SOCRATIC METHOD र STREAME ढाँचाको एकीकरण

नेपाली माध्यमिक शिक्षामा सोक्राटिक विधि र STREAME ढाँचाको एकीकरण

- भागवत देव भट्ट

१. पृष्ठभूमि तथा समसामयिक शैक्षिक धरातल

नेपालको वर्तमान शिक्षा प्रणाली एउटा विशिष्ट र जटिल संरचनात्मक सङ्क्रमणकालबाट गुज्रिरहेको छ । नीतिगत तहमा कोरिएका अत्याधुनिक पाठ्यक्रम, शिक्षण संस्थाहरूद्वारा घोषित आकर्षक 'दृष्टिकोण' (भिजन) र सार्वजनिक मञ्चहरूमा सुनिने 'गुणस्तरीय शिक्षा' का बृहत् नाराहरूका बीच हाम्रा कक्षाकोठाहरूको वास्तविक धरातल भने अझै पनि मध्ययुगीन 'बैंकिङ प्रणाली' बाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन । ब्राजिलियन शिक्षाशास्त्री पाउलो फ्रेरेले औँल्याएको यस बैंकिङ अवधारणा जस्तै—जहाँ शिक्षकले विद्यार्थीको मस्तिष्कलाई एउटा खाली भण्डार सम्झेर सूचनाहरू मात्र सङ्कलन गरिदिन्छ—नेपाली कक्षाकोठाहरू पनि केवल तथ्य र तथ्याङ्क सङ्कलन गर्ने केन्द्रका रूपमा सीमित छन् । बाहिरबाट हेर्दा भव्य भौतिक पूर्वाधार, डिजिटल प्रविधिको चमकधमक र संस्थागत आधुनिकीकरण देखिने तर भित्र सिकाइको कडी नितान्त परम्परागत रहने छद्म-आधुनिकीकरणको प्रवृत्ति नेपाली विद्यालयहरूको मुख्य चुनौती बनेको छ ।

विशेष गरी माध्यमिक तह (कक्षा ९–१२) को शैक्षिक वातावरणमा एउटा गम्भीर विरोधाभास देखा परेको छ । विद्यार्थीहरू कक्षाकोठामा शारीरिक रूपमा उपस्थित भए पनि मानसिक रूपमा अनुपस्थित रहने (मनोविभाजन), कक्षा परित्याग गर्ने (कक्षा बङ्क), र प्रविधिको प्राज्ञिक उपयोग गर्नुको साटो सघन डिजिटल व्यसन (स्क्रिन एडिक्सन) को सिकार हुने क्रम तीव्र छ । किताबी ज्ञानलाई कण्ठस्थ गरी परीक्षाको उत्तरपुस्तिकामा पुनरुत्पादन गर्ने र परीक्षा समाप्त भएकै भोलिपल्ट ती सूचनाहरू विस्मरणमा जाने वर्तमान पद्धतिले न त विद्यार्थीमा आत्मविश्वासी व्यक्तित्व निर्माण गर्न सकेको छ, न त समकालीन बजार र समाजले खोजेको जस्तो व्यावहारिक समस्या समाधानकर्ता नै जन्माउन सकेको छ । किताबी ज्ञान र व्यावहारिक जीवनबीचको यो गम्भीर खाडल र व्यवहारविहीन शिक्षाको स्थायी समाधानका लागि प्राचीन दर्शन र आधुनिक शिक्षण विज्ञानको एउटा अभूपूर्व सम्मिश्रण अनिवार्य देखिन्छ । प्राचीन ग्रीसको सोक्राटिक विधि (जसले व्यक्तिको संज्ञानात्मक क्षमतालाई उद्वेलित गरी कसरी सोच्ने र आफ्नै पूर्वाग्रहहरू कसरी पहिल्याउने भन्ने सिकाउँछ) र आधुनिक बहुविधागत शैक्षिक दर्शन STREAME (Science, Technology, Research, Engineering, Arts, Mathematics, Entrepreneurship—जसले विभिन्न विषयहरूलाई एकीकृत गरी व्यावहारिक जीवनका समस्या हल गर्न मार्गप्रशस्त गर्छ) को संश्लेषण नै नेपाली शिक्षालाई वास्तविक प्राज्ञिक उचाइ र व्यावहारिक गुणस्तर तर्फ लैजाने अचुक माध्यम बन्न सक्छ ।

२. सोक्राटिक विधिको ऐतिहासिक परिप्रेक्ष्य तथा दार्शनिक आधार

सोक्राटिक विधिको दार्शनिक जग बुझ्न ईसापूर्व पाँचौँ शताब्दीको प्राचीन ग्रीसको एथेन्स सहरको बौद्धिक वातावरणको अध्ययन आवश्यक हुन्छ । यस विधिको प्रतिपादन महान् दार्शनिक सुकरात (ई.पू. ४७० – ई.पू. ३९९) द्वारा भएको हो ।

क) सोफिस्टवाद र सुकरातको प्राज्ञिक विद्रोह

त्यस समयको एथेन्सको बौद्धिक बजारमा 'सोफिस्ट' भनिने सशुल्क प्राध्यापक तथा बुद्धिजीवीहरूको बाहुल्य थियो । उनीहरू उच्च शुल्क लिएर सम्भ्रान्त वर्गका युवाहरूलाई भाषण कला, वादविवादमा विजय प्राप्त गर्ने प्रविधि र राजनीतिक सफलताका चतुर रणनीतिहरू सिकाउँथे । सोफिस्टहरूको मूल अभिष्ट "परम सत्यको अन्वेषण" भन्दा पनि "जस्तोसुकै बहसलाई पनि आफ्नो अनुकूल कसरी ढाल्ने" भन्ने वक्तृत्वकलामा मात्र सीमित हुन्थ्यो; उनीहरू आफूलाई 'सर्वज्ञानी' दाबी गर्थे ।

सुकरातले यस व्यापारिक र सतही शिक्षण पद्धतिको कडा विरोध गरे । उनले ज्ञान र सत्यलाई बाह्य जगत्‌बाट दिमागमा जबरजस्ती भर्ने वस्तु नभई मानव चेतनाभित्रै अन्तर्निहित रहने तत्त्वका रूपमा व्याख्या गरे । सोफिस्टहरूको बौद्धिक अहंकारलाई चुनौती दिँदै उनले आफ्नो प्रख्यात सूक्ति अघि सारे:

"म एउटा मात्र कुरा निश्चित रूपमा जान्दछु; त्यो के हो भने म केही पनि जान्ददिनँ ।"

ख) द्वन्द्वात्मक संवाद र प्रसविकाको रूपक

सुकरातले कुनै औपचारिक शिक्षालयको स्थापना गरेनन् । उनी एथेन्सका गल्ली, चौतारा र सार्वजनिक बजारहरूमा सामान्य नागरिक, सैनिक, कवि तथा राजनीतिज्ञहरूसँग अनौपचारिक संवाद गर्थे । उनी आफूलाई ज्ञानको संवाहक वा 'गुरु' मान्दैनथे; बरु एक जिज्ञासु अन्वेषकका रूपमा प्रस्तुत गर्थे ।

उनकी आमा फेनारेट पेसाले एक सुँडिनी (गर्भवती महिलालाई शिशु जन्माउन सहयोग गर्ने प्रसविका) थिइन् । सुकरातले आफ्नो शिक्षण विधिलाई आमाको पेसासँग तुलना गर्दै एउटा उत्कृष्ट दार्शनिक रूपकको निर्माण गरे:

"मेरी आमाले जस्तै म पनि काम गर्छु । आमाले गर्भवती महिलालाई शिशु जन्माउन मद्दत गर्नुहुन्थ्यो, उहाँ आफैँले बच्चा पैदा गर्ने होइन । म पनि आफैँ ज्ञान पैदा गर्दिनँ, म त केवल प्रश्नहरूको माध्यमबाट मानिसहरूको मस्तिष्कभित्र सुसुप्त अवस्थामा रहेको विचार, तर्क र सत्यलाई बाहिर ल्याउन (जन्म दिन) मद्दत गर्छु ।"

दर्शनशास्त्र र शिक्षाशास्त्रमा यसै कलालाई 'सोक्राटिक विडम्बना' 'द्वन्द्वात्मक संवाद' भनिन्छ ।

ग) प्लेटोनिक संवाद र सङ्कलन

सुकरातले आफ्नो जीवनकालमा कुनै पनि लिखित ग्रन्थ छोडेर गएनन् । उनी केवल मौखिक र जीवन्त संवादमा विश्वास गर्थे । तत्कालीन राज्यसत्ताले उनलाई युवाहरूको मस्तिष्क भ्रष्ट बनाएको र राज्यका परम्परागत देवताहरूको अपमान गरेको अभियोगमा विष (हेमलोक) पिएर मर्ने मृत्युदण्ड दियो । सुकरातको भौतिक अवसान भए पनि अकाट्य बौद्धिक क्षमताका धनी उनका प्रगाढ शिष्य प्लेटो ले सुकरातका ती जीवन्त संवादहरूलाई लिखित रूपमा सङ्कलन गरे । प्लेटोद्वारा रचित कालजयी ग्रन्थहरू (जस्तै: द रिपब्लिक, अपोलोजी, मेनो, क्रिटो) का कारण नै आजको आधुनिक संसारले सुकरातको प्रश्नोत्तर विधिलाई वैज्ञानिक प्राज्ञिक पद्धतिका रूपमा प्राप्त गरेको हो ।

३. सोक्राटिक विधि र STREAME शिक्षाबीचको अन्तर्सम्बन्ध

आधुनिक शिक्षाशास्त्रमा STREAME पाठ्यक्रमको एउटा अत्यन्तै शक्तिशाली र एकीकृत विधागत रूपरेखा हो । यसका प्रत्येक अवयवले समकालीन विश्वका अपरिहार्य विधाहरूलाई प्रतिनिधित्व गर्दछन्:

·         Science (विज्ञान): प्रकृति र ब्रह्माण्डको नियमसङ्गत अध्ययन ।

·         Technology (प्रविधि): वैज्ञानिक ज्ञानको व्यावहारिक एवं डिजिटल परिचालन ।

·         Research (अनुसन्धान): तथ्याङ्क र प्रमाणमा आधारित सत्यको खोजी ।

·         Engineering (इन्जिनियरिङ): समस्या समाधानका लागि संरचनात्मक डिजाइन र निर्माण ।

·         Arts (कला र मानविकी): सौन्दर्यचेत, साहित्य, संस्कृति र मानवीय दृष्टिकोणको विस्तार ।

·         Mathematics (गणित): तार्किक, परिमाणात्मक र अमूर्त विश्लेषण ।

·         Entrepreneurship (उद्यमशीलता): नवप्रवर्तनलाई आर्थिक र सामाजिक मूल्यमा रूपान्तरण गर्ने कला ।

शिक्षाशास्त्रीय दृष्टिकोणबाट हेर्दा, STREAME शिक्षा र सोक्राटिक विधि एकअर्काका पूरक हुन् । STREAME ले "के सिक्ने" (विषयवस्तु र पाठ्यक्रम) भन्ने संरचना दिन्छ भने सोक्राटिक विधिले "कसरी सोच्ने" (संज्ञानात्मक प्रक्रिया) भन्ने पद्धति प्रदान गर्छ ।

१) विज्ञान (Science) मा सोक्राटिक सङ्गति

विज्ञानको जग नै स्थापित मान्यताहरूमाथि प्रश्न उठाउनु र प्रमाणको खोजी गर्नु हो । कक्षाकोठामा जैविक विकास, जलवायु परिवर्तन वा पारिस्थितिक प्रणाली अध्यापन गराउँदा शिक्षकले तयारी तथ्यहरू घोकाउनुको साटो सोक्राटिक प्रश्नहरू सोध्नुपर्छ: "यदि कुनै विशिष्ट पारिस्थितिक प्रणालीबाट सबै मांसाहारी जीवहरू अचानक लोप भए भने त्यसले वनस्पति जगतको घनत्व र सन्तुलनमा कस्तो शृङ्खलाबद्ध असर पार्ला ?" यस्ता प्रश्नले विद्यार्थीलाई वैज्ञानिक परिकल्पना र आलोचनात्मक सोचतर्फ प्रेरित गर्छन् ।

२) प्रविधि (Technology) मा नैतिक चेतना

प्रविधिको सिकाइ केवल कोडिङ वा सफ्टवेयरको सञ्चालनमा मात्र सीमित हुनु हुँदैन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र तीव्र गतिमा भइरहेको डिजिटल रूपान्तरणको यो युगमा विद्यार्थीलाई यसको सामाजिक र मानवीय प्रभाव बुझाउन सोक्राटिक संवादको आवश्यकता पर्दछ: "के कम्प्युटर एल्गोरिदमले मानव भावना र न्यायको सही परिभाषा गर्न सक्छ ? यदि प्रविधिको विकासले श्रम बजारको सन्तुलन बिगार्‍यो भने त्यसको सामाजिक न्यायमा के असर पर्ला ?" यसले प्रविधिलाई प्राविधिक ज्ञानबाट माथि उठाई मानवीय हित र नैतिकतासँग जोड्दछ ।

३) अनुसन्धान (Research) को प्रणालीगत मुटु

कुनै पनि अनुसन्धानको प्रस्थानविन्दु नै एउटा सान्दर्भिक र उत्तर खोज्न योग्य प्रश्नको निर्माण गर्नु हो । सोक्राटिक विधिले विद्यार्थीलाई स्थापित तथ्याङ्कहरूमाथि शङ्का गर्न, स्रोतहरूको विश्वसनीयता जाँच्न र पूर्वाग्रहरहित निष्कर्षमा पुग्न सिकाउँछ । अनुसन्धानका क्रममा विद्यार्थीले प्रस्तुत गरेका तथ्याङ्कहरूलाई परिष्कृत गर्न शिक्षकले सोध्न सक्छन्: "तपाईं यो निष्कर्षमा पुग्ने ठोस प्रमाण के हो ? के यो तथ्याङ्क सङ्कलन गर्दा प्रयोग गरिएको विधि पूर्ण रूपमा निष्पक्ष थियो ?"

४) इन्जिनियरिङ (Engineering) मा संरचनात्मक सुधार

इन्जिनियरिङ भनेको समस्याको व्यावहारिक समाधानको प्रारूप (डिजाइन) तयार गर्नु हो । जब विद्यार्थीले कुनै मोडेल वा समाधानको ढाँचा बनाउँछन्, सोक्राटिक विधिले त्यसको कमजोरी पहिल्याउन 'स्ट्रेस टेस्ट' को काम गर्छ: "यो डिजाइनको सबैभन्दा कमजोर विन्दु कुन हो ? विपरीत वातावरणीय परिस्थितिमा यसको कार्यक्षमता कसरी कायम रहला ?" यसले डिजाइनलाई निरन्तर परिमार्जन गर्न सिकाउँछ ।

५) कला र मानविकी (Arts) मा दृष्टिकोणको बहुआयामिकता

कला, साहित्य र समाजशास्त्रमा गणित वा विज्ञानमा जस्तो कुनै एउटै मात्र "सही वा गलत उत्तर" हुँदैन; यहाँ दृष्टिकोणको विविधता नै मुख्य सौन्दर्य हो । नेपाली साहित्य वा सामाजिक अध्ययन पढाउँदा सोक्राटिक संवादले विद्यार्थीको समालोचकीय क्षमता बढाउँछ: "पाठको मुख्य पात्रले विषम परिस्थितिमा गरेको निर्णयलाई नैतिक रूपमा कसरी न्यायसङ्गत ठहराउन सकिन्छ ? यदि तपाईं सोही ऐतिहासिक कालखण्डमा हुनुभएको भए तपाईंको विकल्प के हुन्थ्यो ?"

६) गणित (Mathematics) मा तार्किक गहिराइ

गणितलाई अक्सर केवल सूत्र र सञ्चालन प्रक्रिया कण्ठ गर्ने विषय मानिन्छ, तर यो विशुद्ध तर्कशास्त्र हो । गणितीय समस्या हल गर्दा विद्यार्थी अल्झिएमा सिधै उत्तर दिनुको साटो सोक्राटिक शैलीमा सोध्न सकिन्छ: "यो चरणबाट अर्को चरणमा फड्को मार्दा तपाईंले कुन आधारभूत गणितीय सिद्धान्त प्रयोग गर्नुभयो ? के त्यो सिद्धान्त यस विशिष्ट अवस्थामा लागू हुन सक्छ ?" यसले विद्यार्थीमा आफैँ गल्ती सुधार्ने क्षमताको विकास गर्छ ।

७) उद्यमशीलता (Entrepreneurship) मा व्यावहारिक कसी

उद्यमशीलता भनेको जोखिमको उचित मूल्याङ्कन र नवीन सोचलाई बजारको मागसँग तादात्म्यता मिलाउने कला हो । विद्यार्थीले कुनै व्यावसायिक योजना बनाउँदा सोक्राटिक विधिले त्यसलाई वास्तविक धरातल प्रदान गर्छ: "तपाईंको यो अवधारणाले बजारमा रहेका विद्यमान उत्पादनहरू भन्दा के कस्तो पृथकता र परिष्कृत मूल्य प्रदान गर्छ ? उपभोक्ताले यसलाई किन प्राथमिकता दिने ?"

४. नेपाली शैक्षिक क्षेत्रका अन्तर्निहित समस्याहरू र तिनको निदान

नेपालको माध्यमिक र उच्च माध्यमिक शिक्षा क्षेत्रमा व्याप्त समस्याहरू सतही नभएर गहिरा प्रणालीगत र मनोवैज्ञानिक कारणहरूसँग जोडिएका छन् । तिनको सैद्धान्तिक विश्लेषण निम्न सूचकहरूका आधारमा गर्न सकिन्छ:

समस्याको क्षेत्र

वास्तविक धरातल

मनोवैज्ञानिक / प्रणालीगत कारण

विद्यार्थीको संलग्नता

कक्षा परित्याग र मानसिक अनुपस्थिति ।

परम्परागत व्याख्यान विधिको निरसता र सिकाइमा सक्रिय सहभागिताको अभाव ।

डिजिटल लत

स्मार्टफोन, सामाजिक सञ्जाल र गेमिङमा अत्यधिक समय खर्च ।

ध्यान केन्द्रित गर्ने क्षमतामा ह्रास र रचनात्मक शैक्षिक विकल्पहरूको अनुपलब्धता ।

प्राथमिकताको विचलन

उमेरगत भावनात्मक आकर्षण र करियरको लक्ष्यबीच असन्तुलन ।

उचित परामर्श र दीर्घकालीन जीवन-लक्ष्य निर्धारण सम्बन्धी मार्गदर्शनको अभाव ।

शैक्षिक नेतृत्व

मञ्चहरूमा 'पेडागोजी' को अत्यधिक प्रयोग तर कक्षाकोठामा पुरानै घोकाउने प्रवृत्तिको निरन्तरता ।

छद्म-प्राज्ञिक प्रदर्शन र नीतिगत अवधारणालाई कार्यन्वयनमा बदल्ने दृढताको अभाव ।

मूल्याङ्कन प्रणाली

केवल प्राप्ताङ्क र जीपीए केन्द्रित परीक्षा ।

परीक्षाको ढाँचा नै सम्झने क्षमतामा आधारित हुनु; मौलिक सोचको मूल्याङ्कन नहुनु ।

५. सोक्राटिक संवाद र STREAME ढाँचामा आधारित रणनीतिक समाधानहरू

माथि पहिचान गरिएका गम्भीर समस्याहरूलाई परम्परागत दण्ड, निषेध वा प्रशासनिक डर देखाएर समाधान गर्न खोजिएमा त्यसको नतिजा झन् प्रत्युत्पादक र विद्रोही हुने निश्चित छ । किशोरकिशोरीहरूको मनोविज्ञानलाई बुझ्न र उनीहरूको व्यवहारमा सकारात्मक रूपान्तरण ल्याउन सोक्राटिक संवादSTREAME को व्यावहारिक मोडेल कसरी प्रयोग गर्न सकिन्छ, त्यसको कार्यमूलक कार्ययोजना यस प्रकार छ:

क) शैक्षिक पलायन र ध्यान केन्द्रित नहुने समस्याको समाधान

·         संवादमूलक परामर्श: यदि कुनै विद्यार्थीले निरन्तर कक्षा परित्याग गरिरहेको छ वा पढाइमा ध्यान दिएको छैन भने उसलाई प्रशासनिक दण्ड दिनुको साटो सोक्राटिक परामर्श पद्धति अपनाउनुपर्छ । शिक्षकले विद्यार्थीको आत्मचेतनालाई जगाउने गरी प्रश्नहरू सोध्नुपर्छ, जसले गर्दा उसले आफ्नो व्यवहारको दीर्घकालीन परिणाम आफैँ बुझ्न सकोस् । उदाहरणका लागि—वर्तमानको अनियमितताले भविष्यको शैक्षिक र व्यावसायिक मार्गमा पार्न सक्ने असरका बारेमा विद्यार्थीलाई नै विश्लेषण गर्न लगाउने । जब विद्यार्थीले आफ्ना कमजोरी र त्यसको दुष्परिणाम आफ्नै तर्कद्वारा महसुस गर्छ, तब उसमा भित्रैदेखि आन्तरिक अभिप्रेरणा को उदय हुन्छ ।

·         परियोजना-आधारित सिकाइ: विद्यार्थीहरू कक्षाबाट पलायन हुनुको मुख्य कारण उनीहरू कक्षामा सक्रिय नभई निष्क्रिय श्रोता मात्र हुनु हो । पाठ्यक्रमलाई STREAME को ढाँचामा ढालेर परियोजना-आधारित बनाइदिँदा उनीहरूको संलग्नता स्वतः बढ्छ । विद्यालयको वातावरण वा स्थानीय समुदायको कुनै वास्तविक समस्यालाई (जस्तै: फोहोरमैला व्यवस्थापन वा ऊर्जाको किफायती प्रयोग) लिएर विद्यार्थीहरूलाई विज्ञान, प्रविधि र इन्जिनियरिङको संयुक्त प्रयोग गरी एउटा कार्यमूलक मोडेल बनाउन लगाउँदा उनीहरूमा जिम्मेवारीबोध र सामूहिक कार्यको भावना विकास हुन्छ ।

ख) उमेरगत आकर्षण र प्राथमिकताको द्वन्द्व व्यवस्थापन

किशोरावस्थामा विपरीत लिङ्गीप्रति आकर्षित हुनु र भावनात्मक सम्बन्धमा अलमलिनु एक प्राकृतिक र जैविक प्रक्रिया हो । यसलाई नैतिक अपराधका रूपमा हेरेर निषेध गर्नुको साटो सोक्राटिक विधिले उनीहरूलाई प्राथमिकताको निर्धारण र संवेगात्मक सन्तुलन सिकाउँछ ।

·         तार्किक मार्गनिर्देशन: शिक्षक वा परामर्शदाताले विद्यार्थीलाई सम्बन्धको महत्त्वलाई नकारेबिना नै जीवनको यस महत्त्वपूर्ण मोडमा करियर र पहिचान निर्माणको महत्त्वका बारेमा सोच्न बाध्य पार्ने प्रश्नहरू सोध्नुपर्छ: "एउटा सुदृढ र अर्थपूर्ण सम्बन्धका लागि व्यक्तिको आफ्नै वैयक्तिक विकास र आत्मनिर्भरता कति आवश्यक छ ? के वर्तमानको समयलाई केवल भावनात्मक संवेगमा मात्र लगानी गर्दा भविष्यमा आफ्नो अस्तित्व र पहिचान सङ्कटमा पर्दैन ?" यस्ता चिन्तनशील प्रश्नहरूले उनीहरूलाई प्रेम वा आकर्षणको विरोध नगरीकन पनि आफ्नो ऊर्जालाई पढाइ र रचनात्मक कार्यमा केन्द्रित गर्न मद्दत गर्दछ ।

ग) डिजिटल लतको न्यूनीकरण र अभिभावकत्वको भूमिका

घरको वातावरणमा स्मार्टफोन खोस्ने वा कडा निगरानी राख्ने गर्दा पारिवारिक सम्बन्धमा कटुता आउने सम्भावना रहन्छ । यसको वैज्ञानिक समाधानका लागि घरमै STREAME को अनौपचारिक प्रयोग र सोक्राटिक गृह-संवादको खाँचो पर्दछ ।

·         पारिवारिक डिजिटल नीति: अभिभावकले छोराछोरीसँगै बसेर स्क्रिन टाइमको डेटा विश्लेषण गर्दै रचनात्मक विकल्पहरूका बारेमा संवाद गर्नुपर्छ । डिजिटल प्रविधिको स्क्रिनबाट बच्चाको ध्यान हटाउन घरमै साना-साना व्यावहारिक प्रोजेक्टहरूमा (जस्तै: कौसी खेती वा भान्छामा नयाँ परिकार बनाउने प्रयोग—जहाँ विज्ञान, गणित र कलाको मिश्रण हुन्छ) उनीहरूलाई सहभागी गराउनुपर्छ । यसले उनीहरूको अतिरिक्त ऊर्जालाई सिर्जनात्मक कार्यमा रूपान्तरण गर्छ र डिजिटल लत बिस्तारै कम हुँदै जान्छ ।

६. शैक्षिक नेतृत्वको रूपान्तरण र कार्यन्वयनको कडी

सिद्धान्त र व्यवहारबीच ठूलो खाडल भएका, केवल प्राज्ञिक शब्दहरूको प्रदर्शन गर्ने तर कक्षाकोठाको धरातल कमजोर रहेका विद्यालय तथा शैक्षिक नेतृत्वलाई वास्तविक सुधारतर्फ डोर्‍याउन परम्परागत आलोचनात्मक शैली प्रत्युत्पादक हुन सक्छ । नेतृत्वको अहम्‌लाई चिर्दै उनीहरूलाई अप्रत्यक्ष रूपमा व्यावहारिक धरातलमा ओराल्न निम्नअनुसारका रणनीतिक र व्यवस्थापकीय उपायहरू अपनाउनु आवश्यक देखिन्छ:

·         सिद्धान्त र कार्यन्वयनको द्वन्द्वलाई रचनात्मक रूपमा उठाउने: शैक्षिक नेतृत्वले अघि सारेको पेडागोजिकल 'भिजन' र कक्षाकोठाको 'वास्तविक अभ्यास' बीचको अन्तरलाई एउटा व्यवस्थापकीय चुनौतीका रूपमा प्रस्तुत गरिनुपर्छ । शिक्षकहरूले आधुनिक शिक्षण विधिलाई कक्षाकोठाको धरातलमा हुबहु उतार्न कहाँनिर बाधा भोगिरहेका छन् भन्ने कुराको खोजी गर्न नेतृत्वलाई नै अनुसन्धान र अनुगमनको मुख्य जिम्मेवारी सुम्पिनुपर्छ । यसले गर्दा नेतृत्वले आफ्नो सिद्धान्त केवल मञ्चमा मात्र सीमित नभई भुइँ तहसम्म पुगे-नपुगेको आत्मसमीक्षा गर्ने वातावरण बन्दछ ।

·         'नमूना अभ्यास' को संस्कृति विकास गर्ने: विद्यालयका योजनाकार वा प्रिन्सिपलहरूलाई केवल नीति निर्माताका रूपमा मात्र सीमित नराखी उनीहरूलाई वर्षमा केही पटक आफैँ कक्षाकोठामा गएर 'मोडेल क्लास' वा व्यावहारिक कार्यशाला सञ्चालन गर्न संस्थागत रूपमै प्रोत्साहित गरिनुपर्छ । जब शैक्षिक नेतृत्व आफैँले कक्षाकोठाको वास्तविक चुनौतीको (जस्तै: विद्यार्थीको ध्यान केन्द्रित नहुने समस्या, डिजिटल लत, वा ठूलो कक्षा व्यवस्थापन) सामना गर्छ, तब मात्र किताबी पेडागोजी र व्यावहारिक धरातलबीचको दूरी मेटिन्छ र ठोस रणनीतिहरू तय हुन थाल्छन् ।

·         कार्यसम्पादन मूल्याङ्कनको सूचकमा पुनर्संरचना: विद्यालयको गुणस्तर र शिक्षकको कार्यक्षमता जाँच्ने पुराना सूचकहरूलाई (जस्तै: पाठ्यक्रम कति चाँडो सकियो, कति पाना नोट लेखाइयो वा कतिवटा परम्परागत परीक्षाहरू लिइयो) पूर्ण रूपमा परिवर्तन गरिनुपर्छ । अबको मूल्याङ्कनको मुख्य आधार—"कक्षाकोठामा विद्यार्थीले कतिवटा रचनात्मक र तार्किक प्रश्नहरू सोधे ?, शिक्षकले सोक्राटिक संवादका लागि कति समय छुट्याए ?, र विद्यार्थीहरू कतिवटा व्यावहारिक प्रोजेक्ट तथा अनुसन्धानमा प्रत्यक्ष संलग्न भए ?"—भन्ने सूचकहरूलाई बनाइनुपर्छ । यस्तो प्रणालीगत परिवर्तनले विद्यालयको सम्पूर्ण सङ्गठनात्मक संयन्त्रलाई नै देखावटीपनबाट बचाएर नतिजामुखी बनाउन मद्दत गर्दछ ।

७. उपसंहार

नेपालको माध्यमिक शिक्षालाई सतही र सैद्धान्तिक विलासिताबाट मुक्त गराई वास्तविक रूपमै युगसापेक्ष र व्यावहारिक बनाउने हो भने सोक्राटिक विधि र STREAME ढाँचाको गुणात्मक एकीकरण वर्तमान समयको अनिवार्य आवश्यकता हो । हामीलाई अब यस्ता शिक्षण संस्थाहरूको खाँचो छैन, जसले विद्यार्थीको मस्तिष्कलाई केवल सूचनाको गोदाम बनाओस् र परीक्षाको बजारमा 'जीपीए' को व्यापार गरोस्; हामीलाई त यस्तो शैक्षिक नेतृत्व र वातावरणको आवश्यकता हो, जसले विद्यार्थीलाई प्रश्न सोध्न डराउने आज्ञाकारी उपभोगकर्ता होइन, बरु प्रश्नलाई नै ज्ञानको पहिलो पाइला मान्ने चिन्तनशील नागरिक बनाउन सकोस् ।

जब हाम्रा कक्षाकोठाहरूमा विज्ञान, प्रविधि र गणितका अमूर्त सूत्रहरूलाई कला, साहित्य र मानवीय चेतनासँग जोडेर अनुसन्धान र उद्यमशीलताको कसीमा घोटिन्छ, र जब ती प्रत्येक प्रक्रियामा सोक्राटिक प्रश्नहरूको तार्किक फिल्टर प्रयोग गरिन्छ, तब मात्र नेपाली शिक्षाको वास्तविक रूपान्तरण सम्भव हुनेछ । यस्तो वैज्ञानिक र दार्शनिक जगमा उभिएको शिक्षाले उत्तीर्ण गरेका विद्यार्थीहरू केवल परीक्षामा उत्कृष्ट अङ्क ल्याउन मात्र सक्षम हुने छैनन्; बरु उनीहरू दैनिक जीवनका व्यक्तिगत सङ्कट, व्यावसायिक चुनौती, सम्बन्धका अल्झन र राष्ट्रका जटिल समस्याहरूलाई छानबिन गरी तार्किक, वैज्ञानिक र नैतिक रूपमा हल गर्न सक्ने सच्चा नेतृत्वकर्ता र वैश्विक समस्या समाधानकर्ता का रूपमा स्थापित हुनेछन् ।

 


Comments

Popular posts from this blog

नेपाली शिक्षामा 'STREAME' पाठ्यक्रम: सम्भावना र चुनौती

फ्रेडरिक नित्से, विरचनावाद र मोहन कोइरालाको 'फर्सीको जरा (Friedrich Nietzsche)

नेपाली भाषा शिक्षण र प्रयोगमा नवप्रवर्तनवादः एक विश्लेषण