The Trap of Ego and Flattery: Freudian Psychoanalysis
अहङ्कार र चापलूसीको जाल: फ्रायडियन मनोविश्लेषण
- भागवत देव
भट्ट
१.
प्रस्तावना (Introduction)
आधुनिक संस्थागत, कर्पोरेट तथा प्राज्ञिक
संरचनाहरूमा प्रस्फुटित हुने मानवीय आचरण, सत्ता सञ्चालनका
अन्तर्निहित तौरतरिका तथा नेतृत्वको मनोवैज्ञानिक प्रवृत्तिको गहन अध्ययन एवं मूल्याङ्कन
गर्न मनोवैज्ञानिक सिद्धान्तहरूले अमूल्य अन्तर्दृष्टि प्रदान गर्छन् । विशेषतः,
मनोविश्लेषणका प्रणेता सिगमंड फ्रायड (Sigmund Freud) द्वारा प्रतिपादित मनोवैज्ञानिक अवधारणाहरू जस्तै: इड (Id), इगो (Ego), सुपरइगो (Superego) तथा विविध रक्षात्मक संयन्त्रहरू (Defense Mechanisms) ले व्यावसायिक तथा कार्यालयीन जीवनका जटिल यथार्थहरूलाई वैज्ञानिक एवं
तार्किक ढङ्गले व्याख्या गर्न एक सबल आधार तयार गरेका छन् ।
कुनै एक संस्थाको सर्वोच्च कार्यकारी पदमा आसीन हाकिम, उहाँको
वरिपरि सदैव चाकडी र प्रदक्षिणामा तल्लीन रहने चाप्लुस कर्मचारीहरूको समूह र ती
तमाम कृत्रिमताका बीच आफ्नो कर्तव्यप्रति पूर्णतया निष्ठावान् एवं कर्मठ एक एक्लो
कर्मचारीबीचको अन्तर्संघर्षले मानव मनोविज्ञानका गम्भीर पाटालाई उदाङ्ग पार्छ । यी
पाटा हुन्- वस्तुगत सत्यलाई तिरस्कार गर्दै क्षणिक आत्मसन्तुष्टिलाई
प्रधानता दिने 'अहङ्कारको तुष्टि' (Ego
Gratification) तथा तितो सत्य र वस्तुगत यथार्थको सामना गर्नबाट
तर्केर जाने भ्रमको संसारमा बाँच्ने 'यथार्थको अस्वीकार'
(Denial of Reality) ।
जब संस्थागत संस्कृतिमा चापलूसीले योग्यतालाई विस्थापित गर्छ, तब
नेतृत्वले सत्य देख्न सक्ने क्षमता गुमाउँदै जान्छ । प्रस्तुत लेखमा यिनै
मनोवैज्ञानिक अन्तर्निहित कारणहरूलाई केन्द्रबिन्दुमा राख्दै, फ्रायडियन मनोविश्लेषणको कठोर कसीमा यस दूषित प्रवृत्तिमाथि बृहत् एवं
तार्किक चिरफार गरिएको छ ।
२.
सान्दर्भिक दृष्टान्त वा केस स्टडी (The Illustrative Scenario)
यस मनोवैज्ञानिक प्रवृत्तिको वास्तविक स्वरूपलाई बुझ्न एउटा
विशिष्ट संस्थागत दृष्टान्तलाई आधार बनाउन सकिन्छ । कुनै एक प्रतिष्ठित संस्थामा
एक कार्यकारी हाकिम कार्यरत हुनुहुन्छ, जसको प्रत्यक्ष मातहतमा थुप्रै
कर्मचारीहरू आबद्ध छन् । तीमध्ये अधिकांश कर्मचारीहरू आफ्नो पदीय दायित्व, व्यावसायिक निपुणता र कार्यसम्पादनमा ध्यान केन्द्रित गर्नुको सट्टा हाकिमको
पहिरन, केशविन्यास, टाई, जुत्ता तथा बोल्ने शैलीको निरन्तर र कृत्रिम तारिफ (Flattery) मार्फत आन्तरिक आत्मसन्तुष्टि प्राप्त गर्ने प्रवृत्तिमा अभ्यस्त छन् ।
यसको विपरीत, सोही संस्थामा एक निष्ठावान् तथा कर्मठ
कर्मचारी कार्यरत छन्, जो कुनै किसिमको चापलूसी वा प्रपञ्चमा
नल्झिई केवल आफ्नो कर्तव्य र कार्यसम्पादनमा मात्र पूर्ण रूपमा एकाग्र रहन्छन् ।
एक दिन, जब हाकिमले तिनै निष्ठावान् कर्मचारीलाई
शङ्काको दृष्टिले हेर्दै, "तपाईं आफ्नो काममा किन पूर्ण
ध्यान दिइरहनुभएको छैन?" भनी प्रश्न गर्नुहुन्छ,
तब ती कर्मठ कर्मचारीले नेतृत्वको आँखा खोल्नका लागि एक अनौठो तर
तार्किक मनोवैज्ञानिक परीक्षणको प्रस्ताव अगाडि सार्छन् । उनी हाकिमलाई आफ्नो
सामान्य पहिरन परिवर्तन गरी पुरानो, च्यातिएको लुगा लगाउन र
कपाल पूर्णतया भद्रगोल एवं कुरुप बनाउन अनुरोध गर्छन् । साथै, त्यही हुलियामा सबै कर्मचारीहरूलाई बैठक कक्षमा आमन्त्रित गरी उनीहरूको
प्रतिक्रिया अवलोकन गर्न सुझाव दिन्छन ।
पूर्वनिर्धारित योजनाअनुसार जब हाकिम अत्यन्त दयनीय, कुरुप
र भद्रगोल रूपमा बैठक कक्षमा उपस्थित हुन्छन, तब पनि ती
चाप्लुस कर्मचारीहरूले वास्तविकताको जरासम्म पुग्ने प्रयास नगरी वा थोरैमात्र पनि
शङ्का नगरिकन पुरानै अन्धताका साथ, "आज पनि तपाईंको
व्यक्तित्व र पहिरन अति उत्कृष्ट छ" भनी अन्धाधुन्ध प्रशंसाको वर्षा गर्छन् ।
यही एक कठोर यथार्थपरक घटनाले हाकिमको मस्तिष्क मा छाएको भ्रमको तुँवालो हटाउँछ र
उनी चाप्लुसहरूको कृत्रिमता तथा वास्तविक असलीयतको पर्दाफास गर्न पूर्ण रूपमा
सक्षम हुन्छन।
३.
फ्रायडियन मनोविश्लेषण र रक्षात्मक संयन्त्रहरूको चिरफार
क. इड
(Id) को प्रादुर्भाव र प्रशंसाको घातक कुलत (Dopamine & Reward-Seeking
Mechanics)
सिगमंड फ्रायडको शास्त्रीय मनोविश्लेषण सिद्धान्तअनुसार
मानवीय चेतनाको सबैभन्दा आदिम, पाशविक र पूर्णतया आवेगात्मक पाटो 'इड' (Id) हो, जसले बाह्य
वास्तविकता, नैतिकता वा तर्कको पर्वाह नगरिकन तात्कालिक सुख,
अदम्य सन्तुष्टि र अहङ्कारको अविरल पोषण मात्र खोज्छ । प्रस्तुत
संस्थागत दृष्टान्तमा, हाकिमको मस्तिष्क मा निरन्तर प्रवाहित
हुने झुटा, पाखण्डी र कृत्रिम तारिफहरूले स्नायु प्रणालीको 'रेवार्ड सिस्टम' (Reward System) लाई अत्यधिक र
अनियन्त्रित रूपमा सक्रिय पार्दछ । यस जैविक प्रतिक्रियाका फलस्वरूप मस्तिष्कमा
आनन्द, उल्लास र प्रफुल्लकता पैदा गर्ने न्यूरोट्रान्समिटर 'डोपामाइन' (Dopamine) को मात्रा असामान्य रूपमा
वृद्धि हुन पुग्छ ।
यो जैविक र मानसिक रासायनिक प्रक्रियाले हाकिमलाई बिस्तारै
प्रशंसाको एक प्रकारको गम्भीर र घातक 'कुलत' (Addiction) तर्फ
धकेल्छ । उनी मानसिक रूपमा यस्तो संवेदनशील र कमजोर स्थितिमा पतन हुन्छन,
जहाँ संस्थाको बृहत् हितका निम्ति उठाइएका तार्किक, वस्तुगत र टर्रो सत्यहरू सुन्न उनको 'इड' पूर्णतया विद्रोह गर्छ । उनी अब वस्तुगत यथार्थको सामना गर्न असक्षम भई
केवल आफ्नो अहङ्कारको कृत्रिम दुर्गलाई सुरक्षित राख्ने र आफूलाई सर्वशक्तिमान् ठान्ने
मीठा एवं भ्रामक झूटहरू मात्र सुन्न आतुर एवं लालायित बन्न पुग्छन् ।
ख.
यथार्थको अस्वीकार (Denial)
र संज्ञानात्मक पूर्वाग्रहको दलदल (Confirmation Bias)
संस्थाका चाप्लुस कर्मचारीहरूले पदीय मर्यादा र व्यावसायिक
आचरणविपरीत कार्य गर्दा,
संस्थागत नियमको खुलेआम खिल्ली उडाउँदा वा आफ्ना पदीय
उत्तरदायित्वहरूबाट पूर्णतया विमुख हुँदा पनि हाकिमले ती घामजस्तै छ्याङ्ग देखिएका
त्रुटिहरूलाई देख्न वा महसुस गर्न नसक्नु फ्रायडियन मनोविज्ञानमा 'डिनायल' (Denial अर्थात् अस्वीकार) नामक रक्षात्मक संयन्त्रको अत्यन्त ज्वलंत र शास्त्रीय उदाहरण हो । उनी
संस्थाको दिनानुदिन भइरहेको प्रशासनिक पतन, नैतिक स्खलन र
कर्मचारीहरूको कामचोर प्रवृत्तिको तितो यथार्थलाई स्वीकार गर्नै चाहँदैनन्,
किनकि यस्तो कठोर सत्यको स्वीकारोक्तिले उनको आत्मसन्तुष्टि र
अहङ्कारको बालुवाको महललाई एकैक्षणमा चकनाचुर पार्न सक्छ ।
यस्तो आत्मरतिपूर्ण र भ्रमित मनोदशामा उनी आफ्ना कैयौँ
गम्भीर त्रुटिहरूलाई ढाकछोप गर्ने र आफूले लिएका प्रत्येक निर्णयहरू सधैँ
सर्वोत्कृष्ट तथा निर्दोष छन् भन्ने भ्रमलाई मात्र अन्धो भएर पुष्टि गर्ने 'कन्फर्मेसन
बाइस' (Confirmation Bias) नामक संज्ञानात्मक पूर्वाग्रहबाट
गहिरो रूपमा ग्रसित बन्न पुग्छन् ।
ग.
प्रक्षेपण (Projection)
को मानसिकता र चाकडीवादको बौद्धिक औचित्यीकरण (Rationalization)
जब संस्थाभित्रको आन्तरिक विकृति, कुशासन
र कामचोरी छताछुल्ल भएर बाहिर आउँछ र त्यो यथार्थ लुकाउनै नसकिने अवस्थामा पुग्छ,
तब हाकिमले आफ्नो त्रुटि सहर्ष स्वीकार गर्नुको सट्टा उल्टै कुनै
पनि गल्ती नगरिकनै आफ्नो कर्तव्यमा अहोरात्र खटिएका निष्ठावान् तथा कर्मठ
कर्मचारीलाई आफ्नो कार्यकक्षमा बोलाई सीधै प्रश्न उठाउनुहुन्छ र अनावश्यक
स्पष्टीकरण माग्नुहुन्छ । यो मनोदशा फ्रायडियन मनोविज्ञानमा 'प्रक्षेपण' (Projection) को एकदमै सटीक अवस्था
हो, जहाँ नेतृत्वकर्ताले आफ्नो भित्रैदेखिको असफलता, कमजोरी वा प्रशासनिक अक्षमताको भारी बोधलाई बाहिर प्रकट हुन नदिन उल्टै ती
निष्ठावान् तथा इमानदार कर्मचारीमाथि नै निराधार लाञ्छना र दोष थुपार्ने दूषित
दुराशय राख्छन् ।
यता,
ती चाप्लुस कर्मचारीहरूले पनि आफ्नो स्पष्ट व्यावसायिक अक्षमता,
अल्छीपन र संस्थाप्रति घात गर्ने कामचोरी प्रवृत्तिको पर्दाफास
हुनबाट बचाउन, हाकिमको चाकडी गर्ने प्रवृत्तिलाई बौद्धिक,
व्यावहारिक तथा नैतिक जामा पहिराउँदै 'औचित्यीकरण' (Rationalization) को रक्षात्मक
संयन्त्र प्रयोग गरिरहेका हुन्छन् । उनीहरूको संकुचित मानसिकताका निम्ति अब
योग्यता र कर्मठता होइन, बल्कि अन्धो चाकडी नै आफ्नो
अस्तित्व बचाउने एकमात्र वैधानिक र सुरक्षित साधन बन्न पुग्छ ।
४.
सत्यको कठोर परीक्षा र समूहगत अन्धताको गहिरो मनोवैज्ञानिक चिरफार
घटनाको गहिरो मनोवैज्ञानिक परिप्रेक्ष्यमा सबैभन्दा निर्णायक, नाटकीय
र आँखै खुल्ने मोड तब उत्पन्न हुन्छ, जब हाकिम आफ्नो सामान्य
आकर्षक पहिरन त्याग गर्दै पूर्णतया पुरानो, च्यातिएको लुगा र
भद्रगोल कुरुप हुलियामा बैठक कक्षमा उपस्थित हुन्छन । सामान्यतया, बाह्य रूपमा यस्तो उपहासको पात्र बन्दा वा हास्यास्पद हुलियामा प्रस्तुत
हुँदा कुनै पनि सामान्य विवेकयुक्त व्यक्तिले तुरुन्तै प्रतिक्रियाको अपेक्षा गर्छ
। तर, यहाँ तिनै वरिपरिका चाप्लुस कर्मचारीहरूको मस्तिष्क मा
जरा गाडेको अन्धोपन र चाकडीको भूत थोरैमात्र पनि विचलित हुँदैन; उनीहरू वास्तविकताको कठोर धरातलमा उभिनुको सट्टा फेरि पनि अन्धाधुन्ध
रूपमा "आज पनि तपाईंको व्यक्तित्व र पहिरन अति उत्कृष्ट छ" भनी
प्रशंसाको खेती जारी राख्छन् ।
यो अस्वाभाविक दृश्यले मानव मनोविज्ञानका दुई अत्यन्त गम्भीर, जटिल र
विकृत पाटालाई चिरफार गर्ने सुनौलो अवसर प्रदान गर्छ:
क.
समूहगत अन्धता (Group
Conformity): विवेकशून्यता, सामूहिक पाखण्ड र अहङ्कारको
सहजीवी सम्बन्ध
यस गहिरो मनोवैज्ञानिक अवस्थामा, कर्मचारीहरूको
संपूर्ण समूहले आफ्नो मौलिक विवेक, आलोचनात्मक चेत, आत्मसम्मान र स्वाभिमानलाई पूर्ण रूपमा बन्धक बनाइसकेको वा सदाका लागि
समाप्त पारिसकेको हुन्छ । फ्रायडियन मनोविश्लेषण, कार्ल
जुङ्गको सामूहिक अचेतनता (Collective Unconscious) तथा
आधुनिक समाज-मनोवैज्ञानिक सिद्धान्तहरू (जस्तै: Solomon Asch को Conformity Experiments र Irving Janis को Groupthink Theory) को कसीमा हेर्दा, जब कुनै समूह लामो समयसम्म सत्ताको छत्रछायाँमा हुर्कन्छ र चाकडी नै आफ्नो
अस्तित्व बचाउने एकमात्र माध्यम बन्छ, तब उनीहरूको सामूहिक
चेतना डरलाग्दो मानसिक परनिर्भरताको पासोमा फस्छ ।
·
अवचेतनको रक्षा र सत्यप्रतिको वितृष्णा: उनीहरूको मस्तिष्क
मा सत्य बोल्ने साहस,
विवेक र नैतिकताको ज्योति कहिल्यै बल्ने गरी निभिसकेको हुन्छ ।
उनीहरूलाई आफ्नै आँखाले यो कुरा राम्ररी थाहा हुन्छ कि हाकिम कुरुप, भद्रगोल र पूर्णतया गलत हुनुहुन्छ, तर व्यक्तिगत
स्वार्थ, असुरक्षाको भय, जागिर गुमाउने
त्रास र पदलोलुपताका कारण उनीहरूको अवचेतन मनले सत्यको सामना गर्न सरासर इन्कार
गर्छ ।
·
पाखण्डको पराकाष्ठा: उनीहरू केवल हाकिमलाई
खुसी पार्ने र आफ्नो वैयक्तिक दुनो सोझ्याउने पाखण्डीपनमा यति धेरै अभ्यस्त र
लिप्त भइसकेका हुन्छन् कि,
उनीहरूका लागि 'सत्य' भनेको
वस्तुगत वास्तविकता होइन, बल्कि हाकिमले सुन्न चाहेको कुरा
मात्र बन्न पुग्छ । हाकिम जतिसुकै हास्यास्पद वा असत्य अवस्थामा किन नहोउन्,
उनीहरूको मस्तिष्क मा स्थापित मनोवैज्ञानिक सुरक्षा कवच (Psychological
Defense Armor) ले सत्यलाई स्वीकार गर्नै दिँदैन । यो सामूहिक
अन्धता भनेको केवल चाकडी मात्र होइन, यो त विवेकको सामूहिक
आत्मसमर्पण र बौद्धिक बन्झरोपनको पराकाष्ठा हो ।
ख.
इमानदार कर्मचारीको भूमिका र 'यथार्थको ऐना' (Reality Testing) को ऐतिहासिक क्षण
यस्तो सम्पूर्ण प्रणालीगत अन्धता, चाकडीवाद
र पाखण्डको अभेद्य चक्रब्यूलाई तोड्न ती निष्ठावान् तथा कर्मठ कर्मचारीले कुनै पनि
वादविवाद, तिक्ततापूर्ण प्रतिवाद वा आक्रोशको सहारा लिँदैनन्
। त्यसको सट्टा, उनी अत्यन्त संयमित, बौद्धिक
र वैज्ञानिक ढङ्गले 'यथार्थको ऐना ' (Reality
Testing) लाई सिधै नेतृत्वको अगाडि ल्याएर उभ्याइदिन्छन् ।
·
इगो (Ego) को रक्षात्मक
विच्छेदन र 'शक थेरापी': मनोविश्लेषणमा
'इगो' (Ego) भनेको त्यो परिपक्व मानसिक
संयन्त्र हो, जसले बाह्य वस्तुगत वास्तविकता र आन्तरिक
अहङ्कारिक चाहनाबीच सन्तुलन कायम राख्नुपर्छ । तर जब लामो समयसम्म प्रशंसाको अविरल
नशाले इगोलाई पूर्णतया भ्रमको गहिरो र अचेत निद्रामा सुताइदिन्छ, तब साधारण सम्झाइ-बुझाइ, तार्किक सल्लाह वा शाब्दिक
आलोचनाले कुनै काम गर्दैन । यस्तो गम्भीर अवस्थामा ती इमानदार कर्मचारीद्वारा
चालिएको यो कठोर मनोवैज्ञानिक परीक्षण एउटा असाधारण र उथलपुथलकारी 'शक थेरापी' (Shock Therapy) साबित हुन्छ ।
·
भ्रमको तुँवालो पग्लेको क्षण: यो परीक्षणले
भ्रमको सुनौलो संसारमा बाँचिरहेका हाकिमको सुप्त इगोलाई एकै झट्कामा झकझकाएर वा
भनौं कठोर धरातलमा बजारेर ब्युँताइदिन्छ । जब हाकिमले आफ्नै आँखैले आफ्नो बाह्य
कुरुप रूप र ती वरिपरिका चाप्लुसहरूको अन्धो जिब्रोको हास्यास्पद तादम्य प्रत्यक्ष
देख्नुहुन्छ,
तब उनको मस्तिष्क मा वर्षौंदेखि छाएको अज्ञानता, अहङ्कार र भ्रमको बाक्लो तुँवालो एकै क्षणमा सधैँका लागि पग्लेर जान्छ ।
·
मुखौटाको विसर्जन र नग्न वास्तविकताको
साक्षात्कार:
यो नै मानव जीवनको त्यो अत्यन्त ऐतिहासिक र कायापलट गर्ने क्षण हो, जहाँ
चाकडीको मीठो नशामा लठ्ठिएर भ्रमको पराडाइजमा बाँचिरहेका नेतृत्वकर्ताले आफ्ना
वरिपरिका स्वार्थी पात्रहरूको कृत्रिम मुखौटा सदाका लागि च्यातिदिन्छन् । उनीहरूले
पहिलो पटक ती चाप्लुसहरूको नग्न असलीयत, अवसरवादी चरित्र र
कुत्सित मानसिकतालाई प्रत्यक्ष साक्षात्कार गर्न सफल हुन्छन् । यो कठोर यथार्थको
साक्षात्कारले नै हाकिमको मस्तिष्क मा अहङ्कारको विसर्जन गराउँदै, नेतृत्वलाई आत्म-समीक्षा (Self-reflection) र सत्यको
मार्गमा फर्कनका लागि बाध्य पार्छ ।
५.
निष्कर्ष र सुधारात्मक मार्ग (Conclusion & Way Forward)
प्रस्तुत मनोवैज्ञानिक तथा संस्थागत विश्लेषणले एउटा अकाट्य
र कठोर यथार्थलाई उजागर गरेको छ: जब कुनै पनि संस्था वा सङ्गठनमा योग्यता, इमानदारी
र कार्यकुशलताभन्दा अन्धो चाकडी, चापलूसी र तोडमोड गरिएको
प्रशंसाले प्राथमिकता पाउँछ, तब त्यो संस्थाको पतन अनिवार्य
बन्छ । सिगमंड फ्रायडका मनोविश्लेषण सिद्धान्त र रक्षात्मक संयन्त्रहरू (जस्तै: इडको
तुष्टि, अस्वीकार र प्रक्षेपण) को कसीमा नियाल्दा, चापलूसीको यो दुष्चक्र केवल केही कर्मचारीहरूको अवसरवाद मात्र होइन,
बल्कि यो नेतृत्वको मस्तिष्क मा घर जमाएको 'अहङ्कारको
तुष्टि' र 'यथार्थदेखिको पलायन'
को गहिरो मनोवैज्ञानिक सङ्कट हो ।
जबसम्म कुनै पनि पदमा आसीन नेतृत्वकर्ताले मीठा झूट, पाखण्ड
र स्वार्थी मनसायका पछाडि लुकेका अदृश्य कुत्सित उद्देश्यहरूलाई समयमै चिन्न र
पर्दाफास गर्न सक्दैन, तबसम्म न त संस्थामा निष्ठावान्
जनशक्तिको उचित कदर र मूल्याङ्कन हुन सक्छ, न त संस्था नै
दिगो रूपमा प्रगति पथमा अग्रसर हुन सक्छ । चापलूसीले नेतृत्वलाई क्षणिक र
भ्रमपूर्ण आत्मसन्तुष्टि प्रदान गरे तापनि, अन्ततः वस्तुगत
सत्य र कठोर यथार्थको एक झट्काले त्यो कृत्रिम जालोलाई सधैँका लागि च्यातिदिन्छ ।
यस चिरफारका आधारमा संस्थागत सुशासन, नेतृत्व
विकास र कार्यसंस्कृतिमा सुधार ल्याउन निम्नानुसारका रचनात्मक तथा व्यावहारिक
सुधारात्मक मार्गहरू अवलम्बन गर्नु अपरिहार्य देखिन्छ:
क.
आत्म-जागरूकता र चिन्तनशील क्षमताको संवर्धन
नेतृत्वकर्ताले निरन्तर आफ्नो आचरण, निर्णय
प्रक्रिया र मनोविज्ञानको आत्म-समीक्षा गर्ने बानी बसाल्नुपर्छ । आफूलाई प्राप्त
हुने प्रशंसाहरू वास्तविक योग्यतामा आधारित छन् वा केवल स्वार्थप्रेरित चाकडी हुन्
भन्ने छुट्याउने बौद्धिक क्षमता विकास गर्नुपर्छ । जबसम्म नेतृत्वले आफ्ना आन्तरिक
पूर्वाग्रह र अहङ्कारलाई नियन्त्रणमा राख्दैन, तबसम्म
संस्थामा पारदर्शिता सम्भव छैन ।
ख.
रचनात्मक आलोचना र प्रतिक्रिया संयन्त्रको विकास
संस्थाभित्र हाकिमका गलत कुरामा पनि टाउको हल्लाउने
प्रवृत्तिको संस्कृतिलाई निरुत्साहित गर्दै, खुला र वस्तुगत आलोचनालाई
स्वागत गर्ने स्वस्थ कार्यसंस्कृति बसाल्नुपर्छ । संस्थामा एउटा स्वतन्त्र
प्रतिक्रिया संयन्त्र निर्माण गरिनुपर्छ, जहाँ कर्मचारीहरूले
डर वा त्रास बिना आफ्नो व्यावसायिक धारणा र सत्य कुरा निर्धक्क राख्न सकून् ।
ग.
चाकडीवादको अन्त्य र योग्यताको प्राथमिकता
संस्थागत नीतिहरूलाई पूर्ण रूपमा पारदर्शी, कार्यसम्पादन-केन्द्रित
र निष्पक्ष बनाउनुपर्छ । पदोन्नति, पुरस्कार र जिम्मेवारीहरू
चाकडी वा व्यक्तिगत सम्बन्धका आधारमा होइन, बल्कि शुद्ध
व्यावसायिक योग्यता, निष्ठा र परिणाममुखी कार्यकुशलताका
आधारमा मात्र वितरण गरिने परिपाटी बसाल्नुपर्छ । यसले चाप्लुसहरूको मनोबल घटाउँछ र
कर्मठ जनशक्तिको कदर गर्छ ।
घ.
निरन्तर यथार्थ परीक्षण र पारदर्शी नेतृत्व
नेतृत्वले भ्रमको सुनौलो महल वा प्रशंसकहरूको घेराबाट बाहिर
निस्केर धरातलीय यथार्थको सामना गर्नुपर्छ । संस्थाका वास्तविक समस्याहरू बुझ्नका
लागि बेलाबेलामा बाह्य वा निष्पक्ष मूल्याङ्कन गराउने तथा कर्मचारीहरूसँग
प्रत्यक्ष र निष्पक्ष संवाद गर्ने परिपाटी बसाल्नुपर्छ ।
अन्त्यमा, एक सुदृढ, गतिशील र सफल संस्थाको निर्माणका लागि चापलूसीको कृत्रिम र विषाक्त जाललाई
तोड्नैपर्छ । जब नेतृत्वले अहङ्कारको विसर्जन गर्दै सत्य, निष्ठा
र वस्तुगत यथार्थलाई आत्मसात् गर्छ, तब मात्र कुनै पनि
संस्थाले दीर्घकालीन सफलता, सुशासन र प्रगतिको शिखर चुम्न
सक्छ ।
Comments
Post a Comment