्षकहरू कक्षाकोठामा उपस्थित छन् । तथापि, राष्ट्रिय स्तरको सिकाइ उपलब्धि भने सधैँ निराशाजनक छ ।
यसको मूल
संरचनात्मक र मनोवैज्ञानिक कारण 'अपनत्व र जवाफदेहिताको चरम
अभाव' (Lack of Ownership) हो । विडम्बना के छ भने, सरकारी कोषबाट तलब, भत्ता, पेन्सन
वा राज्यको सेवा-सुविधा बुझ्ने नेता, निजामती कर्मचारी,
सुरक्षाकर्मी र स्वयं सरकारी विद्यालयका शिक्षककै छोराछोरी निजी
विद्यालयमा पढ्छन् । जबसम्म विद्यालय बिग्रेर आफ्नै बच्चाको भविष्य बर्बाद हुन्छ
भन्ने डर वा व्यक्तिगत स्वार्थ प्रणालीसँग जोडिँदैन, तबसम्म
भित्री सुधार आउँदैन ।
अन्तरनिहित
रूपमा, सरकारी स्कुलमा पढ्ने बहुसङ्ख्यक विद्यार्थी न्यून
आर्थिक अवस्था भएका श्रमजीवीका सन्तान हुन्, जसका
अभिभावकहरूसँग स्कुलमा गएर गुणस्तरमाथि प्रश्न गर्ने न त समय छ, न त सामाजिक पहुँच । राज्यले पनि "यो वर्ष यति जना शिक्षकलाई तालिम
दियौँ, यति भवन बनायौँ, यति
छात्रवृत्ति बाँड्यौँ" भन्दै कागजी प्रक्रिया पुर्याएर (Task
Complete गरेर) प्रतिवेदन बुझाउँछ र फाइल बन्द गर्छ, तर कक्षाकोठाभित्रको वास्तविक सिकाइ र विद्यार्थीको मानसिक रूपान्तरण
कहिल्यै जाँच्दैन ।
७.
साक्षरता घोषणाको होडबाजी र अव्यावहारिक पाठ्यक्रमको दार्शनिक भारी
सरकारले
समय-समयमा गर्ने '१००% साक्षर जिल्ला/पालिका/वडा' घोषणा पनि कम्प्लिसन ट्र्यापको राष्ट्रिय स्तरको उत्कृष्ट उदाहरण हो ।
माथिल्लो निकायबाट आएको बजेट सक्न, ब्यानर टाँस्न र मन्त्री
वा नेता बोलाएर उद्घाटन गरी 'उद्घाटनको कार्य सम्पन्न'
(Task Completed) देखाउन यो कागजी टिकमार्क निकै उपयोगी होला,
तर यसका पछाडि कुनै वास्तविक उत्पादकत्व र आर्थिक रूपान्तरण हुँदैन
। साक्षरता त्यतिबेला मात्र सार्थक र औचित्यपूर्ण हुन्छ जब त्यो शिक्षाले मानिसलाई
उद्यमी (Entrepreneur) बन्न, आत्मनिर्भर
हुन वा देशको समृद्धिमा योगदान दिन सघाउँछ । केवल आफ्नो नाम लेख्न वा औँठाछापको
सट्टा हस्ताक्षर गर्न जान्ने तर जीवन चलाउन कुनै सीप नभएर खाडी मुलुकमा सस्तो श्रम
बेच्न बाध्य हुने 'साक्षर' हरूको जमात
तयार पार्नु साक्षरताको नाममा राज्यले गर्ने सबैभन्दा ठुलो छद्म कार्य हो ।
हाम्रो
पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यक्रमहरू हेर्ने हो भने किताबहरू निकै
आदर्शवादी, गहकिला र दार्शनिक कुराहरूले भरिएका छन् । तर,
त्यसको व्यावहारिक
र प्रयोगात्मक (Practical) पाटो
भने शून्यप्रायः छ । विद्यार्थीले 'नेपाल कृषिप्रधान देश हो, यसका फाइदाहरू यति छन्'
भनेर परीक्षाका लागि कण्ठ गर्छ, लेख्छ र
परीक्षा 'कम्प्लिट' गर्छ । तर, त्यही विद्यार्थीलाई व्यावहारिक रूपमा माटोको परीक्षण कसरी गर्ने, आधुनिक र प्रविधिमैत्री खेती कसरी गर्ने, वा बजारमा
एउटा सानो व्यापार सुरु गर्नका लागि 'बिजनेस प्लान'
(Business Plan) कसरी बनाउने भन्ने कुराको आधारभूत व्यावहारिक ज्ञान
हुँदैन । बजारमा कुन जनशक्ति र सीपको माग छ र पाठ्यक्रमले के पढाइरहेको छ भन्ने
कुराको बीचमा ठुलो खाडल (Skill Gap) छ ।
८.
श्रीमद्भगवद्गीताको मनोवैज्ञानिक कडी: 'प्रोसेस' (कर्म) भर्सेस 'आउटकम' (फल)
आजको
आधुनिक शैक्षिक र व्यवहारवादी मनोविज्ञानले जुन 'कम्प्लिसन
ट्र्याप' (कागजी वा नक्कली पूर्णताको पासो) लाई एउटा गम्भीर
मानसिक तथा सङ्गठनात्मक समस्या मान्छ, त्यसको गहिरो मनोवैज्ञानिक
समाधान हजारौँ वर्षअघि श्रीमद्भगवद्गीताको दोस्रो अध्यायको ४७औँ श्लोकमा निकै
प्रस्टसँग गरिएको छ:
कर्मण्येवाधिकारस्ते
मा फलेषु कदाचन ।
मा
कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥
यस
श्लोकलाई विशुद्ध शैक्षिक
मनोविज्ञान (Educational Psychology) को दृष्टिकोणबाट विश्लेषण गर्दा यसले 'बाह्य
पुरस्कारको पासो' (Extrinsic Reward Trap) बाट बच्न बलियो
सङ्केत गर्छ । भगवान् कृष्णले अर्जुनलाई भनेका छन्—"तिम्रो अधिकार केवल कर्म (प्रक्रिया) मा छ, त्यसको
फल (नतिजा) मा कहिल्यै छैन ।"
आधुनिक
शैक्षिक मनोविज्ञानको भाषामा भन्दा, जब कुनै
विद्यार्थी, शिक्षक वा विद्यालयले केवल 'कक्षा उकाल्ने, ३ वर्षमै होमवर्क सक्ने, परीक्षा उत्तीर्ण गर्ने वा भर्नाको टार्गेट पुर्याउने' जस्ता 'फल वा बाह्य परिणाम' (Outcome/Result) लाई
मात्र आफ्नो अन्तिम लक्ष्य मान्छ, तब उसको दिमागमा अत्यधिक
तनाव र 'काम सक्ने हतारो' (Performance Anxiety) पैदा हुन्छ । यसले गर्दाु उसको आन्तरिक उत्सुकता, जिज्ञासा
र स्वतःस्फूर्त सिक्ने चाहना (Intrinsic Motivation) पूरै
मर्छ ।
यसको
विपरीत, जब ध्यान 'फल' (सर्टिफिकेट, ग्रेड, नम्बर वा
छाप) मा होइन, केवल 'कर्म' अर्थात् सिकाइको
प्रक्रिया (Process of Learning)
मा केन्द्रित हुन्छ, तब मस्तिष्कले
संज्ञानात्मक रूपमा (Cognitively) विषयवस्तुलाई गहिराइबाट
आत्मसात् गर्छ । गीताको यो श्लोकले 'काम फत्ते गर्ने'
(Completion) अन्धो दौडबाट मुक्त भई 'प्रक्रिया
र कार्यको गुणस्तर' मा मानसिक रूपमा केन्द्रित हुन सिकाउने
संसारकै सबैभन्दा पुरानो र कडा मनोवैज्ञानिक उपचार पद्धति हो ।
रचनात्मक
र व्यावहारिक समाधानका उपायहरू (The Way Out)
यो
बहुआयामी र संस्थागत भइसकेको कम्प्लिसन ट्र्यापलाई तोड्नका लागि सतही नीतिले
पुग्दैन; यसका लागि जगैदेखि सिर्जनशील र साहसिक हस्तक्षेपको
आवश्यकता छ:
·
'होमवर्क' को सट्टा 'होम-कन्भर्सेसन' (पारिवारिक
संवाद): प्रारम्भिक बाल्यकाल (३-८ वर्ष) मा परम्परागत
लेख्ने गृहकार्यलाई पूर्ण प्रतिबन्ध लगाइनुपर्छ । त्यसको सट्टा घरमा आमा-बुवासँग
संवाद गर्ने, कथा सुनाउने, प्रकृतिसँग
खेल्ने वा व्यावहारिक कुरा गर्ने वातावरण (Home-Conversation) बनाउनुपर्छ, जसले मोबाइलको लत पनि छुटाउँछ र
बालमस्तिष्कमा आन्तरिक अभिप्रेरणा जगाउँछ ।
·
'सहपाठी
मूल्याङ्कन' (Peer Review) को स्थापना:
विद्यालयमा गैरशैक्षिक कर्मचारीले लगाउने नक्कली स्ट्याम्प वा छाप संस्कृतिलाई तुरुन्त
रोक्न कक्षाकोठामै विद्यार्थीहरूबीच एक-अर्काको कापी जाँच्ने, जोडी (Pairs) बनाएर गल्तीहरू केलाउने र रचनात्मक
टिप्पणी लेख्ने पद्धति बसाल्नुपर्छ । यसले विद्यार्थीहरूमा सानैदेखि गल्ती
स्वीकार्ने र आलोचनात्मक चेत (Critical Thinking) को विकास
गराउँछ ।
·
'भर्ना सङ्ख्या'
होइन 'रिटेन्सन रेट' (Retention Rate) मापन: कक्षा ११ को अस्वस्थ र बजारवादी
शैक्षिक दौडलाई रोक्न स्थानीय सरकार र शैक्षिक प्रशासनले एउटा कडा आचारसंहिता
बनाउनुपर्छ । कलेजहरूको मूल्याङ्कन "यो वर्ष कति नयाँ विद्यार्थी बाहिरबाट
तानिए" भन्ने आधारमा होइन, "आफ्नै स्कुलबाट एसईई
पास गरेका कति प्रतिशत विद्यार्थीलाई टिकाउन सके" भन्ने 'रिटेन्सन रेट' का आधारमा गरिनुपर्छ र
यसैलाई अनुदान वा वर्गीकरणको मुख्य मापदण्ड बनाइनुपर्छ ।
·
अनिवार्य
सरकारी भर्ना नीति र अपनत्वको विकास: राज्यकोष (करदाताको पैसा)
बाट तलब, भत्ता, पेन्सन वा सुविधा
लिने हरेक जनप्रतिनिधि, निजामती कर्मचारी, सुरक्षाकर्मी र सरकारी शिक्षकका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी
विद्यालयमै पढाउनुपर्ने स्थानीय वा राष्ट्रिय नियम लागू गर्नुपर्छ । जब हाकिम,
नेता र शिक्षकका आफ्नै सन्तान सरकारी बेन्चमा बस्छन्, विद्यालयको पंखा, खानेपानी, शौचालय
र शिक्षकको उपस्थिति स्वतः र प्रभावकारी रूपमा सुध्रिन्छ ।
·
सीप
र परियोजनामा आधारित पाठ्यक्रम (Project-based learning): ३ घण्टाको घोकन्ते र स्मृतिमा आधारित परीक्षाको अङ्कभार कटौती गरी ५०%
अङ्क भार प्रयोगात्मक, स्थानीय भाषा, संस्कृति
(जस्तै: बैतडेली/डोटेली लोकसंस्कृति र भाषाका व्याकरण, सामाजिक
सूक्ष्मताको प्रतिवेदन लेखन, माटो परीक्षण, वित्तीय साक्षरता) तथा उत्पादनसँग जोडिएका दीर्घकालीन परियोजना
कार्यहरूलाई दिनुपर्छ ।
निष्कर्ष:
आलोचनात्मक र सिर्जनशील सोचको पुनर्जागरण
शिक्षा
कुनै 'चेकलिस्ट' होइन जहाँ
हतार-हतार टिकमार्क लगाएर दौडिनु परोस्; यो त एउटा बिरुवा
हुर्काउने प्राकृतिक प्रक्रिया हो, जसमा समय, सूक्ष्म स्याहार, स्नेह र धैर्यता चाहिन्छ ।
कम्प्लिसन ट्र्यापको सबैभन्दा ठुलो र भयावह मूल्य मानव मस्तिष्कको दुईवटा
सर्वोत्कृष्ट र विशिष्ट क्षमता—आलोचनात्मक
चेत (Critical Thinking) र सिर्जनशील
सोच (Creative Thinking)—ले
चुकाउनुपरेको छ ।
जहाँ
केवल काम सक्ने, कोर्स सिध्याउने र पाना भर्ने अन्धो धुन हुन्छ,
त्यहाँ "किन, कसरी, कसका लागि र केका लागि?" भन्ने प्रश्न गर्ने
आलोचनात्मक क्षमता स्वतः समाप्त हुन्छ । विद्यार्थीहरू केवल सूचना र गाइडका
रेडिमेड सामग्रीका निष्क्रिय उपभोक्ता (Passive Consumers) बन्छन्,
जसले स्थापित गलत भाष्य वा प्रणालीमाथि कहिल्यै प्रश्न वा सन्देह
गर्ने आँट गर्दैनन् । अर्कोतर्फ, नयाँ प्रयोग गर्न, गल्ती गर्न र गल्तीबाट सिक्कनका लागि जुन मानसिक स्वतन्त्रता, स्पेस र समय चाहिन्छ, त्यो यो हतारोको पासोले पूरै
खोसिदिन्छ, जसका कारण मौलिक सिर्जनशीलताको घाँटी बाल्यकालमै
निमोठिन्छ ।
जबसम्म
हामी 'सङ्ख्या, प्रक्रिया र परिणाम'
को पूजा गर्ने कम्प्लिसन ट्र्यापबाट मुक्त भएर 'गुणस्तर, प्रक्रिया र व्यावहारिक प्रभाव' लाई शिक्षाको मूल मापदण्ड बनाउँदैनौँ, तबसम्म हाम्रो
शिक्षाले केवल आदेश पालना गर्ने, सोच्न नसक्ने र सीपविहीन
जनशक्ति मात्र उत्पादन गरिरहनेछ । अबको आवश्यकता खोक्रो आधुनिकता, देखावटी चमकधमक र कागजी पूर्णताको होइन; विद्यार्थीमा
प्रश्न गर्ने आँट (Criticality), नयाँ सिर्जना गर्ने क्षमता
(Creativity), र उद्यमशीलता (Entrepreneurship) को विकास गर्ने जीवन्त शिक्षाको हो । यो संज्ञानात्मक पासोलाई तोडेर मात्र
हामी शिक्षालाई एउटा मृत 'प्रमाणपत्र' को
खोस्टोबाट जीवनोपयोगी 'प्रज्ञा' र देश
समृद्धिको मूल इन्जिनमा रूपान्तरण गर्न सक्छौँ ।
Comments
Post a Comment